धान झुल्ने खेतमा बग्रेल्ती इँटा उद्योग

विनोद भण्डारी

(विराटनगर) — कटहरी–५ का यज्ञप्रसाद ढुंगेलको घरअगाडिको हजार बिघाभन्दा बढी जमिनमा धान नझुलेको डेढ दशक भयो । ८३ वर्षीय ढुंगेलले कुनै बेला त्यही खेतबाट सयौं मन धान र अन्य बाली उब्जाएर व्यापारीकामा पुर्‍याएका थिए ।

‘यो खेतमा पहिला हात्तीको सुँडजस्तै धानका बाला झुल्थे,’ उनले भने, ‘अहिले इँटा उत्पादन हुन्छ, धानका बाला झुल्ने खेतमा इँटाका टुक्रा झुल्न थाले ।’


पाँच बिघा ठेक्कामा लिएर खेती गर्दै आएका मिस्री मण्डल अहिले त्यहीको इँटा भट्टामा मजदुरी गर्छन् । ‘पाँच बिघा खेतमा मालिकलाई ठेक्का तिरेर पनि परिवारको गुजरा मिठोमसिनो खाएरै चलेको थियो,’ उनले भने, ‘साहुले खेत भट्टालाई बिक्री गरेपछि अहिले मजदुरी गरेर कमाएको पैसाले खाद्यान्न किनेर चलाउँदै आएको छु ।’ कटहरी–४ खयरवनाका प्रमानन्द कामतले पनि दशकअघि साहुको चार बिघा खेत ठेक्कामा लिएर प्रतिबिघा ७० मनसम्म धान उत्पादन गर्दै आएका थिए । उनले दुई हल गोरु पालेका थिए । बास्मती, रूपकला, कनकजिरा, मनसुलीलगायत जातका धान उत्पादन गर्दै आएका कामत अहिले सिटी रिक्सा चलाउँछन् ।


कारण– साहुले खेत इँटा भट्टालाई बिक्री गरिदिए । वडा नम्बर ४ र ५ को एउटै प्लटको करिब ५ सय बिघा जमिनमा डेढ दशकदेखि धानको बाला झुलेको कटहरी महराका मनोज पासवानले देखेका छैनन् । पहिला उनी महराको दुई बिघा खेतमा खेती गर्थे । अहिले त्यहीको इँटा भट्टामा मजदुरी गर्छन् ।


गाउँपालिकाका ती दुईवटा वडाको पाँच सय बिघाभन्दा बढी खेतीयोग्य जमिनमा अहिले एसीसी, आकाश, अंकित, हिमाल, अम्बे, विराट र अजन्तालगायत इँटा भट्टाका दर्जनभन्दा बढी चिम्नी छन् । स्थानीय देवकुमार राजवंशीले भने, ‘पहिला कुन्यु लगाएजस्तो धानका नल हुन्थे । अहिले चिम्नीको धुँवाले आकाश नै ढाक्छ । जमिन खनेर क्षतविक्षत पारिएको छ ।’


पहिले खेतमा काम गर्नेहरू अहिले इँटा भट्टाका मजदुर बनेको राजवंशीले बताए । कटहरी ४ र ५ का पाँच सयभन्दा बढीले भट्टामा मजदुरी पाएका छन् । कटहरी गाउँपालिका प्रमुख रामकुमार कामतका अनुसार इँटा भट्टाले सेवा शुल्क र सञ्चालन शल्कबापत प्रतिभट्टा ५ लाख रुपैयाँ राजस्व तिर्दै आएका छन् । मोरङकै रंगेली नगरपालिका २ र ३, धनपालथान गाउँपालिका ३ र ४ को हजारौं बिघामा लामो समयदेखि स्थानीयले धान झुलेको देख्न पाएका छैनन् ।


प्रकाशित : असार २०, २०७६ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?