कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दोस्रो चरणको मुआब्जा वितरण

रानी जमरा सिँचाइ आयोजना
गणेश चौधरी

टीकापुर — रानी, जमरा कुलरिया सिँचाइ आयोजनाको दोस्रो चरणअन्तर्गत लम्किचुहा नगरपालिकामा नहर विस्तारको काम सुरु भएको छ । अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण गरी नहर विस्तारको काम सुरु भएको हो । ५ करोड ३७ लाख रुपैयाँ मुआब्जा वितरण गरिएको छ । थप केही जग्गाको मुआब्जा दिन बाँकी छ । 

दोस्रो चरणको मुआब्जा वितरण

दोस्रो चरणअन्तर्गतको ३० बिघा नम्बरी र ३० बिघा ऐलानी जग्गाको मुआब्जा दिनुपर्ने आयोजना कार्यालयले जनाएको छ । आयोजना प्रमुख मधुकर रानाले दोस्रो चरणको नहर निर्माणका लागि आवश्यक पर्ने थप जग्गाको मुआब्जा दिने प्रक्रिया पनि अघि बढाइएको जानकारी दिए । ‘नापी र मालपोतले सिँचाइका नाममा जग्गा दिन केही ढिलाइ गरेपछि मुआब्जा वितरणमा पनि केही ढिला भयो,’ आयोजना प्रमुख रानाले भने ।


नहरमा परेका घर र रूख–बिरुवाको छुट्टाछुट्टै र जग्गाको बेग्लै मुआब्जा दिने र त्यसका लागि एक अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको आयोजना कार्यालयले जनाएको छ । दोस्रो चरणको नहर निर्माणका लागि ऐलानीबाहेक २ सय ४ जनाको जग्गा अधिग्रहणमा परेको छ । निकास नभएको, घर घडेरी र बाटोसित जोडिएको आधारमा जग्गाको मूल्यांकन गरिएको छ ।


दोस्रो चरणमा ६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने आयोजनाले जनाएको छ । ‘६ किलोमिटर जंगल क्षेत्र र साढे ८ किलोमिटर आवादी क्षेत्रमा मुख्य नहुर बन्नेछ,’ आयोजना प्रमुख रानाले भने, ‘मुख्य नहरबाट ५ वटा शाखा नहर बन्नेछन् ।’ रानी जमरा कुलरिया सिँचाइ आयोजनाले दोस्रो चरणमा पथरैया खोलासम्म र तेस्रो चरणमा कैलालीको कन्द्रा नदीसम्म सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ काम अघि बढाएको छ ।


कर्णाली चिसापानीबाट आएको पानीलाई बलचौरबाट रानी जमरा कुलरिया तथा लम्की क्षेत्रका लागि बाँडिनेछ । आयोजना प्रमुख रानाका अनुसार यसका लागि विस्तृत अध्ययनको काम भइरहेको छ । यहाँ तेस्रो चरणमा काम हुनेछ । आयोजनामार्फत १८ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ ।


सिँचाइ आयोजनामै कार्यरत इन्जिनियर कृष्णबहादुर विष्टले भने, ‘कतिपय जग्गाको चलनचल्तीको ग्राभेल बाटो भए पनि नक्सामा बाटो छैन । कतिपयले असहमति जनाउँदै कार्यालयमा निवेदन पनि दिएका छन् । दिइएका निवेदनको छानबिन गरी प्रक्रिया अघि बढाउँदै छौं ।’


आयोजना कार्यालयले अधिग्रहणमा परेका जग्गाको प्रतिकट्ठा ४ देखि १० लाख रुपैयाँ मूल्य निर्धारण गरी मुआब्जा दिइरहेको छ । रानी जमरा कुलरिया सिँचाइ आयोजनाको दोस्रो चरणको नहर निर्माणका क्रममा लम्किचुहा नगरपालिकाको वडा नम्बर ४, ६ र ८ का जग्गाधनीको जग्गा अधिग्रहणमा परेको हो ।


वर्षाको भरमा खेती गर्दै आएका यहाँका किसान रानी जमरा कुलरिया सिंँचाइको नहर प्रणाली विस्तारले खुसी छन् । लम्कीचुहाको मलभंगाका रोइना डगौराले भने, ‘नहर बनेपछि पानीको समस्या हट्ला भन्ने आशा छ । आजभोलिको जस्तो बोरिङको पानीले धान खेती गर्नुपर्ने बाध्यता नहोला ।’


सिँचाइको व्यवस्था भएपछि उत्पादन पनि बढाउन सकिने रोइनाले बताए । उनले भने, ‘सिंँचाइ अभावमा मुस्किलले वर्षमा २ बाली लाउन सकिन्छ । पानीको व्यवस्था भए ३ बाली खेती गर्न सकिन्छ ।’ रानी, जमरा र कुलरिया कुलो सिँचाइ आयोजना सुरु हुँदा कर्णाली चिसापानीमा मुआब्जा विवाद भएको थियो । विवादका कारण आयोजनाको काम करिब ७ महिनासम्म सुरु हुन सकेको थिएन ।

प्रकाशित : असार २४, २०७६ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?