नेपाल भ्रमण वर्ष: प्रदेश १ मा न प्रचार, न पूर्वाधार

विनु तिम्सिना

विराटनगर — नेपाल भ्रमण वर्ष सुरु हुन ५ महिनामात्रै बाँकी छ । प्रदेशस्तरमा भने त्यसको कुनै तयारी छैन । भ्रमण वर्षमा ५ लाख पर्यटक भित्र्याउने योजना भए पनि प्रदेश सरकारसँग समन्वय नहुँदा तयारी अघि बढ्न नसकेको हो । संघीय सरकारले पर्यटन वर्षलाई प्रभावकारी बनाउन सातै प्रदेशमा प्रादेशिक समन्वय समिति गठन गरेको छ ।

प्रदेशका मुख्यमन्त्री संरक्षक, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अध्यक्ष र पर्यटन व्यवसायी कार्यक्रम संयोजक रहने गरी समिति बनाइएको छ । संघले नै प्रदेशस्तरीय समिति गठन गरिदिए पनि त्यस विषयमा प्रदेश सरकारसँग कुनै समन्वय गरिएको छैन । प्रदेश सरकार पनि पर्यटन वर्षलाई लक्षित गरी कस्ता कार्यक्रम तय गर्ने भन्ने अन्योलमा रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव बद्रीराज ढुंगानाले बताए ।

‘एकलौटी हिसाबले समिति पनि उतैबाट बन्छ, बजेट कार्यक्रम पनि केही राखिँदैन,’ ढुंगानाले भने, ‘केन्द्र सरकारले प्रदेशलाई नेपाल भ्रमण वर्षमा कत्तिको हातेमालो गरेर अगाडि बढाउन खाजेको छ, यसैबाट प्रस्ट हुन्छ ।’ संघीय सरकारले भ्रमण वर्ष सफल बनाउन प्रदेशमा समन्वय समिति बनाइदिएको भए पनि समिति गठन गर्दा प्रदेशसँग कुनै सल्लाह नभएको उनले बताए । ‘समिति पनि बाध्यात्मक हिसाबले बनाइएको जस्तो देखिन्छ,’ ढुंगानाले भने, ‘त्यो पनि समानुपातिक हिसाबले बनेको छैन, एकै जिल्लामा धेरैजना राखिएको छ भने पर्यटनका हिसाबले मुख्य मानिएका जिल्लाका पर्यटन व्यवसायी समेटिएका छैनन् ।’

पर्यटन व्यवसायी तथा नेपाल भ्रमण वर्ष २०२० प्रादेशिक समन्वय समितिका सदस्य भविषकुमार श्रेष्ठले समिति बनेको एक महिना बितिसक्दा पनि पहिलो बैठकसमेत बस्न नसकेको बताए । ‘भ्रमण वर्ष २०२० सुरु हुन अब केही महिना मात्रै बाँकी छ, गत जेठमै बनेको समितिको पहिलो बैठक पनि बस्न सकेको छैन,’ श्रेष्ठले भने, ‘भ्रमण वर्ष सुरु हुनपूर्व नै आवश्यक तयारी भइसक्नुपर्ने हो, न त प्रचारप्रसार नै सुरु भएको छ, न पूर्वाधारकै विकास गरिएको छ ।’

भ्रमण वर्षका लागि प्रदेश एकमा निजी क्षेत्रबाट प्रचारप्रसारका केही कामहरू भइरहे पनि सरकारीस्तरबाट कुनै काम हुन नसकेको श्रेष्ठको भनाइ छ । प्रदेश ३ र गण्डकी प्रदेशपछि पर्यटनमा प्रदेश १ नै अगाडि छ । प्रदेश १ मा सम्भावना धेरै भए पनि पूर्वाधार विकास हुन नसक्दा तेस्रो मुलुकका पर्यटक पर्याप्त भित्र्याउन नसकेको श्रेष्ठले बताए ।
‘प्रदेश १ मा धेरै सम्भावना छ तर यातायातको राम्रो सुविधा नहुँदा पर्यटकलाई आकर्षण गर्न सकिएको छैन,’ श्रेष्ठले भने, ‘१४ वटा विमानस्थल छन् । तुम्लिङटारबाहेक अन्य कतै पनि विराटनगरबाट उडान हुँदैन ।’ पर्यटकलाई आकर्षण गर्न प्रदेश १ मा हवाई सेवा विस्तार गर्नुपर्ने श्रेष्ठले बताए । विमानस्थल भए पनि काठमाडौंका पर्यटन व्यवसायी र हवाई कम्पनीहरूको सिन्डिकेटका कारण प्रदेशका विभिन्न जिल्लामा हवाई उडान हुन नसकेको उनको भनाइ छ ।

‘काठमाडौंबाट लुक्ला दिनमा ५० वटा फ्लाइट राखिन्छ । एयर ट्राफिक जामका कारण मुस्किलले २० वटा उडान हुन्छन्, यदि केही उडान विराटनगर र भद्रपुरबाट पनि हुने हो भने पर्यटकलाइ धेरै राहत मिल्छ,’ उनले भने, ‘त्यत्रो उडान काठमाडौंबाट गर्न सक्नेले किन केही उडान विराटनगर र भद्रपुरबाट गर्न सक्दैनन्, सरकारले त्यो सिन्डिकेट तोड्न सक्नुपर्छ ।’

प्रदेश १ मा पशुपतिनगर, काँकडभिट्टा, कोसी ब्यारेज र जोगबनीबाट भारतीय पर्यटक आउने गरेका छन् । त्यसमा पनि काँकडभिट्टा नाकाबाट तेस्रो मुलुक बंगलादेश र भुटानबाट पनि पर्यटक नेपाल भित्रिन्छन् । यी नाकाहरूमा इन्ट्री गर्ने काम प्रभावकारी हुन नसक्दा कति पर्यटक भित्रिए भन्ने प्रस्ट तथ्यांक संकलन हुन नसकेको श्रेष्ठले जानकारी दिए ।
‘प्रदेश सरकारले ५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ, ५ लाख ठूलो संख्या हैन,’ उनले भने, ‘३ लाख भारतीय पर्यटक त वराह क्षेत्रको एउटा मेलामा नै आउँछन्, संख्याभन्दा पनि खर्च गर्ने क्वालिटीका पर्यटकलाई भित्र्याउन सक्नुपर्छ ।’ प्रदेश सरकारले भ्रमण वर्षलाई लक्षित गरेर आगामी आर्थिक वर्षमा प्रदेशमा समायोजन भएका कर्मचारीलाई वर्षमा ६ दिन बिदा र २५ हजार रुपैयाँ दिने घोषणा गरेको छ । नेपाल भ्रमण वर्ष २०२० को तयारी लागि प्रदेश सरकारले ७० लाख रुपैयाँ छुट्याएको छ ।

प्रकाशित : असार २५, २०७६ ०९:४९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मृत्यु संस्कार छोट्याउन पहल

बुवाको मृत्युपछि भोज नखुवाउँदा समाजले गरेको जरिवानासहित २ लाख ५० हजारको अक्षयकोष स्थापना गरी छात्रवृत्ति
विनु तिम्सिना

(विराटनगर) — राजनीतिज्ञ रामरिजन यादवले आफ्नी आमाको किरिया चार दिनमै सकेर मृत्यु संस्कारबारे बहस चलाएका छन् । हिन्दु परम्परा अनुसार मृत्युपछि १३ दिनसम्म किरिया बसिन्छ ।

केही अग्रजहरूले मृत्यु संस्कारलाई पाँच वा सात दिनमा छोट्याउन उपयुक्त हुने आवाज उठाइरहँदा यादवले भने आफ्नी आमाको किरिया ४ दिनमै सम्पन्न गरेका हुन् । उनकी आमा जगियादेवी यादवको पाठेघरका क्यान्सरका कारण गत असार ९ गते मृत्यु भएको थियो । शनिबार विराटनगरमा यादवले आमाको शोकसभाको आयोजना गर्दै मृत्यु संस्कारलाई परिमार्जन गरिनुपर्ने बहस चलाए ।

बहसमा बोल्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सबै धर्मका आधारमा विभिन्न संस्कार बनाइएको बताउँदै कतिपय संस्कार परिकल्पनामा आधारित मात्रै भएकाले त्यसलाई समय अनुकुल परिमार्जन गर्दै लैजानुपर्ने बताए । कतिपय प्रथा र परम्परा अन्धविश्वास र कुसंस्कारले जकडिएका पनि हुनसक्ने भन्दै उनले यसलाई समाजका अगुवाले नै परिमार्जन गर्न जरुरी रहेको बताए ।

‘हामीले मान्दै आएका कतिपय प्रथा र परम्परा अन्धविश्वास र कुसंस्कारले जकडिएका पनि हुनसक्छन्,’ उनले भने, ‘समाजले अगुवाबाटै सिक्ने र अनुसरण गर्ने भएकाले त्यसको सुरुवात अगुवा र विद्वत् वर्गले नै गर्नुपर्छ ।’ राजनीतिक विषयमा बल प्रयोग गरेजस्तो संस्कार परिवर्तनमा बल प्रयोग भने गर्न नमिल्ने भट्टराईको तर्क छ । ‘राजनीतिक विषयमा हामीले बल प्रयोग गर्नसक्छौं तर संस्कार परिवर्तनमा बल प्रयोग या जबरजस्ती गर्दा भने त्यसले अर्को दुर्घटना निम्त्याउन सक्छ,’ उनले भने, ‘त्यसैले समाजका अगुवाले आफूमा लागु गर्दै सामाजिक र सांस्कृतिक जागरण ल्याएर फेर्दै जानुपर्छ ।’

चिन्तक तथा राजनीतिकर्मी प्रदीप गिरि र दर्शनशास्त्री महादेव शाहले ठूलो राजनीतिक परिवर्तन भए पनि सामाजिक र सांस्कृतिक परिवर्तन हुन नसकेको धारणा व्यक्त गरे । गिरिले राजनीतिक क्रान्तिका माध्यमबाट बोझ बन्दै गएका यस्ता संस्कारलाई परिमार्जन गर्दै लानुपर्ने बताए ।

रामरिजन यादवका अनुसार मधेसी समुदाय त्यसमा पनि यादव जातिभित्र मृत्युपछि ठूलो भोजको आयोजना गर्नु अनिवार्य मानिन्छ । तर, यादवले आफ्ना पिताको मृत्युपछि पनि कुनै भोजको आयोजना गरेका थिएनन् । ‘२०६९ सालमा मेरो बुबा बित्नुभयो, बुबाको जीवन रहुन्जेल आफ्नो कर्तव्य सबै पूरा गरेको थिएँ, त्यसैले मृत्युपछि ठूलो भोजको आयोजन गर्न उपयुक्त ठानिन,’ उनले भने, ‘तर समाजले मलाई बहिष्कार गर्‍यो, भोज आयोजना नगरेकोमा दण्डित समेत गर्‍यो ।’

यादवले आफ्ना बुबाको भोज गर्नुको साटो २ लाख रुपैयाँको अक्षय कोष खडा गरेर विपन्न विद्यार्थीलाई छात्रवृति दिने घोषणा गरेका थिए । लगत्तै सिरहाको यादव समाजले उनलाई ५० हजार जरिवाना सहित दण्डित गरेको थियो । उनले ५० हजार जरिवानाको रकम समेत पुन: अक्षय कोषमा जम्मा गरेर आफूले विपन्न बालिकालाई छात्रवृति दिइरहेको उनले बताए ।

समाजले यादवको परिवारलाई सामाजिक बहिस्कार गरेको उनकी आमा जगियादेवीलाई मन परेन । पाठेघरको क्यान्सरले थलिएकी उनले छोरालाई ६ महिनाअघि आफ्नो मृत्युको भोज खुवाउन कसम ख्वाईन् । ‘आमाको कुरा नकार्न त सक्दिन तर मैले महिला भोजको आयोजना गर्ने प्रण गरेको छु,’ उनले भने, ‘बुबाको तिथि पारेर कात्तिक ११ गते महिला भोजको आयोजना गर्छु ।’

यादव समुदायमा मृत्यु संस्कारको भोजमा महिलाको उपस्थिति बर्जित छ । ‘हाम्रो समुदायमा १० वर्ष मुनिका बालिकालाई मात्रै उक्त भोजमा सरिक हुने अनुमति हुन्छ,’ उनले भने, ‘गाउँभरिका पुरुषलाई बोलाएर भोज ख्वाइन्छ तर महिलाहरू भने जान पाउँदैनन् ।’

प्रकाशित : असार २२, २०७६ ११:५३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT