बूढीगंगाको डीपीआर बनेन

मेनुका ढुंगाना

(अछाम) — अछाममा निर्माण हुन थालेको बूढीगंगा जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन डीपीआर तथा वातावरणीय प्रभाव मूल्यांकन समेत तयार हुन सकेको छैन । गत माघमा जिल्लाका सरोकारवालासहितको बैठकमा २ महिनाभित्रै डीपीआर निर्माण भइसक्ने आयोजनाले बताएको थियो ।

आयोजना कार्यालयले बारम्बार डीपीआर निर्माणबारे गलत जानकारी दिने गरेको सरोकारवालाहरू बताउँछन् ।

डीपीआर तयार पार्ने जिम्मेवारी ०७२ असारमा अस्ट्रेलियन कम्पनी स्मेक इन्टरनेसनल प्राइभेट लिमिटेड र नेपालको उदय कन्सल्टेन्सीलाई दिइएको थियो । ती कम्पनीहरूले ०७३ पुसभित्र काम पूरा गर्ने गरी १९ करोड ९१ लाख ३३ हजारमा सम्झौता गरिएको थियो । म्याद सकिएको अढाइ वर्ष भइसक्दा पनि उनीहरूले डीपीआर तयार गरेका छैनन् ।

आयोजना प्रमुख सूर्यकुमार रिजालका अनुसार डीपीआर तयार गर्न अझै ६ महिना समय लाग्नेछ । ‘काम लगभग अन्तिम चरणमा छ । वन तथा वातावरण मन्त्रालयबाट डीपीआर स्वीकृत हुनुपर्ने प्रावधान रहेकाले फाइल विभागमै छ ।’ सबस्टेसन राख्ने ठाउँमा जग्गा अधिग्रहण गर्न बाँकी रहेको उनले बताए ।

सरकार आफैंले निर्माण गर्ने २० मेगावाट क्षमताको बूढीगंगा जलविद्युत् आयोजनाको निर्माणका लागि २०५२ सालदेखि नै अध्ययन सुरु भएको थियो । सन् १९९७ मा सम्पन्न सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनअनुसार ६ अर्ब अर्थात् ६० मिलियन अमेरिकी डलर लाग्ने अनुमान गरिएको थियो ।

आयोजना कार्यालयका अनुसार इन्जिनियरिङ डिजाइन र वातावरणीय प्रभाव मूल्यांकन अध्ययन गरी आयोजनाको निर्माण विकासका लागि २०१४ जुनमा साउदी फन्ड फर अरब डेभलपमेन्टसँग ६ अर्ब नेपाली रुपैयाँको ऋण सम्झौता भइसकेको छ । त्यसैगरी २०१२ जुलाईमा कुवेत फबड फर अरब इकोनोमिक डेभलपमेन्टसँग ५ मिलियन कुवेती दिनार (१ अर्ब ८ करोड) ऋण सम्झौता भइसकेको छ । बाँकी रकम नेपाल सरकारले बेहोर्ने उक्त ऋण सम्झौतामा उल्लेख छ ।

यस जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा खपत हुने र बाँकी विद्युत् कैलालीको पहलमानपुरसम्म पुर्‍याएर केन्द्रीय प्रसारण लाइनमा जोड्ने लक्ष्य छ । ८ दशमलव ६४ हेक्टर क्षेत्रफल रहेको आयोजनाको मुख्य संरचनामा बाँध, इन्टेक, सेटलिङ, बेसिन, सुरुङ, सर्जट्यांक, विद्युत्गृह, टेलरेस, सबस्टेसन, प्रसारण लाइन आदि रहनेछन् ।

भौतिक विकास हुँदै
आयोजनाको कार्यालय आफ्नै भवनमा सारेपछि आयोजनाले अन्तरिक काम भने अघि बढाएको छ । भवन निर्माणको जिम्मा पाएको बीके ओल बिल्डर्स काठमाडौंलाई पटकपटक ताकेता गरेपछि सम्झौता भएको ३ वर्षमा ८ करोड ६८ लाखको लागतमा आयोजनाको कार्यालय र आवास भवन निर्माण भएको हो । आयोजनालाई आवश्यक पर्ने २९९ रोपनी जग्गासमेत अधिग्रहण गरेको साइट इन्चार्ज वीरबहादुर बोहोराले बताए ।

बोहोराका अनुसार बाँध क्षेत्रका लागि मेल्लेख गाउँपालिका ४ कुस्कोटमा करिब ३८ रोपनी र साँफेबगर नगरपालिका १३ बाब्लामा ३२ रोपनी जग्गा आयोजनाको नाममा सारिएको छ ।

प्रकाशित : असार २६, २०७६ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्

विद्युत् अभावमा गौतम बुद्ध विमानस्थलको निर्माण कार्य प्रभावित

माधव ढुंगाना

(भैरहवा) — चौबीसै घन्टा विद्युत् उपलब्ध नहुँदा आगामी डिसेम्बरसम्म सञ्चालनको तयारी भइरहेको यहाँस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना समस्यामा पर्न थालेको छ । डेडिकेटेड विद्युत् लाइन अभावमा आयोजनाको निर्माण कार्य प्रभावित हुन थालेको हो ।

आयोजनास्थलमा त्यस्तो विद्युत् कहिलेसम्म उपलब्ध हुने भन्ने यकिन छैन ।

आयोजनास्थलमा डेडिकेटेड विद्युत् लाइन पुर्‍याउन आवश्यक पोललगायतका संरचना निर्माण गरिएको छैन । विद्युत् प्राधिकरण र भैरहवा–लुम्बिनी–तौलिहवा सडक आयोजनाले यसबारे चासो देखाएका छैनन् ।

‘आयोजनास्थलमा डेडिकेटेड विद्युत् लाइन समयमा उपलब्ध गराइदिन बारम्बार अनुरोध गर्दासमेत कार्यान्वयनका लागि ध्यान पुग्न सकेको छैन,’ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले भने, ‘लाइन अभावले आयोजनाको काम प्रभावित हुन थालेको छ । समस्या आउन थालेको छ ।’ आयोजनाका बाँकी काम उपकरण जडानसँग सम्बन्धित रहेकाले विद्युत् अपरिहार्य भएको उनले बताए ।

डेडिकेटेड विद्युत् लाइन जडानका लागि विमानस्थल आयोजनाले ०७३ पुस २५ गते विद्युत् प्राधिकरणको बैंक खातामा ४ करोड १४ लाख २१ हजार रुपैयाँ जम्मा गरिसकेको छ । रकम जम्मा गरेको यतिका समय बित्दा पनि लाइन जडानका लागि चासो नदेखाएको उनले बताए ।

त्यसपछि पटक–पटक पत्राचार र टेलिफोन सम्पर्क गरेर जडानका लागि अनुरोध गर्दै आएको अधिकारीले जनाए । प्राधिकरणले सडक किनारामा पोल गाड्ने जिम्मा भैरहवा–लुम्बिनी–तौलिहवा सडक योजनाको भएको दाबी गर्दै आएको छ । पोल गाडेपछि मात्र विद्युत् जडान गरिदिने जवाफ दिँदै आएको छ । सडक विस्तारका क्रममा पोल हटाइएको थियो । पोल गाड्ने जिम्मेवारी सडक योजनाको हो ।

विद्युत् प्राधिकरण भैरहवा वितरण शाखाका प्रमुख उमेश झाले आयोजनास्थलसम्म पोल गाड्ने र पोलभन्दा माथिको हाइटेन्सन लाइन तान्ने काम सडक योजनाको भएको बताए । त्यो काम पूरा हुनासाथ डेडिकेटेड फिडर तानिने उनले बताए । ‘पटक–पटक सडक योजनालाई ताकेता गर्दा पनि पोल गाड्ने र तार तान्ने काम भएको छैन,’ प्रमुख झाले भने, ‘ताकेता गरेपछि साता–१५ दिनमा गर्ने भन्छन् । महिनौं बित्दा पनि प्रगति हुन सकेको छैन ।’ सडक योजनाले आफ्नो जिम्मेवारीको काम पूरा गरेको तीन साताभित्र डेडिकेटेड लाइन जडानको काम सकिने उनले बताए ।

प्राधिकरणको खातामा रकम जम्मा गरेपछि पनि काम अगाडि नबढेपछि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सरोकारवाला निकायको बैठक बसेर काम छिटो गर्ने सहमति भएको थियो । ११ केभी क्षमताको डेडिकेटेड लाइन जडानका लागि विमानस्थलमा ट्रान्सफर्मर आइसकेको छ । विद्युत् जडान नहुँदा विगतमा विमानस्थल आयोजनाका ठेकेदारले २० लाख रुपैयाँको डिजेल खरिद गरी निर्माण कार्य गर्नुपरेको थियो ।

आयोजना प्रमुख अधिकारीले डेडिकेटेड लाइन अभावले विमानस्थल परिसरभित्र दोस्रो ठेक्काअन्तर्गत पावर सप्लाईको काम र कनेक्सन गर्न नसकिएको बताए । जसका कारण उपकरण जडान गर्न समस्या भइरहेको छ । पावर स्टेसनको निर्माण, वायरिङ, परीक्षणका काम रोकिएका छन् । दोस्रो ठेक्का विभिन्न मेसिनरी उपकरण जडानसँग सम्बन्धित छ ।

जसले भीओआर/डीएमई उपकरण, कन्ट्रोल टावरमाथि राख्ने उपकरण, मौसम पूर्वानुमान उपकरण, वारुणयन्त्रमा आवश्यक पर्ने लगायतका उपकरण जडान गर्नुपर्ने हुन्छ । सडक योजनाका प्रमुख प्रदीपराज शाक्यले भैरहवास्थित लुम्बिनी गेट आसपास केही स्थानीयले घरअगाडि पर्ने भन्दै पोल गाडन नदिएकाले कामलाई निरन्तरता दिन नसकिएको बताए ।


प्रकाशित : असार २६, २०७६ ०९:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्