हिमालय एयरलाइन्स ढाका उड्दै

कान्तिपुर संवाददाता

काठमाडौँ — तीन वर्षअघि संयुक्त लगानीमा स्थापना भएको हिमालय एयरलाइन्सले साउन ६ देखि काठमाडौं–ढाका–काठमाडौं सिधा उडान गर्ने भएको छ । 

यसले एयरबस ३२०–२०० बाट यो रुटमा उडान गर्दै छ । प्रशासनतर्फका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार हिमालयको यो चौथो गन्तव्य हुनेछ । हाल यस्ले आफ्ना तीनवटा एयरबस ३२०–२०० बाट मध्यपूर्वीएसियाका दोहा, दुबई र दमाममा नियमित उडान गर्दै छ । यो संस्करणको जहाजमा १५० इकोनोमी श्रेणी र आठवटा प्रिमियम इकनोमी श्रेणीकासहित १ सय ५८ सिट छन् ।

‘ढाकामा हुने उडानले बांगलादेशीसहित मध्यपूर्वी एसियाका यात्रुका लागि काठमाडौं ट्रान्जिट हबको विकल्प बन्नेछ,’ श्रेष्ठले भने । यसले सातामा तीन दिन ढाका उडान भर्नेछ । काठमाडौंबाट ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलसम्मको उडान समय डेढ घण्टाको हो । हाल यस रुटमा बंगलादेशको ध्वजावाहक विमान बंगालले गर्दै आएको छ ।

हिमालयले यसअघि काठमाडौंबाट म्यानमारको बर्मा र श्रीलंकामा पनि उडान गरेको थियो । यात्रु अभावलगायतका कारण यी रुटमा छ महिनाभन्दा बढी उडान भएन । त्यसैगरी चीनको उत्तरपूर्वी सहर छाङछुङमा चार्टर उडान थालेको थियो । उक्त रुटमा पनि हिमालय सफल हुन सकेन ।

०७३ जेठमा काठमाडौंबाट अन्तर्राष्ट्रिय उडान थालेको हिमालय एयरलाइन्सले घोषणा गरेअनुसारको व्यापार गर्न नसकेपछि आफ्नो एउटाजहाज भियतनामको ब्याम्बो एयरलाई एक वर्षका लागि भाडामा दिएको छ ।
०७१ मा काठमाडौंमा दर्ता भएको हिमालय नेपाली र चिनियाँको संयुक्त लगानीमा स्थापना भएको निजी कम्पनी हो । यसमा ५१ प्रतिशत लगानी यती एयरलाइन्सका सञ्चालकको कम्पनी यती वर्ल्ड इन्भेस्टमेन्ट र ४९ प्रतिशत लगानी तिब्बत एयरलाइन्सको रहेको छ ।

यो कम्पनीसँग भएका तीनवटा विमान चाइना डेभलप्मेन्ट बैंकबाट १२ वर्षका लागि ड्राई लिजमा ल्याइएका हुन् । सुरुमा काठमाडौंबाट दिल्ली उडानघोषणा गरेको कम्पनीलाईभारतले लगानीको स्रोतमा शंका गर्दै हालसम्म उडान अनुमति दिएको छैन ।

प्रकाशित : असार २७, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्

उद्योग नवीकरण गर्न समय थप

कान्तिपुर संवाददाता

मकवानपुर — प्रदेश ३ सरकारले निजी उद्योग तथा फर्महरूको नवीकरणको समयसीमा थपेको छ । संघीय सरकार मातहतबाट प्रदेश सरकारअन्तर्गत आएका विभिन्न उद्योग, व्यवसाय तथा व्यापारिक फार्महरूको नवीकरण गर्ने समयसीमा बढाइएको हो ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बिहीबार बसेको बैठकले असार मसान्तभित्र उद्योग तथा निजी फार्महरू नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था रहे पनि असोज मसान्तसम्म समय थप गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले प्रदेशसभामा प्रदेश उद्योग व्यवसाय सञ्चालनसम्बन्धी विधेयक दफाबार छलफलको अवस्थामा रहेकाले अन्तरिम निर्णय गर्दै असोजसम्मका लागि उद्योग दर्ता गर्ने समय तोकिदिएको जनाएको छ ।

प्रकाशित : असार २७, २०७६ ०९:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्