कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अन्तरदेशीय प्रसारण लाइनको पूर्वसम्भाव्यता अध्ययन

बलराम घिमिरे

रसुवा — रातमाटे–रसुवागढी–केरुङ ४ सय केभी प्रसारण लाइन आयोजनाको पूर्वसम्भाव्यता अध्ययनको काम सकिएको छ । नेपाल विद्युत् प्रधिकरणअन्तर्गतको आयोजना विकास विभागले अध्ययन सकेको हो ।

अन्तरदेशीय प्रसारण लाइनको पूर्वसम्भाव्यता अध्ययन

टावर संख्या, कुन क्षेत्रबाट प्रसारण लाइन लैजाने, टावर राखिने स्थान, खोला क्षेत्र, सडकबाट कति टाढा, लागत, निकुञ्ज क्षेत्र, आवश्यक पर्ने जग्गा, घुमाउनुपर्ने ठाउँलगायतका पूर्वसम्भाव्यता अध्ययन गरिएको छ । प्रसारण लाइन आयोजनाका प्रमुख कोमलनाथ आत्रेयले सम्भाव्यता अध्ययन सकिएको जानकारी दिए ।


विद्युत् विकास विभागले सम्भाव्यता तथा वातावरणीय अध्ययनका लागि नेपाल विद्युत् प्रधिकरणलाई विद्युत् प्रसारणको सर्वेक्षण अनुमतिपत्र प्रदान गरेको छ । ‘अब सम्भाव्यता र वातावरणीय अध्ययनको काम सुरु हुन्छ,’ आत्रेयले भने । टावर स्पोटिङको कार्य पनि लगभग सकिएको छ ।


पूर्वसम्भाव्यता अध्ययनबाट उक्त प्रसारण लाइनमा २१४ वटा टावर राख्नुपर्ने देखिएको छ । नुवाकोटको रातमाटेदेखि, रसुवागढीसम्म प्रसारण लाइनको दूरी ७० किलोमिटर रहनेछ । यो चीनसँगको पहिलो अन्तरदेशीय प्रसारण लाइन हो । नेपाल र चीनबीच विद्युत् आदान–प्रदान गर्नका लागि उक्त प्रसारण लाइन निर्माण गर्न लागिएको हो । प्रसारण लाइनको नेपालतर्फ नुवाकोटको रातमाटे र चीनतर्फ तिब्बतको जिलोङ काउन्टीमा सबस्टेसन रहनेछ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले रातमाटेमा सबस्टेसन निर्माणको कार्य अघि बढाएको छ ।


रसुवागढी नाकाबाट करिब ७९ किलोमिटर टाढा चीनको जिलोङ काउन्टीमा सबस्टेसन रहनेछ । नेपालतर्फ ४ सय केभी डबल र तिब्बततर्फ ५ सय केभी फोर सर्किटको प्रसारण लाइन निर्माण हुनेछ । यसको क्षमता ५ हजार मेगावाटभन्दा माथि हुन्छ । सम्भाव्यता अध्ययनको काम सकिएपछि चीनको स्टेट ग्रिड अफ कर्पोरेट चाइना र नेपाल विद्युत् प्राधिरणले संयुक्त रूपमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने सहमति भएको छ ।


प्रसारण लाइनको केही भाग लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले निर्माणअघि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गर्न अनिवार्य छ । ईआईएको काम पनि अघि बढाइएको आयोजनाले जनायो । केरुङबाट काठमाडौंसम्म विद्युतीय रेल निर्माण हुने भएकाले यो प्रसारण लाइनको विद्युत् रेलमार्गमा पनि प्रयोग हुने आयोजना प्रमुख आत्रेयले बताए । ‘विद्युतीय रेल ल्याउनुभन्दा दुई वर्ष अगाडि नै प्रसारण लाइन र सबस्टेसन निर्माण गरिसक्नुपर्ने हुन्छ,’ उनले भने ।


नेपाल र चीनबीच ऊर्जा आदानप्रदान तथा सहयोगसम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । चीन सरकारले अगाडि सारेको बेल्ट एन्ड रोड इनिसेटिभ (बीआरआई) मा पनि यो प्रसारण लाइन समेटिएको छ ।

प्रकाशित : श्रावण ४, २०७६ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?