कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाहुनालाई अल्लोको कोट

गिरुप्रसाद भण्डारी

प्यूठान — साताअघि प्रदेश पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरी प्यूठान नगरपालिका–४ गाँजुरीस्थित सहिद पार्कमा निर्माण गरिएको ‘वाटर फाउन्टेन’ उद्घाटन गर्न आए । उनलाई नौबहिनी गाउँपालिका–६, बाहानेका कपडा उद्यमीले अल्लोको टोपी लगाएर स्वागत गरे । मन्त्रीसँगै आएका पाहुनालाई पनि त्यसरी नै स्वागत गरियो । 

पाहुनालाई अल्लोको कोट

उक्त टोलीलाई मात्र यस्तो स्वागत गरिएको होइन । केही वर्षदेखि जिल्लामा अल्लोका कपडा उपहार लिने दिने चलन बढेको छ । स्थानीय उत्पादनको प्रचारका लागि अल्लोका उत्पादनलाई मायाको चिनोस्वरूप दिने गरिएको हो ।


जिल्ला आउने पाहुना अल्लोको टोपी र कोट उपहार पाउँदा खुसी भएर फर्किन्छन् । उपहार, मायाको चिनो पाउनेले मात्र होइन बाहिरी जिल्लाबाट आएकाहरूले अल्लोका उत्पादन किनेर लैजाने गरेका छन् । जंगलमा पाइने अल्लोबाट कपडा बुनेको जानकारी पाएपछि धेरै पाहुनाले नौलो मानेर चासो राख्ने गर्छन् । मन्त्री गिरीले टोपीबारे चासो दिएका थिए । ‘प्यूठान धेरै नेता जन्माउने जिल्ला भनेर चिनिन्थ्यो,’ मन्त्री गिरीले भने, ‘अहिले अल्लोका कपडा उत्पादन हुने जिल्लाको रूपमा परिचय बदलिएछ ।’


स्थानीय कच्चा सामानबाट सञ्चालित उद्यमीलाई प्रोत्साहन गर्ने नीति मन्त्रालयले लिएको गिरीले बताए । यसबाट जिल्लाका अल्लो उद्यमीले फाइदा लिन सक्ने उनको भनाइ छ ।


जिल्लामा हुने हरेक कार्यक्रममा आउने पाहुनालाई अल्लोबाट उत्पादित सामान मायाको चिनोका रूपमा प्रदान गर्ने बानी बसेको प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपतिले बताए ।


उत्पादनलाई प्रोत्साहन गर्न नौबहिनी गाउँपालिकाका सबै जनप्रतिनिधिले औपचारिक कार्यक्रममा पुग्दा अल्लोको कपडा लगाउन थालेको एक वर्ष भइसकेको छ । गाउँसभा, बैठकमा सहभागी हुँदा अनिवार्य अल्लोको कपडा लगाउने निर्णय गत वर्ष गाउँपालिकाले गरेको थियो । त्यसपछि उनीहरूले अल्लोको कपडा लगाउन थालेका हुन् ।


कार्यपालिकाका ४४ जना जनप्रतिनिधि अल्लोको कपडा लगाएर बैठकमा सहभागी हुने गरेको गाउँपालिका अध्यक्ष शिव रिजालले बताए । उद्यमीलाई प्रोत्साहन गर्न अल्लोको कपडा लगाउने निर्णय गरेको रिजाल बताउँछन् । ‘हाम्रो निर्णयले धेरै स्थानीयले फाइदा लिएका छन्,’ रिजालले भने, ‘गाउँमा अल्लो धागो खोज्नेदेखि कपडा बुन्ने सबैको आम्दानी बढेको छ ।’


नौबहिनीको पहिचाह अल्लो कपडाले गराएकाले यसको बजार खोज्न गाउँपालिकाले ध्यान दिएको प्रमुख प्रशासकीय अधिकृत थानेश्वर भण्डारीले बताए । गाउँपालिकामा हुने हरेक कार्यक्रममा सहभागी हुँदा कर्मचारी र जनप्रतिनिधि अल्लोको पोसाकमा सहभागी हुने अभ्यास गरिएको भण्डारीले बताए । उत्तरी प्यूठानको जंगलमा अल्लो प्रशस्त पाइन्छ ।


कपडा बुन्ने कामले धेरै महिलाहरू स्वरोजगार बनेका छन् । जिल्लाका सबै सरोकारवाला निकायले सहयोग गर्न थालेपछि अल्लो कपडा उद्योगीहरू उत्साहित भएको नौबहिनी गाउँपालिका–१ स्याउँलीबाङकी अल्लो कपडा उद्यमी चित्रकली बुढामगरले बताइन् ।

‘अल्लो धागो संकलन, प्रशोधनको काम गर्न थालेको झन्डै २० वर्ष हुन थाल्यो,’ उनले भनिन्, ‘राम्रो कमाइ भइरहेको छ । २०६६ सालमा काठमाडौंमा भएको राष्ट्रिय प्रदर्शनी मेलामा प्रथम पुरस्कार प्राप्त गरी थाइल्यान्ड भ्रमण गर्ने अवसरसमेत पाएको बुढाले बताइन् ।


नौबहिनी गाउँपालिका, वन डिभिजन कार्यालयलगायतले अल्लोको कपडालाई प्रोत्साहन गर्न सहयोग गरेकाले उद्यमीहरूलाई थप हौसला थपिएको बुढाको भनाइ छ ।


बुढाले अल्लो कपडा उद्योग प्यूठानको नौबहिनी–६ बाहानेमा खोलेकी थिएन । जिल्लामा धेरै माग बढ्न थालेपछि उनी प्यूठान नगरपालिका–१० बडरा झरेकी छन् । ‘बाहनेमा धागो प्रशोधन गर्ने, बुन्नेलगायत काम १९ जना महिलाले गर्छन् । उत्पादित समान यहाँ ल्याएर बिक्री गर्ने गरेकी छु,’ उनले भनिन् ।


जिल्लामा ७६ जना महिलाले अल्लो उद्योग चलाएको बुढाले बताइन् । उद्यमीहरूले अल्लोबाट झोला, टोपी, ब्याग, कोट, मोबाइल कभर, टि–म्याट, उत्पादन गर्दछन् ।

प्रकाशित : श्रावण १३, २०७६ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?