कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीले कालंगामा क्षति

बुधबार बिहानको बाढीले आयोजनाको निर्माणाधीन नहर, भण्डारण गरिएका सिमेन्ट, छड, गिट्टि, बालुवा लगायतका सामाग्री बगाएको छ 
वसन्तप्रताप सिंह

(बझाङ) — लगातारको वर्षापछि आएको बाढीले निर्माणाधीन कालंगा जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ । बाढीले आयोजनाका निर्माण सामग्री, मेसिन उपकरण र केही संरचनामा क्षति पुगेको हो । 

बाढीले कालंगामा क्षति

बुधबार बिहानको बाढीले आयोजनाको निर्माणाधीन नहर, नहर निर्माणका लागि भण्डारण गरिएका सिमेन्ट, छड, गिट्टि, बालुवा बगाएको छ । निर्माण स्थलमा सञ्चालित दुईवटा क्रसर पनि बगेको र ५ वटा ट्याक्टर, जिप, दुईवटा डोजरलाई पुरेको आयोजनाले जनाएको छ । ‘पाउटामा रहेको क्याम्पमा सुरक्षाकर्मी र कामदारहरु सुतिरहेका थिए,’ आयोजनाका प्रबन्ध निर्देशक विवश अमात्यले भने, ‘एकाएक नदीमा ठूलो आवाज आयो । के भयो भनेर बाहिर आउँदा निर्माणाधीन नहर, निर्माण सामग्री र उपकरण बगाइसकेको रहेछ । हेर्दाहेर्दै क्याम्पको केही भाग पनि बगायो ।’


बाढी आएपछि मध्यरातमा क्याम्पमा भागदौड मच्चिएको थियो । ६ महिनाभन्दा बढी समय लगाएर गरेको नहरको काम बाढीले क्षतिग्रस्त बनाएको अमात्यले बताए । करिब ७५ मेगावाट क्षमताको यो जलविद्युत् आयोजना निजी क्षेत्रको लगानीमा बन्दै गरेको देशकै पहिलो ठूलो आयोजना मानिन्छ । तीन ठाउँमा एकैपटक संरचना निर्माण हुँदै छ । २०७७ असोजसम्म सकिने गरी काम भइरहेको छ । हालसम्म आयोजनाको ७० प्रतिशत काम पूरा भइसकेको छ ।


बुधबार कालंगा नदीमा आएको बाढी हालसम्मकै ठूलो भएको स्थानीयले बताए । ‘यति ठूलो बाढी आएको सम्झना छैन । मेरो जीवनमा कालंगा यसरी उर्लिएको पहिलो पटक देखेको हुँ,’ खोला किनारको बस्ती पाउटाका ५५ वर्षीय मनवीर बोहराले भने । उनले खोला किनारको बस्ती नै बगाउने डरले राती धेरै स्थानीयले घरमा भएको मालसामान सुरक्षित ठाउँमा ओसारेको र गोठमा बाँधेका पशु चौपायालाई समेत सुरक्षित ठाउँमा सारेको बताए ।


नदीको सतह घटेपछि बिहीबार दिउँसो मात्र यहाँका स्थानीय घरभित्र पसेका थिए । कालंगामा आएको बाढीले खोला छेउका करिब ८० रोपनी जति जग्गा र त्यसमा लगाएको धानबालीसमेत नष्ट गरेको छ । फेरि पनि बाढी आउन सक्ने चिन्ताले खोला छेउका बस्तीहरुमा त्रास कायमै रहेको स्थानीयले बताए ।







प्रकाशित : श्रावण २३, २०७६ १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?