कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दूधको मूल्य बढाउने तयारी : किसानले पाउलान् ?

राजु चौधरी

काठमाडौं — केन्द्रीय दुग्ध सहकारी संघ, डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनले भदौ १ गतेदेखि दूधको मूल्य बढाउन माग गरे । अन्य क्षेत्रमा मूल्य वृद्धिले उत्पादन लागत बढेको जनाउँदै संघले दूधको मूल्य नबढाए अन्दोलन नै गर्ने घोषणा गर्‍यो । व्यवसायीको दबाबपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालय पनि मूल्य बढाउने पक्षमा छ ।

दूधको मूल्य बढाउने तयारी : किसानले पाउलान् ?

मन्त्रालयले मूल्य बढाउन तयार रहे पनि कति बढाउने भन्ने सन्दर्भमा भने टुंगोमा पुगेको छैन । सरकारले मूल्यको अध्ययन गर्न दुग्ध विकास संस्थानलाई जिम्मेवारी दिएको छ । संस्थानका कार्यवाहक महाप्रबन्धक शैलेन्द्रकुमार घिमिरेका अनुसार निजी डेरीहरूले र किसानको प्रतिनिधि संस्था सहकारीले छुट्टाछुट्टै माग गरेका छन् । डेरीले प्रतिलिटर ६ रुपैयाँ भए पुग्ने जनाएका छन् । सहकारीले १० रुपैयाँ बढाउन माग गर्दै आएका छन् ।


‘मूल्यका सन्दर्भमा मंगलबार राष्ट्रिय दुग्ध विकास बोर्डमा बैठक बस्दै छौं । त्यसपश्चात केही निर्धारण हुन्छ,’ घिमिरेले भने । मन्त्रालय र बोर्डबाट सुझाव आएपछि सस्थानको बोर्डले अन्तिम रूप दिन्छ । ‘यो विगतकै परम्परा हो । २०७४ भदौ १ गतेपछि मूल्य बढेको थिएन,’ उनले भने, ‘किसानले दानाको मूल्य वृद्धिले लागत नउठेको जनाउँदै आन्दोलन नै गर्ने भनेपछि मूल्य बढ्छ ।’


सरकारले दूधको मूल्य बढाउने तयारी गरिरहँदा बढेको मूल्य शतप्रतिशत किसानले पाउनेमा भने आशंका छ । हाल डेरी उद्योग र संस्थानले सहकारीमार्फत मात्रै दूध खरिद गर्छन् । सरकारले निर्धारण गरेको मूल्य डेरी र सहकारीले केही प्रतिशत कमिसन राखेर मात्रै किसानलाई दिँदै आएका छन् । घिमिरेका अनुसार बढेको मूल्यमा किसानले ६९ प्रतिशत पाउँछन् । बाँकी मूल्य उद्योग र विक्रेताले पाउँछन् । ६९ प्रतिशतमा पनि कमै किसानले पाएको उपभोक्ताकर्मीहरू बताउँछन् ।


‘यसअघि बढाएको मूल्य पनि किसानले पाएनन् भन्ने गुनासो छ । किसानले पाउने सुनिश्चित भए मात्रै मूल्य बढाउन उचित हुन्छ,’ उपभोक्ता अधिकार अनुसन्धमा मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘बिनातयारी मूल्य बढाउँदा किसानका नाममा उपभोक्तालाई मार पर्ने उद्योगी मोटाउने खेल देखिन्छ । उद्योगीको प्रभावमा परी मूल्यवृद्धि गराउने प्रपञ्च भएको छ ।’

अर्का उपभोक्ता अधिकारकर्मीको भनाइ पनि उस्तै छ । ‘यसअघि सरकारले प्रतिलिटर ५ रुपैयाँ बढाए पनि किसानले एक रुपैयाँ मात्रै पाए,’ राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भने, ‘पुनः सहकारी र डेरीलाई मात्रै मोटाउने गरी मूल्य वृद्धि उपभोक्ता हितविपरीत छ । किसानका हकमा पनि यो निर्णयले मर्का पार्छ ।’ उनले सहकारीहरूले किसानका नाममा शोषण गरिएको बताए ।

किसानका नाममा बहानाबाजी गरेर मूल्य बढाउने नीति हो । यसमा सरकारले पनि साथ दिएको देखिन्छ,’ महर्जनले भने, ‘किसानले नै ५ रुपैयाँ पाउने भए उपभोक्ता सहन सक्छ । उपभोक्तालाई महँगी, किसानका नाममा शोषण गरिएको छ ।’ सहकारी संस्थाले किसानलाई चिल्लो पदार्थ र ठोस पदार्थ (फ्याट) का आधारमा दिँदै आएको छ ।

हाल सहकारीले किसानलाई प्रतिलिटर ४५ देखि ५० रुपैयाँमा दूध खरिद गर्छन् । उपभोक्ताले एक लिटरमा ७० देखि ७५ रुपैयाँ तिर्न बाध्य छन् । यता, दुग्ध सहकारीका अध्यक्ष नारायण देवकोटाले साढे दुई वर्षदेखि मूल्य नबढेकाले किसानलाई मर्का परेको बताए । ‘किसानलाई आत्मनिर्भर बनाउने भनिए पनि सबै क्षेत्रमा मूल्य बढ्दा पनि दूधको मूल्य यथावतै छ,’ उनले भने, ‘अहिले धेरै ठूलो अपेक्षा छैन । प्रतिलिटर कम्तीमा १० रुपैयाँ बढ्नुपर्छ ।’

सहकारीले फ्याटका आधारमा किसानलाई मूल्य दिएको बताए । ‘सहकारी सञ्चालनका लागि सरकारले प्रतिलिटर २ रुपैयाँ दिन्छ । त्योबाहेक मुनाफा छैन,’ उनले भने, ‘सरकारले तोकेको मूल्य फ्याटका आधारमा किसानले पाउँछन् ।’ सहकारीका नाममा केही ठेकेदारले पनि दूध संकलन गर्दै आएको उनले बताए ।

‘जसले नियमित साधारणसभा गर्दैन । विधि प्रक्रिया नपुर्‍याउनेलाई कारबाही हुनुपर्छ,’ उनले भने । संघका अध्यक्ष देवंकोटाले केही ठेकेदारले बिगारेको दाबी गरे पनि डेरी उद्योगीहरू भने संघले पनि केही बदमासी गरेको बताउँछन् । ‘संघले डीडीसीलाई प्रतिलिटर २/३ रुपैयाँ सस्तोमा बिक्री गर्छ । निजी डेरीहरूलाई महँगोमा बिक्री गर्दै आएको छ,’ एक डेरी उद्योगीले भने ।


डेरी एसोसिएसनका महासचिव प्रह्लाद दाहालले पनि मूल्य बढाउन आवश्यक भएको बताए । ‘साढे २ वर्षको दौरानमा बजार मूल्य करिब ५० प्रतिशत बढेको छ । त्यसको असर प्रत्यक्ष दूधमा, घरभाडा, कर्मचारीको तलबमा परेको छ,’ उनले भने, ‘दूधको मूल्य नबढ्दा धेरै समस्या छ । त्यसैले मूल्य बढ्नुपर्छ ।’ उनका अनुसार किसानले ४ प्रतिशत फ्याट र ८ प्रतिशत एफएनएफका आधारमा खरिद हुन्छ ।


जसले गर्दा किसानले मूल्य नपाउने कुरा सम्भव नभएको बताए । दूधमा हुने मूल्य वृद्धिले उपभोक्तालाई भने केही भार पर्ने संस्थानले जनाएको छ । ‘पाउडर दूधको मूल्य हेरेर मात्रै मूल्य बढाउनुपर्छ । अहिलेको अवस्थामा जायज नै छैन,’ संस्थान सञ्चालक समितिका एक पूर्वअध्यक्षले भने, ‘किसानको चिन्ता बजार हो ।


दूध पोखिन भएन । एकदुई रुपैयाँ पाएर कुनै प्रभाव पर्दैन ।’ यसका लागि सरकारले लागत मूल्य नै घटाउनुपर्ने उनले बताए । तुलनात्मक रूपमा आयातित पाउडर केही सस्तो छ । ‘दूधको मूल्य महँगो हुँदा पाउडर दूध बिक्री हुने सम्भावना उच्च छ,’ उनले भने, ‘जसले गर्दा किसानको दूध बिक्दैन । मूल्य बढाउनुअगावै विश्लेषण जरुरी छ ।’ उनका अनुसार मूल्य बढाउँदा दुग्ध विकास संस्थानलाई नाफा हुन्छ । दूध उद्योगहरू पनि नाफै चाहन्छन्, जसले गर्दा मूल्य बढाउन खोज्छन् ।


‘मूल्य वृद्धिले उपभोक्ता पनि पीडित हुन्छन् । दूध महँगो हुँदै जान्छ, मिल्क होलिडे हुन्छ,’ ती पूर्वअध्यक्षले भने, ‘किसानको दूध नबिक्ने वातावरण बनाउनु हुँदैन ।’ संस्थानका एक पूर्वमहाप्रबन्धकका अनुसार दूधको मूल्य बढाएर समस्या समाधान हुँदैन । ‘सरकारको पहिलो दायित्व माग पूर्ति गर्नु हो । त्यसका लागि मुख्य व्यवस्थापन नै हो । विभिन्न जिल्लामा दूध संकलनका लागि पूर्वाधार, चिलिङ सेन्टर चाहिन्छ,’ ती पूर्वमहाप्रबन्धकले भने, ‘मूल्य वृद्धि गरे पनि बजारका कारण दुर्गमका किसानले मूल्य पाउने सम्भावनै हुँदैन । यसको असर सिधै उपभोक्तालाई पर्ने हो । त्यसैले लागत नै घटाउनुपर्छ ।’ उनका अनुसार अहिले ठेकेदार, सकहारी र डेरीहरूकै हालीमुहाली छ । डेरी ऐनमा पनि सहकारीबाट मात्रै खरिद गर्नुपर्ने उल्लेख छ ।

प्रकाशित : श्रावण २८, २०७६ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?