कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाणिज्य बैंकहरूको नाफा २५% ले बढ्याे

यज्ञ बञ्जाडे

काठमाडौँ — ऋण प्रवाह गर्न पैसा नभएर व्यवसाय विस्तार गर्न नसकिएको भनिएको वर्ष पनि वाणिज्य बैंकको खुद नाफा करिब २५ प्रतिशतले बढेको छ । २८ वटा वाणिज्य बैंकले गत आर्थिक वर्षमा करिब ६५ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् ।

वाणिज्य बैंकहरूको नाफा २५% ले बढ्याे

नाफा वृद्धिको प्रमुख स्रोत ब्याज आम्दानीबाट छ । अघिल्लो वर्ष ती बैंकको खुद मुनाफा करिब ५२ अर्ब रुपैयाँ थियो ।

करिब तीन वर्षयता बैंक तथा वित्तीय प्रणालीमा तरलता (लगानीयोग्य) रकमको समस्या छ । पैसा नभएकै कारण धेरै बैंकले स्वीकृत भएको कर्जा पनि प्रवाह गर्न सकेका थिएनन् । यस्तो अप्ठ्यारो परिस्थितिमा पनि बैंकको मुनाफा २५ प्रतिशतले बढेको बैंकहरूको वित्तीय विवरणले देखाएको छ ।

अघिल्लो वर्ष यस्तो मुनाफा २३ प्रतिशतले बढेको थियो । शुक्रबारसम्म २७ वटा वाणिज्य बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । आउँदो साता तथ्यांक सार्वजनिक गर्ने तयारी गरिरहेको सिभिल बैंकको नाफा ७६ करोड ४ लाख रुपैयाँ रहने स्रोतले जनाएको छ ।

आर्थिक वर्ष ०७३/७४ मा वाणिज्य बैंकहरूको नाफा ४४ अर्ब ८४ करोड रुपैयाँ थियो । चौथो त्रैमासको वित्तीय विवरणअनुसार बैंकको नाफा वृद्धिको प्रमुख स्रोत ब्याज आम्दानी हो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष बहुसंख्यक बैंकको कर्जा निक्षेपबीचको ब्याज अन्तर (स्प्रेड) बढेको छ । थोरै बैंकको मात्र स्प्रेड घटेको छ । यसको अर्थ व्यवसाय विस्तारका लागि नयाँ क्षेत्र पहिचानसहित ‘नवप्रवर्तन’ ल्याउनुको साटो ऋणको ब्याजदर वृद्धिमै बैंकहरूले ध्यान केन्द्रित गरे भन्ने हो ।

गत वर्ष पनि राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा बढी कमाउने बैंकको अग्रस्थानमा छ । यो बैंकले ५ अर्ब ३२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्षको नाफा करिब साढे ४५ प्रतिशतले बढेको हो । करिब ४ अर्ब ३५ करोड रुपैयाँ कमाएर दोस्रोमा कृषि विकास बैंक छ ।

अर्को सरकारी स्वामित्वको नेपाल बैंकको नाफा भने गत वर्ष करिब १९ प्रतिशतले घटेको छ । यो बैंकले २ अर्ब ६१ करोड रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यो बैंकले ३ अर्ब २१ करोड रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

बैंकले कर्जा निक्षेपबीचको ब्याज अन्तर उल्लेख्य रूपले घटाएकाले मुनाफा घटेको नेपाल बैंकका कामु प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बताए । ‘कुनै ऋण बिग्रेर नाफा घटेको होइन, एकैपटक स्प्रेड ४.५ प्रतिशतमा झारेका छौं,’ उनले भने, ‘बैंकका अरू सबै सूचकहरू सकारात्मक छन् ।’

निजी क्षेत्रका वाणिज्य बैंकहरूमध्ये नबिल बैंक सबैभन्दा अघि छ । गत वर्ष यो बैंकले ४ अर्ब २९ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा नबिलको नाफा करिब ८ प्रतिशतले मात्र बढेको हो । नबिलपछि दोस्रोमा एनआईसी एसिया बैंक छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष यो बैंकको मुनाफा करिब १ सय २९ प्रतिशतले बढेको वित्तीय विवरणमा उल्लेख छ ।

अघिल्लो वर्ष १ अर्ब ३३ करोड रुपैयाँ रहेको बैंकको मुनाफा गत वर्ष ३ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । बैंकको समग्र व्यवसाय नै बढेकाले नाफा वृद्धिदर पनि उल्लेख्य देखिएको बैंकले जनाएको छ ।

सोही अवधिमा नेपाल इन्भेस्टमेन्ट र सेन्चुरी बैंकको मुनाफा घटेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष ती बैंकको खुद मुनाफा करिब साढे ६ र साढे ५ प्रतिशतले घटेको चौथो त्रैमासको वित्तीय विवरणमा उल्लेख छ ।

प्रकाशित : श्रावण ३२, २०७६ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?