१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

बर्दिबासमा पाँच तारे होटल ‘रामिणी’ को निर्माण सुरू

होटलको लागत एक अर्ब १० करोड हुनेछ ।

बर्दिबास — महोत्तरीको बर्दिबास पाँच तारे 'रामिणी' होटल निर्माण सुरु भएको छ । बर्दिबासको पर्यटन विकासमा टेवा पुर्‍याउने उद्देश्यले पाँच तारे होटल निर्माण थालेको अध्यक्ष शम्भु घिमिरेले जानकारी दिए ।

बर्दिबासमा पाँच तारे होटल ‘रामिणी’ को निर्माण सुरू

'अबको दुईदेखि साढे दुई वर्षमा होटल निर्माण भइसक्ने छ', अध्यक्ष घिमिरेले भने,'होटल निर्माणपछि व्यवस्थापन र सञ्चालनका लागि भारतको इन्टरनेशनल चेन होटल ल्याउने तयारी भइरहेको छ ।'

कुल एक बिघा क्षेत्रफलमा निर्माण हुने होटलमा कुल एक अर्ब १० करोड रुपैयाँ लगानी हुनेछ । जसमा बैंकको ६० प्रतिशत ऋण रहने अध्यक्ष घिमिरेले जानकारी दिए । ७/७साता तलाका दुई वटा भवनमा बन्नेछन् । ८२ वटा कोठा हुनेछन् । डिलक्स र स्वीटका साथै दुई वटा प्रेसिडेन्सियल स्वीट रुम हुनेछन् । पाँच तारे होटलमा उपलब्ध हुने सबैखाले जस्तै क्यासिनो, स्वीमिङ पुल, वेलनेसलगायतका सुविधा उपलब्ध हुने अध्यक्ष घिमिरेले जानकारी दिए ।

अध्यक्ष घिमिरेका अनुसार भगवान रामको जन्मभूमि अयोध्या र माता सीताको जन्मभूमि जनकपुरलाई पर्यटनमार्फत जोड्ने उद्देश्यले होटल निर्माण सुरु गरिएको हो । होटल निर्माणपछि बर्दिबासको मात्रै नभइ जनकपुर र अयोध्याको पर्यटन क्षेत्रमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको उनले बताए ।

'रामिणी पनि सीता माताको अर्को नाम हो, हिन्दू धर्मालम्बीहरुको आस्थाको केन्द्र अयोध्या र जनकपुर जोड्ने गरी हामीले योजना बनाएका छौँ, होटल निर्माणपछि सोही अनुसार बजारीकरण र प्रबर्द्धन गरिने छ', उनले भने ।

होटलकी प्रबन्धक श्रेया पाँडेले बर्दिबासमा सुविधा सम्पन्न होटलको सुविधा उपलब्ध गराउने उद्देश्यले होटल निर्माण सुरु गरेको बताइन् । उनले बर्दिबासदेखि भारतका दरबन्दा र सीतामाडीलगायत मुख्य बजारहरुलाई समेत लक्षित गरिएको उल्लेख गरिन् ।

'हाम्रो योजना बर्दिबासमै लक्जरियस होटलको अनुभव उपलब्ध गराउनु हो, त्यसबाहेक २५ किलोमिटरको दूरीमाा रहेको जनकपुर र छिमकी मुलुक भारतीय बजारलाई पनि लक्षित गरेका छौं', उनले भनिन् । उनका अनुसार हाल भारतका विभिन्न होटल ब्राण्डसँग छलफल भइरहेको र निकट भविष्यमै टुंगो लाग्ने समेत जानकारी दिइन् । उनका अनुसार होटलमा एक सय १० भन्दा बढीले रोजगार पाउनेछन् । जसमा अधिकांश स्थानीयलाई प्राथमिकता दिइने छ ।

प्रकाशित : वैशाख ६, २०८१ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?