१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

माउन्टेन फ्लाइटबाटै कैलाश–मानसरोवर दर्शन गर्नेको घुइँचो

बुधबार २ सय ५० भारतीय तीर्थयात्रीले गरे दर्शन, नेपालगन्जका होटल भरिभराउ 

सुर्खेत, नेपालगन्ज — भारतीय पर्यटकका लागि चीन सरकारले कैलाश–मानसरोवर तीर्थयात्राको रुट नखोलेपछि माउन्टेन फ्लाइटबाटै दर्शनको व्यवस्था मिलाइएको छ । बुधबार मात्रै रामनवमीको अवसरमा २ सय ५० भारतीय तीर्थयात्रीले कैलाश–मानसरोवर दर्शन गरेका छन् । चीनले कोरोना महामारीका कारण ४ वर्षदेखि कैलाश–मानसरोवरको नाका बन्द गरेको छ ।

माउन्टेन फ्लाइटबाटै कैलाश–मानसरोवर दर्शन गर्नेको घुइँचो

हुम्लास्थित नेपाल–चीन सीमाको हिल्सा नाका गत वर्ष वैशाख १८ गते खोले पनि मानसरोवर दर्शन गर्न जाने तीर्थयात्रीको प्रतिबन्ध कायमै राखेको छ । जसका कारण माउन्टेन फ्लाइटबाटै दर्शनको व्यवस्था मिलाएको हो । भारतको ‘ट्रिप टु टेम्पल’ र काठमाडौंस्थित ‘पथिल होलिडेज’ ले यसको व्यवस्थापन गरिरहेका छन् ।

पथिल होलिडेजका प्रबन्ध निर्देशक महेश गौतमका अनुसार भारतको लखनउ हुँदै आउने भारतीय तीर्थयात्री अहिले मानसरोवर दर्शनमा गइरहेका छन् । बुधबार श्री एयरलाइन्सको ५० र ७० सिटे जहाजले नेपालगन्जबाट उडान भरी २ सय ५० तीर्थयात्रीलाई मानसरोवर दर्शन गराएको उनले जानकारी दिए । ‘हामी जहाजबाटै नेपाली भूमितर्फ ३/४ पल्ट जहाज घुमाउँछौं,’ उनले भने, ‘नेपाली भूमि लाप्चा आसपासका क्षेत्रबाट मानसरोवर–कैलाश प्रस्ट र नजिकै देख्न सकिन्छ, भारतीय तीर्थयात्रीले जहाजबाटै दर्शन गर्छन् ।’ उनका अनुसार अहिलेसम्म भएका सबै उडानबाट तीर्थयात्री सन्तुष्ट भएका छन् । यसअघि मानसरोवर दर्शनका लागि जाने तीर्थयात्रीले भिसा, बसोबास र लेक लाग्नेलगायत समस्या भोग्नुपरेको थियो ।

बुधबार माउन्टेन फ्लाइटबाट मानसरोवर दर्शन गरेका भारत उत्तरप्रदेशका अशोककुमारले जहाजबाट दर्शन गर्दा पनि आफूहरूको मनोकांक्षा पूरा भएको बताए । ‘छोटो समयमै मानसरोवरको दर्शन गर्न पायौं, जहाजबाटै सबै भूभाग प्रस्ट देखियो, फोटो पनि खिच्यौं, टाढैबाट भए पनि दर्शन गर्दा ज्यादै खुसी छु,’ उनले भने, ‘नाका खुल्ला भनेर ४ वर्ष कुरियो, बल्ल आज कैलाश पर्वतको दर्शन गर्ने अवसर जुर्‍यो ।’

उत्तरप्रदेशबाटै आएका गोविन्द गुप्ताले पनि बुधबारको दर्शनबाट सन्तुष्टि मिलेको बताए । ‘यसअघि आउनेहरू कम्तीमा १० दिनको यात्रामा आउँथे, लेक लाग्ने समस्या भोगेको धेरैबाट सुनेको थिएँ, भिसा लगाउन पनि उस्तै झन्झट,’ उनले भने, ‘हामी त एकै दिनमा दर्शन गरेर नेपालगन्ज फर्कियौं, आशा छ, शंकरजीले हाम्रो मनोकांक्षा पूरा गरिदिनु हुनेछ ।’

भारतीय तीर्थयात्रीका कारण अहिले नेपालगन्जका होटल भरिभराउ छन् । नेपालगन्जस्थित होटल सिद्धार्थमा १ सय ८० जना भारतीय पर्यटक बसिरहेको सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका क्षेत्रीय निर्देशक केशव न्यौपानेले बताए । उनका अनुसार नेपालगन्जका अन्य होटलमा पनि झन्डै १ सय ५० जनासम्म भारतीय पर्यटक बसिरहेका छन् । ‘यो योजनाको परिकल्पनाकारमध्ये म पनि एक हुँ, भारतीय पर्यटकका लागि चीनले मानसरोवर दर्शनमा लगाएको प्रतिबन्ध कहिले खुल्ने हो निश्चित छैन तर पर्यटक भने दर्शनका लागि लालायित भएको पाइयो,’ उनले भने, ‘त्यसको सबैभन्दा उत्तम उपाय नै माउन्टेन फ्लाइट देखियो, अब ४ दिनपछिका लागि पनि १ सय ४० जना तीर्थयात्रीले होटल बुक गराइसकेका छन् ।’

नेपालगन्जबाट मानसरोवर दर्शनका लागि १ घण्टा १० मिनेटको उडान तय गरिएको छ । तीर्थयात्रीका लागि मानसरोवर नजिकैको नेपाली भूमितिर जहाजले ३/४ राउन्ड लगाउने गरेको छ । अहिलेसम्म ४ सय ४० जना भारतीय तीर्थयात्रीले मानसरोवर दर्शन गरिसकेको पथिल होलिडेजका प्रबन्ध निर्देशक गौतमले बताए । उनका अनुसार यो बीचमा झन्डै ९० जना भारतीय तीर्थयात्री काठमाडौं हुँदै नेपालगन्ज पुगेका थिए । ‘उनीहरू काठमाडौंमा पशुपतिनाथको दर्शन गरेर नेपालगन्ज पुगेका थिए, अब आउने धेरै तीर्थयात्रीले पनि काठमाडौं भएर आउने इच्छा व्यक्त गरेका छन्,’ उनले भने, ‘हाम्रो यो योजना असोजसम्मै रहनेछ, यो वर्ष कम्तीमा ६ हजार भारतीयलाई यो योजनामा समावेश गराउने लक्ष्य छ ।’

उनले असारसम्म नियमित रूपमा फ्लाइट गराइने र त्यसपछि असार र साउन महिनामा रोकेर पुनः भदौ–असोजमा कैलाश दर्शनको कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए । अहिलेसम्म आएका मध्ये सबैभन्दा धेरै पर्यटक उत्तरप्रदेश र नयाँदिल्लीबाट आएको गौतमले जानकारी दिए । ‘प्रतिनिधित्वको हिसाबले भारतका सबै प्रान्तबाट तीर्थयात्री आएका छन् तर बढी २ प्रदेशका छन्,’ उनले भने, ‘बुकिङको क्रम पनि बढिरहेको जानकारी आएको छ, हामी जतिसक्दो बढी तीर्थयात्रीलाई मानसरोवर दर्शनमा समावेश गर्ने योजनामा छौं ।’

कर्णालीको पर्यटन विकासका लागि मानसरोवर–कैलाश रुट तुरुन्त खोल्न जरुरी रहेको हुम्लाका पर्यटन व्यवसायी विजय लामाले बताए । उनका अनुसार भारतीय पर्यटकलाई लक्षित गरी हुम्ला सदरमुकाम सिमकोट र चिनियाँ नाका हिल्सामा झन्डै ४० वटा होटल खोलिएका छन् ।

‘भारतीय पर्यटकले मानसरोवर दर्शनका लागि हुम्लाको बाटो प्रयोग गर्न थालेपछि ठूलो लगानीका होटल धमाधम खुले, १/२ वर्ष त पर्यटकको चाप र व्यवसाय ठीकै थियो तर पछि कोरोना महामारीका कारण चीनले नाका बन्द गरेपछि पूरै व्यवसाय ठप्प छ,’ उनले भने, ‘अब व्यवसाय प्रवर्द्धनका लागि भए पनि सरकारले कूटनीतिक पहल गर्न जरुरी छ ।’ उनले पटकपटक जिल्ला प्रशासन कार्यालयमार्फत परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा ध्यानाकर्षण गराइए पनि बेवास्ता भइरहेको बताए । उनका अनुसार कोरोना महामारीअघि २०७६ चैत अघिसम्म बर्सेनि झन्डै १० हजार भारतीय पर्यटकहरू मानसरोवर दर्शनका लागि आउने गरेका थिए ।

भारतीय पर्यटकलाई लक्षित गर्दै चिनियाँ नाका हिल्सामा ३० वटा पर्यटकीय होटल खुलेका छन् । तर पर्यटक नआउँदा सबै होटल बन्द रहेको व्यवसायी कर्मा लामाले बताए ।६ हजार ७ सय १४ मिटरको उचाइमा रहेको कैलाश पर्वत हिमशृंखला र ४ सय १० किलोमिटर क्षेत्रमा फैलिएको मानसरोवरलाई हुम्लाको २२ हजार फिटको उचाइबाट दर्शन गर्न आएका भारतीय तीर्थयात्रीमध्ये दिल्लीकी प्रियंका चण्डौल पनि थिइन् । पहिलो पटक नेपाली आकाशबाटै कैलाश पर्वतको दृश्यावलोकन गरेकी प्रियंका रोमाञ्चित देखिन्थिन् ।

आँखैमा बस्ने मुगुको मनोरम रारादह र वरपरको अति सुन्दर दृश्य नियाल्दै सतह मार्गबाटै कैलाश पुग्ने चाहना सम्भव नभएपछि आफूले आकाश मार्ग रोजेको उनले बताइन् । नेपाली आकाशमा उडिरहेको जहाजबाट विशाल कैलाश पर्वत र ३ सय फिट गहिरो मानसरोवरको नीलो स्वरूप देख्दा उनीहरू मोहित भएका देखिन्थे ।

प्रकाशित : वैशाख ६, २०८१ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?