१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

पेट्रोलियम भण्डारण स्थलको काम सुरु

जग्गा सम्याउने र रिटेनिङ वाल निर्माणको काम पूरा गरेर एक वर्षभित्रै काम सुरु गरिने 

लुम्बिनी — जग्गा खरिद गरेको लामो समयपछि रूपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रमा नेपाल आयल निगमले बुधबारबाट पेट्रोलियम भण्डारण स्थलको जग्गा सम्याउने र रिटेनिङ वाल निर्माणको काम सुरु गरेको छ ।

पेट्रोलियम भण्डारण स्थलको काम सुरु

जग्गा खरिदलगत्तै अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि पेट्रोलियम भण्डारण स्थल निर्माण अलपत्र परेको थियो । निगमले दुई पालिकाको सिमानामा रहेको रोहिणी खोलानजिक १४ बिघा जग्गा खरिद गरेको हो । अहिले पनि निगमले खरिद गरेको मध्ये एक बिघा जमिन रोहिणी खोलामा रहेको छ । भण्डारण गृह निर्माण परियोजनाका संयोजक प्रदीप यादवले जग्गासम्बन्धी अख्तियार, संसदीय समितिमा रहेको विवाद सल्टिएको बताए । ‘उक्त विवाद निर्क्योल भएपछि निर्माणका लागि बजेटसमेत विनियोजन भइसकेको छ,’ उनले भने, ‘अब कुनै विवाद छैन ।’ खोलामा परेको जग्गाको मूल्य खरिद प्रक्रियामा संलग्न ठेकेदारको रकमबाट असुलउपर गरिने उनले बताए ।

भण्डारण गृह निर्माणका लागि स्थानीय तहसित समन्वय गरेर काम गरिने उनले बताए । खोला क्षेत्र भएकाले विज्ञले डेढ महिना यहीँ बसेर ५० वर्षको बाढीको इतिहास विश्लेषण गरेर प्रतिवेदन बुझाएपछि काम अगाडि बढाइएको उनले बताए । जग्गा सम्याउने र रिटेनिङ वाल निर्माणको काम पूरा गरेर २०८१ सालभित्र पेट्रोलियम भण्डारणको शिलान्यास गरिने यादवले बताए । शिलान्यास गरिएको दुई वर्षभित्र निर्माण पूरा हुनेछ । पेट्रोलियम भण्डारण गृहका लागि तीन अर्ब रुपैयाँ लगानी हुने अनुमान गरिएको उनले बताए ।

निर्माण कार्यको ओमसतिया गाउँपालिका अध्यक्ष मञ्जितकुमार यादव र रोहिणी गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवले संयुक्त रूपमा सुरुवात गरेका हुन् । दुवै पालिकाका अध्यक्षले निगमको जग्गा रहेको क्षेत्रमा बाढीको समस्या रहेकाले स्थानीय बासिन्दा प्रभावित नहुने गरेर काम अगाडि बढाउन सुझाव दिँदै विगतमा देखिएका खरिद प्रक्रियासम्बन्धी विवाद हल गरेर काम थाल्न अनुरोध गरेका छन् । निर्माण स्थल आसपासका वडाध्यक्षहरूले पेट्रोलियम भण्डारण स्थल तयार भएपछि स्थानीयलाई रोजगारीमा प्राथमिकता दिन अनुरोध गरेका थिए ।

निगमका प्रबन्धक रामहरि निरौलाले बस्तीभन्दा टाढा १४ बिघामा पेट्रोलियम भण्डारण गृह निर्माणको काम अघि बढाउन लागिएको बताए । ‘अहिले मुलुकमा रहेका भण्डारण गृह साँघुरा भइसके,’ उनले भने, ‘अभावका बेला सबै डिपोले १४/१५ दिनभन्दा बढी धान्ने अवस्था छैन ।’

अहिले रूपन्देहीको भलबारीमा रहेको डिपो साँघुरो हुनुका साथै बस्तीको बीचमा रहेकाले जोखिम हुन सक्ने उनले बताए । त्यसैले बस्तीभन्दा टाढा डिपो चाहिएको उनको भनाइ छ । उनका अनुसार भलबारीको क्षमता एक सातालाई पुग्नेछ । अहिले निर्माण सुरु गरिएको जग्गा ७० प्रतिशत ओमसतिया–५ र ३० प्रतिशत रोहिणी–२ मा पर्ने उनले बताए । रोहिणी गाउँपालिका अध्यक्ष विद्याप्रसादले स्थानीयलाई नै रोजगारी दिन आग्रह गर्दै यसका लागि आवश्यक सहयोग गर्न पालिका तयार रहेको बताए । ओमसतियाका अध्यक्ष मञ्जितकुमारले रिटेनिङ वाल लगाउँदा अन्यत्र बाढी आउने डर भएकाले त्यसमा ध्यान दिनुपर्ने बताए ।

पेट्रोलियम भण्डारण निर्माण परियोजनाका संयोजक प्रदीप यादवले करिब ३ अर्ब रुपैयाँ लागतमा उक्त भण्डारण गृह निर्माण हुन लागेको बताए । यहाँ निर्माण हुने पेट्रोलियम भण्डारण गृहमा भण्डारणका लागि २ हजार १ सय किलोलिटर क्षमताका ३, पेट्रोल भण्डारणका लागि १ हजार ६ सय किलोलिटर क्षमताका २ र मट्टीतेलका लागि ७० किलोलिटर क्षमताका ३ वटा ट्यांक निर्माण गरिने उनले जनाएका छन् ।

प्रकाशित : वैशाख ६, २०८१ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?