कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

भारतको गतिलो सुरुआत

एएफपी

साउथह्याम्पटन — रोहित शर्माले नटआउट शतकीय इनिङ्स खेलेपछि विश्वकपको आफ्नो पहिलो खेलमा भारतले दक्षिण अफ्रिकाविरुद्ध ६ विकेटको जित आत्मसाथ गरेको छ । लगातार तेस्रो हार बेहोरेपछि दक्षिण अफ्रिकाको विश्वकप अभियानमा भने  धक्का लागेको छ ।

भारतको गतिलो सुरुआत

२ सय २८ रनको विजय लक्ष्य भारतले १५ बलअघि पूरा गर्ने क्रममा ओपनर शर्माले १ सय २२ रन प्रहार गरे । १ सय ४४ बलको सामना गरेका उनले १३ चौका र २ छक्का प्रहार गरे । एकदिवसीय क्रिकेटमा उनको यो २३ औं शतक हो । धेरै शतक बनाउने भारतीय ब्याट्सम्यानमा रोहित तेस्रो स्थानमा उक्लिएका छन् ।


उनीभन्दा अगाडि कप्तान विराट कोहली (४१) र महान खेलाडी सचिन तेन्दुलकर (५१) छन् । शर्माको यो स्कोर जारी विश्वकपमा व्यक्तिगत उच्च स्कोर हो । सुस्त सुरुआत गरेको भारतका ओपनर शिखर धवन ८ रनको स्कोरमा कागिसो राबाडाको बलमा आउट भएका थिए । कप्तान विराट कोहलीले १८ रन बनाएर आउट हुँदा भारत १५.३ ओभरमा ५४–२ को स्थितिमा थियो । चौथो नम्बरमा आएका लोकेश राहुलसँग मिलेर रोहितले ८५ रनको साझेदारी गरी इनिङ्स उकासे ।


राहुल २६ रनमा आउट भएपछि आएका पूर्व कप्तान महेन्द्रसिंह धोनीसँग मिलेर रोहितले अर्को ७४ रनको निर्णायक साझेदारी गरे । भारतको जित आधार पनि यहीं कोरिएको हो । धोनीले ४६ बलमा ३४ रन जोड्दा २ चौका प्रहार गरेका थिए । चौका प्रहार गरी खेल जिताएका हार्दिक पाण्ड्येले ७ बलमा नटआउट १५ रन बनाए । दक्षिण अफ्रिकाका कागिसो राबाडाले २ विकेट लिए ।


यसअघि लेग स्पिनर युजभेन्द्र चाहलले उत्कृष्ट बलिङ गरेपछि टस जितेको दक्षिण अफ्रिकाले ९ विकेट क्षतिमा २ सय २७ रन बनाएको थियो । द रोजबल रंगशालामा ठूलो संख्यामा उपस्थित भारतीय समर्थकलाई खुसी तुल्याउँदै युजभेन्द्रले दक्षिण अफ्रिकाका चार महत्त्वपूर्ण ब्याट्सम्यानलाई आउट गरेका थिए । उनले १० ओभरमा ५१ रन खर्चिए ।


आठौं नम्बरमा ब्याटिङमा आएका क्रिस मोरिसले ४२ रन जोडेपछि दक्षिण अफ्रिकाको इनिङ्स उकासिएको थियो । उनले कागिसो राबाडासँग आठौं विकेटमा ६६ रनको अर्धशतकीय साझेदारी गरे । राबाडाले ३१ रन बनाए । जुन अन्तर्राष्ट्रिय क्रिकेटमा ब्याटिङतर्फ उनको उच्च प्रदर्शन हो ।


यसअघिका दुवै खेलमा पराजित दक्षिण अफ्रिकाका लागि यस खेल जित्नैपर्ने थियो । तर जसप्रित बुमराहले दुवै ओपनरलाई आउट गरेपछि सुरुआतमै टोली दबाबमा पर्‍यो । चाहलले आफ्नो दोस्रो ओभरको पहिलो बलमा २२ रनमा खेलिरहेका रस्सी भान डेर डुसेनलाई आउट गरी तेस्रो विकेटका लागि ५४ रनको साझेदारी तोडेका थिए । त्यही ओभरमा उनले कप्तान फाफ डु प्लेसिसलाई ३८ रनको स्कोरमा बोल्ड गरे ।


अर्का स्पिनर कुलदीप यादवले जेपी डुमिनीलाई ३ रनको स्कोरमै एलबीडब्लू धरापमा पार्दा दक्षिण अफ्रिका ८९–५ को स्थितिमा पुगेको थियो । त्यसपछि डेविड मिलर र एन्डिल फेलुक्वायोले दक्षिण अफ्रिकाको खातामा ४६ रन जोडे । तर चहलले भारतीय टोलीका लागि लगातार सफलता दिलाए । उनले मिलरलाई ३१ र फेलुक्वायोलाई ३४ रनमै पेभेलियन पठाए ।


यसअघि एकदिवसीय वरीयतामा शीर्षस्थानमा रहेका बलर बुमराहले चौथो ओभरमा ६ रनको स्कोरमा हसिम अमलालाई आउट गरे । चोटका कारण अमलाले बंगलादेशविरुद्धको खेल गुमाएका थिए । बुमराहको अतिरिक्त बाउन्स बल सामना गर्ने क्रममा एज लागेर उनी स्लिपमा रोहित शर्माको हातबाट क्याचआउट भए ।


आफ्नो अर्को ओभरमा बुमराहले अर्को विकेट लिए । १० रन बनाएर खेलिरहेका क्विन्टन डी ककलाई थर्ड स्लिपमा रहेका कप्तान विराट कोहलीबाट क्याचआउट गराएर दक्षिण अफ्रिकालाई सुरुमै दबाब दिए । विश्वकपमा अपेक्षित राम्रो सुरुआत गर्न नसकेको दक्षिण अफ्रिका स्टार खेलाडीको चोटसँग संघर्षरत छ । अनुभवी तीव्र गतिका बलर डेल स्टेयन मंगलबार मात्रै प्रतियोगिताबाट बाहिरिएका थिए ।


स्कोर कार्ड

भारत

६ विकेटले विजयी


दक्षिण अफ्रिका

५० ओभरमा २२७/९

क्रिस मोरिस–४२

फाफ डु प्लेसिस–३८


युजभेन्द्र चाहल– ४/५१

जसप्रित बुमराह– २/३५

भुवनेश्वर कुमार– २/४४



भारत

४७.३ ओभरमा २३०/४

रोहित शर्मा– १२२

महेन्द्रसिंह धोनी– ३४

लोकेश राहुल– २६


कागिसो राबाडा– २/३९

प्रकाशित : जेष्ठ २३, २०७६ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?