धोनीको पन्जा काण्ड

एएफपी

लन्डन — विश्व क्रिकेटको नियमक निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले भारतका महेन्द्रसिंह धोनीलाई विश्वकपको विकेटकिपिङका क्रममा सैन्य प्रतीक चिन्ह भएको पन्जा प्रयोग गर्ने अनुमति नभएको जनाएको छ ।

बुधबार दक्षिण अफ्रिकाविरुद्धको जितका क्रममा धोनीले लगाएको हरियो रंगको पन्जामा विशेष लोगो प्रयोग भएको पाइएको थियो । आईसीसीले त्यसको विरोध गरेलगत्तै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) धोनीले प्रतिरक्षामा उत्रिएको छ ।

धोनी भारतीय सेनाको प्यारासुट रेजिमेन्टका मानार्थ लेफ्टिनेन्ट कर्नेल हुन् । बीसीसीआईले आईसीसीलाई पत्र लेखेर धोनीलाई उक्त पन्जा प्रयोग गर्न दिन अनुमति मागेको थियो । तर आईसीसीले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘पछिल्लो खेलमा धोनीले लगाएको विशेष लोगोसहितको विकेटकिपिङ पन्जा पुनः प्रयोगका लागि अनुमति छैन ।’

‘आईसीसीद्वारा आयोजित प्रतियोगिताका नियमअनुसार कुनै पनि व्यक्तिगत सन्देश वा लोगोलाई कुनै जर्सी वा अन्य उपकरणमा प्रयोग गर्ने अनुमति छैन,’ विज्ञप्तिमा भनिएको छ,‘विकेटकिपरको पन्जामा कुनै लोगो प्रयोग गर्न अनुमति दिँदा सम्बन्धित नियमको उल्लंघन हुनेछ ।’ विश्वकपका लागि आईसीसीको नियमअनुसार जर्सी वा अन्य सामानमा मात्र दुई निर्माता कम्पाीको पहिचान उल्लेख गर्न छुट छ । यसबाहेक पन्जामा कुनै प्रकारको राजनीतिक वा जातीय अर्थ दिने प्रस्तुति हुनुहुन्न ।

भारतीय सञ्चारमाध्यम र सामाजिक सन्जालमा अहिले यस प्रकरणले व्यापक चर्चा पाएको छ । जहाँ धोनीको पक्ष लिइएको छ । बीसीसीआईले आईसीसीलाई एक औपचारिक आग्रहसहितको जवाफ दिँदै धोनीले प्रयोग गरेको लोगोको प्रतिरक्षा गरेको छ । ‘यो लोगो अर्धसैनिक दस्ताको भएका कारण धोनीले आईसीसीको कुनै नियम उल्लंघन गरेका छैनन्,’ बीसीसीआईले जवाफमा भनेको छ ।

भारतका खेलमन्त्री किरेन रिजिजुले ‘खेलकुद निकाय’ को विवादलाई सरकारले हस्तक्षेप नगर्ने प्रस्ट पारेका छन् । ‘तर यो मुद्दा हाम्रो देशको भावनासँग जोडिएको छ र यस्तोमा राष्ट्रिय हित ध्यानमा राख्नुपर्छ । म बीसीसीआईलाई यस विषयमा उचित कदम लिन आग्रह गर्छु,’ उनलेट्वीट गरेका छन् । यस विषयमा भारतीय टिमबाट अहिलेसम्म औपचारिक टिप्पणी आएको छैन ।

बाँकी खेलमा पनि धोनीले यही पन्जाको प्रयोग गर्ने सम्भावना छ तर लोगोलाई टेपले छोपिने छ । मार्चमा अस्ट्रेलियाविरुद्धको एकदिवसीय खेलका क्रममा भारतीय टोलीले धोनीद्वारा वितरित मिलिटरी टोपी लगाएको थियो । जुन काश्मिर हमलामा मारिएका ४० सैनिकप्रति श्रद्धान्जलीको रूपमा थियो ।

प्रकाशित : जेष्ठ २६, २०७६ ०८:००

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नेट बलरको टाउको फुट्यो

एएफपी

लन्डन — भारतविरुद्धको महत्त्वपूर्ण भिडन्तको अघिल्लो दिन शनिबार अस्ट्रेलियाको अभ्याससत्र रोकिएको छ । ओपनिङ ब्याट्सम्यान डेविड वार्नरको शक्तिशाली ड्राइभ नेट बलरको टाउकोमा लागेर घाइते भएपछि अभ्याससत्र रोक्नुपरेको हो ।

टाउकोमा बलले लागेर नेट बलर अभ्यास पिचमै लडेका थिए । वार्नर तत्कालै उनको उद्दारमा खटिए र बाँकी टिममेटलाई अभ्यास स्थगित गर्न भने । अस्ट्रेलियाली फिजियोले बलरको प्राथमिक उपचार गरेका छन् । जयकिसन प्लाहा नामक ती नेट बलरलाई मैदानबाट स्ट्रेचरमा राखेर मेडिकल रूममा लगिएको थियो ।

प्लाहाकै साथी अर्का नेट बलरले एएफपीलाई भनेका छन् कि घाइते खेलाडीको होश आएपछि अभ्यास सुरु गरिएको थियो । ‘टाउकोमा चोट लागेका कारण ती नेट बलरलाई थप उपचारका लागि अस्पताल भर्ना गरिएको छ,’ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का ग्राउन्ड म्यानेजर मिचेल गिब्सनले भनेका छन्, ‘अस्पताल जाँदै गर्दा उनी होसमै थिए र हाँसिरहेका थिए ।’

उपाधि रक्षा अभियानमा आरोन फिन्चको नेतृत्वमा रहेको अस्ट्रेलियाली टोलीले जारी विश्वकपमा खेलेका दुवै खेल जितेको छ । फिन्चले भनेका छन् कि घटनाबाट पनि वार्नर निराश छन् ।

प्रकाशित : जेष्ठ २६, २०७६ ०७:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT