कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

श्रीलंकासँग फाइदा लिने अस्ट्रेलियाको दाउ

एजेन्सी

लन्डन — अंकतालिकाको दोस्रो स्थानमा रहेको अस्ट्रेलिया आईसीसी एकदिवसीय विश्वकपअन्तर्गत शनिबार लन्डनमा कमजोर श्रीलंकाविरुद्ध उत्रँदा आफ्नो अनुकूल स्थितिलाई अझै मजबुत बनाउने प्रयास गर्नेछ ।

श्रीलंकासँग फाइदा लिने अस्ट्रेलियाको दाउ

४ खेलमा ३ जितका साथ अस्ट्रेलिया अहिल्यैदेखि शीर्ष चारको बलियो दाबेदारका रूपमा देखिसकेको छ । तर यो सुरुआती चरणमात्र हो । श्रीलंकाविरुद्ध ओभलमा हुने खेलमार्फत उसले सुरुआती फाइदा उठाउने अभियानमा छ ।

शतप्रतिशत प्रदर्शन नदेखिए पनि अस्ट्रेलियाले अधिकांश खेलमा जित हासिल गरेको छ, यो उसको सुखद पक्ष हो । उसको प्रदर्शन सन्तुलित भने अवश्य छ । डेविड वार्नरले पाकिस्तानविरुद्ध उत्कृष्ट ब्याटिङका साथ शतकीय योगदान गरेका थिए । अस्ट्रेलियाको शीर्ष क्रममा एकरूपता देख्न थालिएको छ । सुरुआती खेलहरूको प्रदर्शनले मध्यक्रम पनि उत्तिकै शक्तिशाली छ ।

अस्ट्रेलियाको बलिङ आक्रमण पनि ठीकठाक छ । केवल एउटै कमजोरी स्पिन विभागमा देखिन्छ । एडम जाम्पाको प्रदर्शन एकरूप हुन सकिरहेको छैन र पछिल्लो खेलमा उनी प्लेइङ सेटमा थिएनन् । जाम्पाको अनुपस्थितिमा ग्लेन म्याक्सवेलले स्पिन आक्रमण सम्हालेका थिए । उनी पनि बलिङमा महँगो बने । आरोन फिन्चको बायाँहाते स्पिनले विकेट निस्कियो । अस्ट्रेलियालाई यो पनि थाहा छ कि विश्वकपजस्तो प्रतियोगितामा उ पार्ट टाइम बलरमा भर पर्नु हुँदैन । सायद नाथान लायनले ओभलमा स्पिन आक्रमणको नेतृत्व गर्नेछन् ।

श्रीलंका अहिलेसम्म एक जित र दुई वर्षाले बिथोलिएको खेलका साथ अंकतालिकाको पाँचौं स्थानमा छ । सुरुआती दुई पूर्ण खेलमा श्रीलंकाले ब्याटिङ, बलिङ र फिल्डिङमा उल्लेख्य आकर्षण देखाउन सकेन । अस्ट्रेलियाविरुद्धको ठोष प्रदर्शन उसको बारेमा धारणा बदलिदिने अवसर पनि हुन सक्छ ।

सुरुआती २ खेलमा १ सय ३६ र २ सय १ को स्कोरमा अलआउट भएको श्रीलंकाली ब्याटिङपंक्तिमा धेरै सुधार गर्नुपर्ने देखिन्छ । कप्तान दिमुथ करुणारत्ने र कुशल परेराले रन बनाइरहेका छन् । उसलाई अधिक योगदानकर्ताको आवश्यक छ । साथै तीव्र स्कोर बनाउने ब्याट्सम्यान पनि खडकिएको छ । ओभलको मौसम शनिबार बदली हुने पूर्वानुमान छ । जुनसुकै समयमा बादल र वर्षाको सम्भावना पनि छ । पिच ब्याट्सम्यानहरूका लागि उपयुक्त हुनेछ ।

प्रकाशित : जेष्ठ ३२, २०७६ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?