१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

भारतविरुद्ध ‘ए प्लस’ प्रदर्शनको आवश्यकता

एएफपी

टाउनटन — पाकिस्तानका महान क्रिकेटर वकार युनिसले आइतबार चीर प्रतिद्वन्द्वी भारतविरुद्ध हुने विश्वकप खेलमा पाकिस्तानका लागि उच्च श्रेणीको प्रदर्शन आवश्यक भएको बताएका छन् । बुधबार टाउनटनमा साविक विजेता अस्ट्रेलियासँग ४१ रनले पराजित भएपछि १० टोलीको राउन्ड रोविन अंकतालिकामा पाकिस्तान आठौं स्थानमा पुगेको छ । 

पाकिस्तानसँग अझै पनि आधाभन्दा बढी समूह चरणको खेल बाँकी छ । सरफराज अहमदको टोली प्रतियोगिताको शीर्ष चारभित्र पर्नका लागि जस्तोसुकै प्रदर्शनका लागि तयार हुनुपर्छ । जसले उनीहरूलाई सेमिफाइनलमा योग्य बनाउनेछ ।

‘पाकिस्तान जब भारतसँग खेल्छ तब यो सधैं ठूलो खेल हुने गर्छ ।तर आइतबार हुने खेल यसअघिको भन्दा अधिक प्रतिस्पर्धात्मक र निर्णायक हुँदैछ,’ पाकिस्तानका महान तीव्र बलर युनिसले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को स्तम्भमा लेखेका छन्, ‘यदि पाकिस्तानलाई प्रतियोगितामा रहिराख्ने हो भने ‘ए प्लस’ प्रदर्शनका साथ खेल जित्नुपर्छ । यो खेल सधैं दुवै देशका लागि महत्त्वपूर्ण हुन्छ र करोडौं मानिसले हेरिरहेका हुन्छन् ।’

ओल्ड ट्राफोर्डमा हुने खेलअघि इतिहास पाकिस्तानको विपक्षमा छ । विश्वकपमा यसअघि भएका ६ मध्ये सबै खेलमा भारत विजयी भएको छ । भारत अहिले उत्कृष्ट लयमा छ । विराट कोहली नेतृत्वको टोलीले यसअघि दक्षिण अफ्रिका र अस्ट्रेलियाविरुद्धको दुवै खेलमा सहज जित हासिल गरेको छ । न्युजिल्यान्डविरुद्धको खेल वर्षाले बिथोलेपछि दुवैले १–१ अंक पाएका थिए ।

‘पाकिस्तानको जित यात्रा मिश्रित छ । ती सबै सकिसकेका छन्, इतिहास भइसकेका छन् । यो एउटा नयाँ खेल हो र एक नयाँ दिन हो,’ युनिसले भनेका छन् । युनिसका अनुसार पाकिस्तानले इंग्ल्यान्ड र वेल्समा भएको पछिल्लो प्रतियोगिताको आत्मविश्वासलाई पाकिस्तानले अनुसरण गर्नुपर्ने धारणा राखेका छन् । सन् २०१७ को च्याम्पियन्स ट्रफीमा पाकिस्तानले पहिलो खेल भारतसँग १ सय २४ रनले हारेको थियो । फाइनलमा भारतसँग बदला लिँदै १ सय ८० रनको जितका साथ उपाधि उचालेको थियो ।

बायाँहाते तीव्र बलर मोहम्मद अमिरले बुधबार अस्ट्रेलियाविरुद्ध करिअरकै उत्कृष्ट प्रदर्शन (५–३०) गरेपछि अस्ट्रेलिया ३ सय ७ रनमा अलआउट भएको थियो । आफ्नो समयमा बायाँहाते तीव्र बलर वासिम अक्रमसँग मिलेर थुप्रै सफलता हासिल गरेका युनिसले पाकिस्तान टिममा अमिरलाई सहयोग गर्नका लागि अन्य बलरबाट पनि त्यस्तै प्रदर्शनको अपेक्षा गरेका छन् ।

‘अस्ट्रेलियाविरुद्धको खेलमा अमिरले अर्को एन्डबाट कसैको पनि समर्थन पाएनन्, वास्तवकै कसैले पनि त्यस्तो पुनरागमन देखेका छैनन् र त्यस अर्थमा अमिर सम्मानको पात्र छन् । उनले जुन तरिकाबाट बलिङ गरे त्यसबापत पूर्णांकको हकदार छन्,’ युनिसले भने, ‘सन् २०१० मा इंग्ल्यान्डविरुद्ध लर्डसमा भएको टेस्ट म्याचका क्रममा स्पट फिक्सिङका लागि दोषी पाइएपछि अमिरलाई जेल सजायका साथै ५ वर्षको प्रतिबन्ध लागेको थियो । यसर्थ उनको यो अनुदानमा मिलेको करिअर हो ।’

‘मेरो विचारमा र हामी सबैलाई थाहा छ कि मानसिक रूपमा अमिर निकै बलिया छन्,’ युनिसले भने, ‘उनले हामीलाई पुनः एकपल्ट आफ्नो स्तर देखाएका छन् र स्थायी स्तरमा कायमै छन् भन्ने प्रमाणित गरेका छन् । निःसन्देह उनी म्याच विजयी हुन् ।’

प्रकाशित : जेष्ठ ३२, २०७६ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?