कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जितको खोजीमा अफगानिस्तान

एजेन्सी

साउथह्याम्पटन — शनिबारमात्र अफगानिस्तानले विश्वकपकै प्रमुख दावेदारमध्ये एक भारतविरुद्ध जितनजिक पुगेर पराजय बेहोर्नुपरेको थियो । बंगलादेशविरुद्ध सोमबार हुने खेलमा अफगानिस्तानले विश्वकपमा आफ्नो पहिलो जितको अपेक्षा गर्नेछ । 

जितको खोजीमा अफगानिस्तान

बंगलादेशको ब्याटिङ लाइनमा बढुवा भएर ३ नम्बरमा पुगेका सकिव अल हसन केन्द्रमा छन् । जो लगातार खेलमा उत्कृष्ट प्रदर्शनसहित विश्वकपकै प्रमुख आकर्षण बनिरहेका छन् ।


वेस्ट इन्डिजले दिएको ३ सय २२ रनको लक्ष्य ४१.३ ओभरमै पूरा गरेर सनसनी मच्चाएको बंगलादेशले त्यसलगत्तैको खेलमा अस्ट्रेलियाबाट ३ सय ८२ रनको लक्ष्य पायो । जहाँ उनीहरूले ३३३–८ को सानदार प्रदर्शन गरेका थिए ।


ब्याटिङमा उल्लेख्य सुधार आए पनि बंगलादेशको बलिङ समस्या उस्तै छ । किनभने उसले पछिल्ला ३ खेलमा ३ सय २० भन्दा अधिक योगफलको सामना गर्नुपरेको छ । बलियो अफगानी बलरहरूसामु खुलेर खेल्ने वातावरण सिर्जना गर्न बंगलादेशका बलरहरूले पनि आफ्नो स्तरोन्नति गर्नुपर्ने देखिन्छ ।


शनिबार भारतसँग ११ रनको साँघुरो हारपछि अफगानिस्तान सोमबार बंगलादेशविरुद्ध मैदानमा उत्रँदा आत्मविश्वास र प्रेरणाले भरिएको हुनेछ । साउथह्याम्पटनको कन्डिसनसँग परिचित अफगानी कप्तान गुल्बादिन नैबले बंगलादेशविरुद्ध आफ्ना स्पिनरहरूबाट पुनः एकपल्ट जादुयी प्रदर्शनको अपेक्षा गर्नेछन् ।


तर उसका ब्याट्सम्यानहरूले लामो समय क्रिजमा रहने धैर्यता भने अवश्य देखाउनुपर्नेछ । साउथह्याम्पटनको मौसम सोमबार पनि सुक्खा र केही गर्मी हुने अनुमान गरिएको छ । यस्तोमा स्पिनर प्रभावशाली हुनेछन् जस्तो भारत र अफगानिस्तानबीचको खेलमा भएको थियो ।


प्लेयर्स टु वाच


मोहम्मद नाबी (अफगानिस्तान)

भारतसँग जितनजिक पुगेर पनि पराजित भएको अफगानिस्तानका लागि अनुभवी खेलाडी तथा पूर्वकप्तान मोहम्मद नाबीले अलराउन्ड प्रदर्शन गरेका थिए । अन्तिम ओभरमा उनी आउट भएपछि अफगानिस्तानको हार निश्चित बनेको थियो । स्पिन बलिङ र मध्यक्रमको ब्याटिङमा उच्च लयमा देखिएका नाबीकै निर्णायक प्रदर्शनबाट अफगानिस्तानले विश्वकपमा पहिलो जितको अपेक्षा गर्न सक्छ ।



मुसफिकर रहिम (बंगलादेश)

विकेटकिपर ब्याट्सम्यान रहिमले अस्ट्रेलियाविरुद्धको पछिल्लो खेलमा अविजित शतक प्रहार गरेका थिए । बंगलादेशी ब्याटिङक्रममा सकिव अल हसनलाई राम्रो सहयोग गरिरहेका रहिमले स्टम्प पछाडि रहेर पनि आफ्नो भूमिका निभाइरहेका छन् । मध्यक्रममा अफगानी स्पिनरसामु डटेर खेल्न सक्ने रहिमको प्रदर्शन पुनः एकपल्ट निर्णायक हुन सक्छ ।

प्रकाशित : असार ९, २०७६ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?