पाकिस्तानलाई जितको स्वाद
लन्डन — पाकिस्तानले आइतबार लर्डसमा ४९ रनको विजय हात पारेपछि दक्षिण अफ्रिका विश्वकप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । पाकिस्तानको पनि नकआउट चरणमा पुग्ने झिनो आशा मात्र छ ।
३ सय ९ रनको लक्ष्य लिएर आएको दक्षिण अफ्रिकाले ९ विकेट गुमाई २ सय ५९ रन मात्र बनाउन सक्यो । सद्धाब खान र वाहव रियाजले ३–३ विकेट लिएपछि दक्षिण अफ्रिकी ब्याट्सम्यानले कुनै चुनौती तेर्स्याउन सकेनन् ।
दक्षिण अफ्रिकाको खेलमा गति देखिएको थिएन र टोलीले पहिलो १० ओभरमा केवल ३८ रनमात्र जोड्न सकेको थियो । २० ओभरमा टोली ९१–२को स्थितिमा पुगे पनि आवश्यक रन रेट उकालि लािगसकेको थियो ।
कप्तान फाफ डु प्लेसिसले ७९ बल खेली ५ चौकासहित ६३ रन बनाए । यस हारले डु प्लेसिस र प्रशिक्षक ओटिस गिब्सनको भविष्यलाई लिएर पनि प्रश्न उठेको छ ।
इंग्ल्यान्ड र वेल्समा जारी विश्वकपमा दक्षिण अफ्रिकाले ७ मध्येको ५ खेल हारिसकेको छ र राउन्ड रोबिनमा श्रीलंका तथा अस्ट्रेलियासँगको खेल खेल्नु अगाडि नै टोलीको घर फर्कने तय भएको छ । अफगानिस्तानसँगको विजय दक्षिण अफ्रिकालाई सान्त्वना मात्र भएको छ । दक्षिण अफ्रिका नकआउट चरण नपुगेको यो दोस्रो अवसर हो । पछिल्लो पटक २००३ मा आफैले विश्वकप आयोजना गर्दा पनि दक्षिण अफ्रिकाले यही हविगत बेहोर्नुपरेको थियो ।
पहिलो खेलमा इंग्ल्यान्डसँग पराजित दक्षिण अफ्रिकालाई त्यसपछि ३ सय २२ रन बनाए पनि बंगलादेशले स्तब्ध पारेको थियो । प्रमुख तीब्र बलर डेल स्टेयनले चोटका कारण प्रतियोगिता सुरु भए लगत्तै घर फर्किदा दक्षिण अफ्रिकालाई अर्को धक्का बेहार्नु परेको थियो । अझ प्रतियोगिताका दौरान पूर्व कप्तान एवंम ब्याट्सम्यान एबी डी भिलियर्सले संन्यास तोड्दै आफु पनि विश्वकप छनोटका लागि उपलब्ध भएको बताएर दक्षिण अफ्रिकी विश्वकप यात्रामा हंगामा ल्याइदिएका थिए ।
चीर प्रतिद्वन्द्वी भारतसँग घुँडा टेकेको पाकिस्तान पनि थोरै आशामा अगाडि बढिरहेको छ । पाकिस्तानको यो केवल दोस्रो विजय हो र टोलीले ३ खेल खेल्न बाँकी छ । ह्यारिस सोहेलले ५९ बलमा ८९ रन बनाउँदै पाकिस्तानलाई प्रतियोगितामा जीवितै रहन बल प्रदान गरे । ५९ बलको इनिङ्समा उनले ९ चौका र ३ छक्का प्रहार गरे । पाकिस्तान पहिलो खेलमा वेस्ट इन्डिजसँग पराजित भएपछि ३० वर्षे सोहेललाई टोलीमा राखिएको थिएन् ।
त्यस्तै बाबर आजमले ८० बलमा ६९ रन बनाए । ओपनरद्वय इमाम उल हक र फाखर जमानले समान ४४ रन बनाउदैं पहिलो विकेटमा १५ ओभर भित्र ८१ रन जोडेर पाकिस्तानलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । दुबैलाई भेट्रान स्पिनर इमरान ताहिरले आउट गरे । सोहेल इनिङ्सको दोस्रो अन्तिम बलमा आउट भए ।
स्कोर कार्ड
पाकिस्तान
४९ रनले विजयी
पाकिस्तान
५० ओभर ३०८/७
ह्यारिस सोहेल–८९
बाबर आजम–६९
फाखर जमान–४४
लुङ्गी एनगिदी ३/६४
इमरान ताहिर २/४४
दक्षिण अफ्रिका
५० ओभर २५९/९
फाफ डु प्लेसिस–६३
क्विन्टन डी कक–४७
एन्डील फेहुलक्वायो–४६
वाहव रियाज ३/४६
सद्धाब खान ३/५०
प्रकाशित : असार ९, २०७६ ०८:११