कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वदेश फिर्नेहरू मौकाको खोजीमा

कान्तिपुर संवाददाता

काठमाडौँ — ‘नेपाल फर्केर के पाइन्छ ?’ भन्ने बहसका सहभागीहरूले मौकाको खोजीमा रहेको बताएका छन् । कान्तिपुर कन्क्लेभको सोमबारको छलफलमा सहभागी इसिमोडका क्षेत्रीय कार्यक्रम व्यवस्थापक अरनिको पाण्डे, कुबेतस्थित सिटी बैंकका भाइस प्रेसिडेन्ट प्रदीप पौडेल, क्याटलिस्ट टेक्नोलोजीकी प्रमुख कार्यकारी अधिकृत प्रतिभा पाण्डेले अनुभव साट्दै मौकाको खोजीमा रहेको बताएकी हुन् ।

स्वदेश फिर्नेहरू मौकाको खोजीमा

उनीहरूले विदेशमा रहँदा र नेपाल फर्केपछिका अवसरबारे आफ्ना अनुभवहरू साटे । विदेशमा सिकेका सीपलाई प्रयोग गर्न सक्ने उपयुक्त समय देखिन थालेको भन्दै आशासमेत जगाए ।

‘म स्वदेश फिर्ने उपयुक्त मौकाको खोजीमा थिएँ । बूढो भएर फर्केर के गर्ने ? त्यो मौका पाएँ,’ १९ वर्ष अमेरिकामा बिताएर फर्केका अरनिको पाण्डेले भने, ‘नेपालमा फर्केर वायु प्रदूषणको चेतना विस्तार गर्न पाएँ । वायु प्रदूषणको मापन केन्द्र स्थापना गरे । देशले मेरा लागि के गर्‍योभन्दा पनि मैले देशका लागि के गर्न पाएँ भन्ने कुरा ठूलो रहेछ ।’ बाटोभन्दा हिलोमा हिँड्दा पाउने सफलता रोचक लाग्ने उनले बताए ।


बेलैमा फर्केर आफ्नो क्षमताअनुसार काम गर्नुपर्ने उनको सुझाव समेत थियो । ‘उताभन्दा यतै काम गर्न मजा आइरहेको छ,’ उनले भने, ‘सिक्नका लागि एक पटक विदेश त जानुपर्छ । पलायन हुनुभन्दा फर्केर आफ्नो विषयमा काम गर्नुपर्छ ।’ भूकम्पपछि नेपालमा झन् आशा जागेको उनले बताए । ‘भूकम्पमा युवाहरू एकजुट भए । कसैको घरमा चोरी भएको सुनिएन । नाकाबन्दीको बेला हामी को हौं भन्नेर चिन्ने अवसर पायौं,’ उनले भने, ‘त्यही बेला आशाको बीउ रोपिएको हो ।’


कुबेत र दुबईमा ११ वर्षदेखि बैंकिङ क्षेत्रमा काम गरिरहेका प्रदीप पौडेलले स्वदेशमा फिर्न आफूले संघर्ष गरिरहेको बताए । ‘बच्चाहरू दुबईमा अध्ययनरत छन् । उनीहरू नयाँ स्कुल र नयाँ साथीहरू बनाउन चाहिरहेका छैनन्,’ उनले भने, ‘अर्को पक्ष आर्थिक स्रोत पनि हो । अन्तर्राष्ट्रिय कम्पनीको उच्च पदमा कार्यरत छु । तलब पनि राम्रै छ । त्यसलाई चटक्क छोडेर आउन सकिरहेको छैन ।’


विदेशबाट फर्किने भन्ने विषय स्थायी सरकारको नीतिमाथि भर पर्ने उनले बताए । ‘विगतमा अस्थायी सरकार थियो । कसले के नीति लिने हो भन्नेमा समस्या थियो । अब स्थायी सरकार बनेको छ,’ उनले भने, ‘यसले आशा बढेको छ ।’


तीन वर्षअघि अमेरिकाबाट फर्केकी क्याटलिस्टका प्रमुख पाण्डेले आफ्नो पहिचान र छनोटको स्वतन्त्रताका लागि अमेरिका गएको बताइन् । ‘अमेरिका गएको दिनदेखि नै मैले फर्किने योजना बनाएको थिएँ । त्यहीअनुसार कस्तो श्रीमान् छान्ने ? कस्तो गाडी किन्ने ? बच्चाहरू जन्माउने कि नजन्माउने भन्ने योजना बनाएँ,’ उनले भनिन्, ‘यसले उपयुक्त समयमा योजनाबद्ध ढंगले फर्किन सकें ।’

उनले विदेशमा सिकेको सीप स्वदेशमा पोख्ने कुरा पनि लगानी नै भएको बताइन् ।


‘मेरो पढाइमा मात्रै हिसाब गर्दा ७ करोड सकिएछ । त्यत्रो लगानी गरेर सिकेको सीपलाई मैले नेपालमै प्रयोग गर्न खोजिरहेको छु । त्यसमा काम गर्न सरकारले सहयोग गरी नै रहेको छ,’ उनले भनिन्, ‘विज्ञान र प्रविधिको माध्यमबाट स्थानीय स्रोत प्रयोग गरी मुलुकको विकासमा योगदान दिइरहेको छु ।’


उनले आर्थिक स्रोत बलियो भएपछि फर्किंदा थप सहज हुने बताइन् । ‘खाडी र अमेरिका जानेबीच खासै फरक देख्दिनँ । सबैले आआफ्नो भविष्य देख्ने हो । आर्थिक सुरक्षा खोज्ने हो,’ उनले भनिन्, ‘त्यत्रिकै फर्किंदा खै के गरिस् भन्ने प्रश्न पनि तेर्सिन्छ । खुट्टा दरिलो बनाएर फर्किंदा सहज हुन्छ ।’

प्रकाशित : फाल्गुन ७, २०७५ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?