‘भिजिट नेपाल २०२०’ सफल बनाउन दूतावासको आग्रह

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियामा रहेर नेपालमा पर्यटक पठाइरहेका व्यवसायी तथा संघसंस्थाहरुलाई दूतावासले नेपाल सरकारको पर्यटकीय योजना ‘भिजिट नेपाल २०२०’ सफल बनाउन आग्रह गरेको छ । 

क्यानबेरामा रहेको नेपाली दूतावास र दक्षिण अस्ट्रेलियाको अवैतनिक वाणिज्य दूतावासले यहाँ रहेर पर्यटकीय क्षेत्रमा काम गरिरहेका सरोकारवालाहरुसँग नेपाल सरकारको ‘भिजिट नेपाल २०२०’ को बारेमा जानकारी दिने प्रयास गरेको थियो ।

अस्ट्रेलियास्थित नेपाली दुतावासकी कार्यवाहक राजदूत द्रुपदा सापकोटाले नेपाल पर्यटकीय क्षेत्रका लागि अहिले पनि उत्कृष्ट स्थान भएको बताउँदै आफ्नो क्षेत्रबाटे सहयोग पुरयाउन आग्रह गरेकी थिइन् । उनले नेपालमा वर्तमान अवस्थामा दिगो सरकार रहेको र सुरक्षाको मामलामा पनि कुनै समस्या नरहेको भन्दै पर्यटकहरुलाई नेपाल पठाइदिन भनेकी थिइन् ।

यहाँस्थित राजनीतिक दलका नेताहरुका साथै अधिकांश विदेशी पर्यटक क्षेत्रका ब्यवसायिहरु सम्मिलत कार्यक्रममा सहभागीहरुलाई नेपालको पर्यटकीय क्षेत्रहरुको बारेमा समेत प्रस्तुती दिइएको थियो ।

वाणिज्यदूत दिपक धमलाले व्यवसायी र पर्यटकलाई लक्षित गरेर गरेको उक्त प्रस्तुतिले यहाँबाट नेपाल घुम्न जाने पर्यटकहरुलाई प्रोत्साहन गर्ने बताए । ‘हामीले नेपालको पर्यटकीय क्षेत्रलाई नयाँ किसिमले अघि लैजाने योजना बनाएका छौं र त्यसका लागि तपाईंहरुको सहयोगको आवश्यकता छ’ उनले भने ।

कार्यक्रमपछि कुराकानी गर्दै सहभागि पर्यटन व्यवसायीहरुले समेत वार्षिक रुपमा करिब २५ हजार अस्ट्रेलियालीले नेपाल भ्रमण गर्ने गरेको भन्दै यो संख्या बढाउनेमा आफूहरु सँधै लागि पर्ने बताएका थिए ।

विगत एक दशकदेखि नेपालमा पर्यटक पठाउँदै आएका एक व्यवसायीले नेपाल पर्यटकहरुको लागि रोजिएको क्षेत्रमा पर्ने समेत सुनाए । कार्यक्रममा स्थानीय सांसद रसल वाट्लीले नेपाल सुन्दर देश हुनुका साथै नेपालीहरु समेत मिलनसार र मिहनेती भएको बताए । उनले नेपालमा पर्यटनको क्षेत्रका लागि अझ धेरै सम्भावना रहेको रुपमा ब्याख्या गर्दै भ्रमण वर्षको सफलताको कामना गरे ।

कार्यक्रममा सहभागीहरुलाई ढाकाटोपी र गलबन्दीले स्वागत गरिएको थियो भने कुमारी लगायतका नृत्यहरु समेत प्रस्तुत गरिएको थियो । अत्यन्तै न्यून संख्यामा नेपालीहरु सहभागि उक्त कार्यक्रममार्फत नेपालमा अस्ट्रेलियाबाट घुम्न जाने पर्यटकहरुको संख्यामा केही मात्रा बृद्धि हुने दाबी दूतावास र वाणिज्य दूतावासले गरेको छ । कार्यवाहक राजदूत सापकोटाले सबै राज्यमा रहेका अवैतनिक वाणिज्य दूतावासहरुसँग मिलेर यस्तै कार्यक्रमहरु आयोजना गरिने समेत जानकारी दिइन् ।

प्रकाशित : असार ७, २०७६ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्

कार्यकर्तालाई प्रशिक्षण दिन का‌ंग्रेसका आधा दर्जन नेता डेनमार्क पुगे 

कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेसको जनसम्पर्क समितिमा आवद्ध पार्टी कार्यकर्ताहरुका लागि तीन दिने प्रशिक्षण शनिबारबाट सुरु भएको छ । कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विभागले कार्यक्रम आयोजना गरेको हो ।

कांग्रेस उपसभापति समेत रहेका विभागका संयोजक विमलेन्द्र निधिले प्रशिक्षणको उद्घाटन गरे। प्रशिक्षण दिन कांग्रेसका एक दर्जन केन्द्रीय नेताहरु डेनमार्क पुगेका छन्।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु रामशरण महत, मिनेन्द्र रिजाल, भिष्मराज आङदम्बे, धनराज गुरुङ, गोविन्द भट्टराई, प्रतिष्ठान विभागका कार्यकारी निर्देशक पुरुषोत्तम दाहाललगायतले कार्यपत्र प्रस्तुत गर्दै छन्।

प्रचार–प्रसार समितिका संयोजक एवं पत्रकार प्रकाश ढकालका अनुसार पार्टीको अनुशासन, विधानदेखि पार्टीको नीति सिद्धान्तका बारेमा १६ वटा कार्यपत्र प्रस्तुत गर्ने तयारी छ।

‘लोकतान्त्रिक समाजवादको कांग्रेसको नीतिलाई कसरी प्रभावकारी बनाउने? सैद्धान्तिक र व्यवहारिक पक्षलाई कसरी जोड्ने लगायतका बिषयमा गहन ढंगको छलफल हुने भएको छ’ प्रतिष्ठानका कार्यकारी निर्देशक दाहालले टेलिफोनमा भने, ‘यो कार्यक्रमको उद्देश्य पार्टीभित्रको आन्तरिक संगठनसँगै अर्न्तराष्ट्रिय सम्बन्धमा पनि बलियो बनाउने हो।’

विश्वभर रहेका ३३ जनसम्पर्क समिति मध्ये २३ जनसम्पर्क समितिका २ सय १५ प्रतिनिधि प्रशिक्षणमा सहभागी छन्।

कार्यक्रमको सुरुवातमा डेनमार्कको प्रमुख राजनीतिक दल सोस डेमोक्रेटकी पूर्व सांसद यील्डिज एकदोंगानले नेपालको शिक्षा र स्वास्थ्यको बारेमा नेपालले सिक्न सक्ने विशेषताका बारेमा बोलेकी थिइन्।

त्यस्तै डेनिस इन्स्टिच्यूट फर पार्टीज एण्ड डेमोक्रेसीका व्यौंन फोर्डले नेपालका राजनीतिक दलले लिनपर्ने वातवरण सम्बन्धी नीति र विश्वमा बढ्दै गएको तापक्रम सम्बन्धका धारणा राखेका थिए।

डेनमार्कमा रहेका नेपाली विज्ञहरुले समेत त्यस क्रममा नेपालले वातावरण, सडक र कृषि विकासमा डेनमार्कबाट सिक्न सकिने विषयहरुका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए।

चिकित्सक अमृत राई, इन्जिनियर रमेशकुमार श्रेष्ठ र विभिन्न क्षेत्रमा पिएचडी गरेका सुरज ढकाल, उमाकान्त सापकोटा, शैलस मल्ल, राजन ढकाल, असिका निरौला, राजेश्वर आचार्य र खेमबहादुर अधिकारीलगायतले स्रोत साधनको व्यवस्थापन, फोहरको व्यवस्थापन, सडक, कृषि, वातवरणको विकासलगायतका क्षेत्रमा नेपालले लिनुपर्ने नीति र कार्यक्रमका बारेमा प्रकाश पारेका थिए।

प्रशिक्षण कार्यक्रम सुरु हुनुअघि जनसम्पर्क समिति डेनमार्कको वार्षिकोउत्सव कार्यक्रमको उद्घाटन उपसभापति निधिले गरेका थिए। त्यस क्रममा उनले विदेशमा रहेका पार्टीका कार्यकर्ता र नेताबाट नेपालले सिक्ने सक्ने सीप र ज्ञानलाई नेपालमा कार्यान्वयन गराउने सन्दर्भमा पार्टीले नीतिगत तहमै छलफल चलाउने चाहेको बताए।

महामन्त्री सशांक कोइरालाले सरकारका गतिविधिले नेपालको संघीयतालाई कमजोर बनाउने काम भइरहेको बताए। उनले सरकारले ल्याएको बजेटले समेत संघीयता कमजोर बनाउने संकेत गरेको बताए।

प्रशिक्षण कार्यक्रममा पार्टीको केन्द्रीय स्तरका नेतासहित २२ जनाको जम्बो टोली पुगेको छ। उनीहरुको आउजाउको टिकटको बन्दोबस्त पार्टीबाट र डेनमार्कमा रहँदा खानेबस्ने व्यवस्था स्थानीय जनसम्पर्क समितिबाट गरिएको प्रचार समितिका संयोजक ढकालले बताए।

‘टिकटको व्यवस्था पार्टीले गरेको हो, उहाँहरुले कसरी गर्नु भयो हामीलाई जानकारी भएन’ उनले भने, ‘डेनमार्कस्थित जनसम्पर्क समितिले खाने, बस्ने प्रबन्ध मात्रै गरेको हो।’ जनसम्पर्क समिति डेनमार्कका अध्यक्ष विरेन्द्रसि‌ंह कार्कीकाे सभापतित्वमा भएकाे प्रशिक्षण कार्यक्रम सोमबार सकिनेछ।

प्रकाशित : असार ७, २०७६ १७:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्