बैगंलुरुमा अपार्टमेन्ट भत्किँदा तीन नेपालीको मृत्यु

कान्तिपुर संवाददाता

नयाँ दिल्ली — दक्षिण भारतीय राज्य कर्नाटकको बैंगलुरुमा एक भवन भत्किँदा तीन नेपालीको मृत्यु भएको छ । मंगलबार बिहान बैगंलुरुको कस्टाउनस्थित चार तले अपार्टमेन्टको पहिलो तल्ला भासिँदा बझाङ थलरा गाउँपालिका-२, बगडाका २८ वर्षीय नारायण खडका, उनकी श्रीमती २३ वर्षीय निर्मला खडका र छोरी चार वर्षीय अनुष्का खडकाको मृत्यु भएको हो ।

निर्मल सोही भवनको अपार्टमेन्टमा विगत ६ वर्षदेखि सुरक्षागार्डको काम गर्दै आएका थिए । खड्का परिवार उक्त भवनको भुईं तल्लामा टेन्टले बारेर बस्दै आएका थिए ।

बुबा लक्ष्मण खड्का र आमा दीर्कमति खड्का पनि रोजगारीकै सिलसिलामा लागि नजिकै बस्दै आएका थिए । निर्मलका छोरा भने धनगढीमा अध्ययनरत छन् । घटनामा दुई भारतीय नागरिकको पनि मृत्यु भएको छ । अखिल भारत नेपाली एकता मञ्चका महासचिव शीतल मलातीकाअनुसार मृतकहरुको शव पोष्टमार्टमका लागि नजिकैको बोरिंग अस्पतालमा राखिएको छ ।
मृतकलाई उचित क्षतिपूर्ति र अर्पाटमेन्टका बिल्डरलाई कानुनी कारवाहीका लागि स्थानीय पुल्केसी थानामा एफआईआर दर्ता गरिएको मालतीले कान्तिपुरकालाई जानकारी दिए । ‘उचित क्षतिपूर्तिसहित कानुनी कारवाहीको माग गर्दै एफआईआर उजुरी गरिएको छ । र आवश्यक समन्वयका लागि दिल्लीस्थित दूतावासलाई पनि जानकारी गराइसकेका छौं,’ मालतीले भने ।

प्रकाशित : असार २६, २०७६ १५:००
प्रतिक्रिया
पठाउनुहोस्

दुर्घटनामा गाउँपालिका अध्यक्ष घाइते

कान्तिपुर संवाददाता

काठमाडौँ — धादिङबेंसीबाट सिद्दलेक गाउँपालिका कार्यालयतर्फ जाँदै गरेका सोही गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवाल घाइते भएका छन् । 

धादिङबेंसीतर्फ जाँदै गरेको बा१४च १६४४ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा बा९१प ३६३९ नम्बरको मोटरसाइकल चालक २३ वर्षीय धर्मराज सिलवाल र अध्यक्ष सिलवाल घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार जिपले उछिन्न खोज्दा मोटरसाइकललाई ठक्कर दिएको थियो ।

बोलेरोले मोटरसाइकललाई धेरै परसम्म तानेर लगेको प्रत्यक्षदर्शीले बताएका छन् । उक्त दुर्घटनापछि पनि उक्त जिप नरोकिकन अगाडि बढाएको घटनास्थलमा उद्धारमा संलग्न जीवन सिलवालले बताए । मोटसाइकलमा सवार भएका व्यक्तिले गाडीले ठक्कर दिएपछि अर्कोपट्टि लडेका कारण आफूहरु बाँच्न सफल भएको बताए ।

घाइते अध्यक्ष सिलवाललाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं ट्रमा अस्पतालमा पठाइएको छ । दुर्घटनापछि ठक्कर दिने गाडी र चालकलाई प्रहरीले हिरासतमा लिएको छ ।

प्रकाशित : असार २६, २०७६ १४:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्