सडक दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियाको राजधानी क्यानबेरा नजिक आइतबार भएको सडक दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ । 

अस्ट्रेलियाको परिचित पर्यटकीय क्षेत्र स्नोई माउण्टेनमा हिउँ खेल्न जाने क्रममा उनीहरुले चलाएको कार मोनारो हाइवेमा दुर्घटनामा परेको थियो।

क्यानबेरास्थित नेपाली दूतावासका अनुसार सिड्नीबाट शनिबार साँझ उक्त स्थानमा जान हिँडेका १५ जना साथीहरुमध्ये ५ जना दुर्घटनामा परेका थिए। अन्य १० जना क्यानबेरामै बसेका भए पनि खाना खाएर ५ जनाको समूह भने एउटै गाडीमा स्नोई माउण्टेनका लागि राति नै हिँडेको थियो।

दुर्घटनामा नेपाली विद्यार्थीद्वय समिक्षा सुवेदी र गोपाल भण्डारीको मृत्यु भएको अस्पतालमा उपचार गराइरहेका घाइते विद्यार्थीहरुलाई उद्धृत गर्दै दूतावासले जनाएको छ। ‘हामीले अहिलेसम्म प्रहरी तथा आधिकारिक स्रोतबाट मृतकको बारेमा पूर्ण जानकारी पाएका छैनौं तर सोही गाडीमा सवार घाइतेहरुका अनुसार दुई विद्यार्थीले ज्यान गुमाएका छन्,’ अस्ट्रेलियाका लागि नेपाली कार्यवाहक राजदूत द्रुपदा सापकोटाले कान्तिपुरसँग भनिन्।

उक्त घटनामा घाइते भएका अश्विन कँडेलका अनुसार क्यानबेराबाट करिब २ घण्टाको बाटोमा रहेको उक्त स्थानमा चाँडै पुग्ने उद्देश्यका साथ उनीहरु राति नै हिँडेका थिए। कँडेलले दुर्घटनाको समयमा आफू निदाएकोले तत्कालै केही थाहा नपाए पनि दुर्घटनापछि सहयोगका लागि आपतकालीन सेवालाई सम्पर्क गरेको बताए। ‘फोनको ब्याट्री पनि नभएकोले घाइते अन्य साथीहरुसँग मुख्य रोडमा चलिरहेको गाडी रोकेर सहयोग मागेर प्रहरीलाई जानकारी गराउन सफल भयौं,’ उनले कान्तिपुरलाई भने। बिदाको समयमा साथीहरु मिलेर हिउँ खेल्न शुक्रबार साँझ सिड्नीबाट स्नोई माउण्टेनका लागि उनीहरु ३ वटा गाडीमा हिँडेका थिए।

बिहान करिब ४ बजे भएको दुर्घटनामा सख्त घाइते दुईजनालाई हेलिकप्टरमार्फत उपचारका लागि क्याबेरा ल्याइएको थियो। उनीहरुको अवस्था खतरामुक्त रहेको बताइएको छ भने अर्का सामान्य घाइतेलाई घटनास्थल नजिकको कुमा अस्पतालमा उपचार गराइएको छ।

क्यानबेराबाट ९० किलोमिटर टाढा भएको दुर्घटनापछि क्यानबेरा अस्पताल ल्याइएका घाइतेहरुको अवस्था बुझ्न कार्यवाहक राजदूत सापकोटाका साथै एनआरएन एसिटीका प्रतिनिधिहरु समेत अस्पताल पुगेका थिए।
घाइतेहरुलाई भेटेपछि कार्यवाहक राजदूत सापकोटाले मृतकहरुको बारेमा प्रहरीबाट जानकारी लिने प्रयास भइरहेको र घाइतेहरुलाई आवश्यक सहयोग पुरयाउन दूतावास तयार रहेको बताइन्।

मृतकद्वयका साथै अन्य तीनजना सिड्नीको विश्वविद्यालयमा अध्ययन गरिरहेको बुझिएको छ। प्रहरीले दुर्घटनाको बारेमा अनुसन्धान गरिरहेको स्थानीय सञ्चारमाध्यम एबिसीले जनाएको छ।

प्रकाशित : श्रावण १२, २०७६ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्

किताबको जुलुस

कान्तिपुर संवाददाता

बाबु लुनिस, खाजा खान आऊ,’ खाजा तयार भएपछि आमाले लुनिसलाई बोलाउनुभयो  । तर लुनिस आएन, कुनै आवाज पनि आएन  ।

‘यत्रो बोलाउँदा पनि यसले किन नसुनेको ?’ आमा फतफताउँदै कोठामा जानुभयो । ‘ल, यो त यहाँ छैन त,’ कोठामा नदेखेर आमा कराउनुभयो, ‘हेर किताब पनि पलङमा छरपस्ट फालेर कहाँ गएको होला ? यसलाई आफ्नो किताबको मतलब नै छैन । यता फाल्यो, उता फाल्यो सब च्यातिसक्यो ।’


आमा किताब मिलाउन थाल्नुभयो ।दिन ढल्दै थियो । जब घाम डाँडामुनि लुक्यो तब लुनिस टुप्लुक्क घर आइपुग्यो । अनि आउनेबित्तिक्कै करायो, ‘आमा १ भोक लाग्यो ।’ ‘ए, भर्खरै भोक लाग्यो ? विद्यालयबाट फर्कनेबितिक्कै किताब फालेको छ । जतन गर्नुपर्दैन ?’ आमा कराउँदै भित्र गएर खाजा लिएर आउनुभयो, ‘लौ खाऊ ।’ लुनिस खाजा खान थाल्यो । खाजा खाएर कोठामा गयो र होमवर्क गर्न थाल्यो । उसले किताब पल्टायो तर पाना च्यातिएको रहेछ । ‘ल होमवर्क गर्ने पाना नै रहेनछ । अब कसरी होमवर्क गर्ने होला ?’ मनमनै यस्तो कुरा सोचेर ऊ आत्तियो, ‘भोलि फेरि कुखुरा बन्नुपर्ने भो ।’


नयाँ कक्षा सुरु भएको धेरै भएको छैन । तर लुनिसका किताबहरू पुरानाजस्तै भइसके । बीचको पाना पनि निस्किएको र च्यातिएको छ । आमाबुबाले किताबलाई जतन गर
भनेर कति सम्झाए तर उसले कहिल्यै टेरपुच्छर लाएन ।उसले आफूसँग रहेको पानाको मात्र होमवर्क गर्‍यो । होमवर्क गर्दागर्दै किताब छरपस्ट पारेर ऊ त्यहीँ भुसुक्क निदायो ।
राजु एक्लै थियो । तर त्यहाँ न घर थियो न त मानिसको कुनै चहलपहल नै । उसले त्यहाँ अचम्मको दृश्य देख्यो । पुस्तकहरू हातमा प्ले कार्ड बोकेर अगाडि बढिरहेका थिए । उनीहरूले नारा लगाइरहेका थिए । उनीहरूको लाम जुलुसमा परिणत भएको थियो र लुनिसको नजिक आइरहेका थिए । तिनीहरूले बोकेका प्ले कार्डमा ठुल्ठूला अक्षरमा लेखिएको थियो– ‘पुस्तकको सुरक्षा हुनैपर्छ’, ‘पुस्तक च्यात्न पाइँदैन’, ‘लुनिसलाई कारबाही हुनैपर्छ’, ‘सम्पूर्ण पुस्तक एक हौँ ।’


सारा पुस्तक एक भएर नाराबाजी गर्दै आइरहेको देखेर ऊ सार्‍है डरायो । त्यहाँबाट भाग्न खोज्यो । पुस्तकहरूले उनलाई लखेटे । ऊ एक्लै थियो । उसको निधारबाट चिटचिट पसिना आयो । चारैतिर पुस्तक नै पुस्तक थिए । उसले अब कुनै भाग्ने ठाउँ भेट्टाएन । पुस्तकहरू एकदम रिसाएका थिए । उनीहरू चिच्याए, ‘यसलाई धुलोपिठो पार्नुपर्छ ।’
लुनिस आत्तियो । ऊ बिस्तारै पुस्तकहरूको घेराभित्र परिसकेको थियो । उसलाई आफ्नो ज्यानको माया लाग्यो । उसले आँखाबाट बर्रर आँसु झार्‍यो । रुँदै हात जोड्यो र भन्यो, ‘पुस्तकहरू १ मलाई माफ गर । अबदेखि म तिमीहरूलाई च्यात्ने काम गर्दिनँ । तिमीहरूको हिफाजत गर्छु । तिमीहरूलाई फाल्दिनँ । एक पटकलाई माफ गर ।’
पुस्तकको भीडबाट एउटा पुस्तक करायो, ‘हुँदैन, हुँदैन । यसले हामीलाई धेरै दुःख दिएको छ । यसलाई त कडा कारबाही गर्नुपर्छ ।’
लुनिस रुँदै बिन्ती गरिरहेको थियो, ‘मलाई माफ गर । अबदेखि यस्तो काम गर्दिनँ । कुनै पुस्तक च्यात्दिनँ ।’
लुनिस निद्रामा एकनासले कराइरहेको थियो, ‘मलाई माफ गर । अबदेखि म किताब च्यात्दिनँ ।’
लुनिस कराएको सुनेर आमा दौड्दै भित्र पस्नुभयो र पाखुरा तानेर सोध्नुभयो, ‘बाबु, तिमीलाई के भो ? किन कराएको ?’
लुनिस निद्राबाट ब्युँझियो र आतिँदै भन्यो, ‘आमा १ मेरो किताब । अबदेखि म किताबलाई माया गर्छु ।’ लुनिसको कुरा सुनेर आमा छक्क पर्नुभयो । हतारहतार लुनिस छरपस्ट परेका आफ्ना किताब मिलाउन थाल्यो ।

श्यामकृष्ण खुलिमुली

प्रकाशित : श्रावण १२, २०७६ ११:५७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT