कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घुम्दै फिर्दै क्यानभास

काठमाडौँ — कहिले बुद्ध, कहिले हिमाली दृश्य त कहिले बस्ती–कन्दरा । चित्रकार बिके नरबहादुर हरेक वर्ष विभिन्न क्षेत्रमा गएर स्थलगत पेन्टिङ गर्ने गर्छन् । अनि एकमुस्ट रूपमा अंग्रेजी वर्षको अन्तिम दिन प्रदर्शनीमा राख्छन् ।

घुम्दै फिर्दै क्यानभास

२०१८ को अन्तिम दिन बिकेले चौधौं एकल प्रदर्शनी ठमेलस्थित मिथिला यें आर्ट ग्यालरीमा थालेका छन् । प्रदर्शनीमा सन् २००८ देखि २०१८ सम्मका कलाकृतिलाई छन् ।


घान्द्रुक, पोखरा, लुम्बिनी, परासी, चितवन, गुल्मी, दोलखा जस्ता सुगम स्थानका साथै अन्नपूर्ण सर्किट, सगरमाथा आधार शिविर जस्ता दुर्गम स्थानसम्म पुगेर बनाइएका छन् कृति हुन् ती । भारत, बंगलादेश, कोरिया, जापान, अफगानिस्तान, लिथुवानियाजस्ता देशमा गरेका स्थलगत चित्रहरू पनि प्रदर्शनीमा छन् ।


‘१० वर्षको विशेष कलात्मक सिर्जना यात्रालाई आम समुदायसमक्ष पुर्‍याउनु मेरो यस पालिको प्रदर्शनीको उद्देश्य हो,’ रङ, बु्रस लगायत छिटो चलाउने क्षमता भएका चित्रकारका रूपमा चिनिने बिकेले भने ।


बिके आफ्ना कलालाई दृश्यचित्र भन्न रुचाउँछन् । ‘फोटो हेरेर कुनै ठाउँको रहनसहन, वातावरण थाहा पाउन सकिन्न,’ उनले भने, ‘स्थलगत पेन्टिङ गर्दा निश्चित समयको भाव पनि त्यसमा झल्किन्छ ।×’

बिके २०–२५ मिनेटमै चित्र सिर्जना गरिभ्याउँछन् । दैनिक दुई–तीन वटा पेन्टिङ बनाउँछन् । कतै जाँदा झोलामा कलर र क्यानभास टुट्दैन । ‘पिकनिक गयो भने पनि प्राय: घुमेर पेन्टिङ बनाउन बसिहाल्छु,’ उनले सुनाए, ‘त्यहाँको मोमेन्ट क्याच गर्न मन लाग्छ ।’


स्थलगत पेन्टिङ गर्दा प्रकृति छिटछिटो परिवर्तन हुन्छ । यसले गर्दा कहिलेकाहीँ एक छिनअघिसम्म रातो देखिएको हिमाल रंग फिटदाफिटदै अर्कै भइसक्ने गर्छ, एकातिरका बादलहरू अर्कातिर पुगिसकेका हुन्छन् । ‘मलाई यस्तै चुनौती झेल्दै पेन्टिङ बनाउन मजा लाग्छ,’ उनले भने ।


प्रदर्शनीको उद्घाटनपछि कलाकार तथा कला समीक्षक रमेश खनालले बिकेका चित्रमा नेपालीपन रहेको बताएका थिए । प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार अच्युत मैनालीले समृद्ध नेपाल बनाउने अभियानमा कला क्षेत्रले पनि साथ दिनुपर्ने उल्लेख गर्दै कलाकारको हकहितका लागि राज्यले परिआएको सहयोग गर्ने आश्वासन दिएका थिए ।


कलाकार तथा कला लेखक केशवराज खनालले स्थलगत रूपमै कला सिर्जना गरेर प्रदर्शनी गर्ने क्षमता कमै कलाकारमा हुने र त्यस्ता प्रदर्शनी विशेष बन्ने गरेको टिप्पणी गरेका थिए । प्रदर्शनी पुस २१ सम्म चल्नेछ ।

प्रकाशित : पुस २०, २०७५ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?