कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नम्बर वान ‘मिस्टर झोले’

काठमाडौँ — गतवर्ष पुस अन्तिम साताबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘मिस्टर झोले’ हलमा लागेको ठीक एक वर्षपछि युटयुबमा रिलिज गरियो ।

नम्बर वान ‘मिस्टर झोले’

रामबाबु गुरुङको पटकथा लेखन तथा निर्देशन रहेको उक्त फिल्मले बक्सअफिस कलेक्सनमा भने आशातित सफलता हात पार्न सकेको थिएन ।


तर युटयुबमा फिल्म राखिएको एक साता नबित्दै झन्डै ३२ लाख भ्युजसहित नेपाल ट्रेन्डिङको पहिलो स्थानमा आएको छ । दयाहाङ राई, दिया पुन, प्रवीण खतिवडा, बुद्धि तामाङ, विजय बराललगायतको अभिनय रहेको उक्त फिल्मलाई युटयुबका अधिकांश दर्शकले भने रुचाएको प्रतिक्रिया दिएका छन् ।


फिल्मले झन्डै छ हजार कमेन्ट पाइसकेको छ । सुरज गुरुङले कमेन्टमा भनेका छन्, ‘स्थानीय कथामा उत्कृष्ट फिल्म । उत्कृष्ट दृश्य । मज्जा आयो फिल्म हेर्न । तर गीत त्यति राम्रो लागेन र गीतमा पनि स्थानीय लोकलाई स्थान दिएको भए अझै राम्रो हुन्थ्यो कि ?’ ‘मिस्टर झोले’ लाई हाइटेक इन्टरटेनमेन्ट च्यानलमार्फत युटयुबमा राखिएको हो ।


पछिल्लो समय नेपाली फिल्म हलमा कम चले पनि युटयुबमा भने गतिलै चल्न थालेका छन् । फिल्म युटयुबमा राखेको छोटै समयमा ट्रेन्डिङमा आउन थालेका छन् । बिहीबार मात्रै हाइलाइट्स नेपालको च्यानलमार्फत अर्को नेपाली फिल्म ‘लालटिन’ राखियो ।


यति बेला फिल्म युटयुबमा नेपाल ट्रेन्डिङको दोस्रो नम्बरमा आइपुगेको छ । झन्डै दस लाख भ्युज बटुलिसकेको उक्त फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुनजंग शाही, ए गुरुङ, भानु प्रताप, मेलिना मानन्धरलगायतको अभिनय रहेको यस फिल्मलाई पनि दर्शकले हलमा हेर्न खासै चासो देखाएका थिएनन् ।


हलमा उक्त फिल्म फ्लप भए पनि युटयुबमा भने यति बेला ट्रेन्डिङमा दोस्रो भएको हो । तर फिल्म हेरेपछिका प्रतिक्रिया भने खासै सन्तोषजनक भने आएका छैनन् । अधिकांश दयाहाङ राईका फयानले नै उनको स्तरअनुसारको फिल्म नभएको प्रतिक्रिया दिएका छन् ।


बिअर्ड लभर नामक हयान्डलबाट एक दर्शकले लेखेका छन्, ‘दया दाइ, हजुरले फिल्म खेल्दा राम्रोसँग बुझेर मात्र साइन गर्नुहोला । हजुरको भूमिकाले गर्दा मात्र मुभी हेरेको हो । अरू पात्रको अभिनय राम्रो छैन । हजुरलाई यस्तो बकवास मुभी खेल्न सुहाउँदैन ।’


यति बेला कमेडी सिरियलमा ‘भद्रगोल’ लाई खुबै रुचाइन्छ । यसका अधिकांश एपिसोड उल्लेख्य भ्युजसहित युटयुबको ट्रेन्डिङमा पर्ने गर्छन् । पछिल्लो एक सय ९१ औं भाग पनि युटयुबको नेपाल ट्रेन्डिङमा तेस्रो नम्बरमा आइपुगेको छ ।


मिडिया हबको युटयुब च्यानलमार्फत अपलोड हुने उक्त सिरियलले अपलोडको साता दिनमा १७ लाख बढी भ्युज बटुलेको छ । झन्डै २५ सय प्रतिक्रियामध्ये अधिकांशले ‘भद्रगोल’ मन परेको उल्लेख गरेका छन् ।


त्यसैगरी, चौथो स्थानमा बिहीबार मात्र युटयुब रिलिज गरिएको ‘वीरविक्रम २’ को गीत आइपुगेको छ । ‘देउता’ फिल्मको गीत ‘पिरतीको मिठो तिर्सना...’ लाई नै ताराप्रकाश लिम्बू र मेलिना राईको स्वरमा गवाएर रिमेक गरिएको उक्त गीतमा पल शाह, वर्षा शिवाकोटी र नाजिर हुसेनले नाचेका छन् ।


कविराज गहतराजको कोरियोग्राफीमा मुस्ताङको रमणीय दृश्यमा खिचिएको उक्त गीतलाई दुई दिनमै झन्डै दस लाख पटक युटयुबमा हेरिएको छ । ओएसआर डिजिटल च्यानलमार्फ अपलोड गरिएको उक्त गीतमा शनिबार साँझसम्म ४२ सय कमेन्ट्स आइसकेको छ ।


कमल तिवारी प्रतिक्रियामा लेख्छन्, ‘विदेशमा छायांकन गरिएका कुनै पनि फिल्म अनि गीतहरू भन्दा आफ्नै देशभित्र छायांकन गरिएका सर्वोत्कृष्ट लाग्छ हामीलाई । साह्रै राम्रो छ गीत अनि भिडियो ।’


युटयुबको नेपाल ट्रेन्डिङको पाँचौं नम्बरमा जितु नेपालको कमेडी सिरिज ‘मुन्द्रेको कमेडी क्लब’ को नवौं भाग अटाएको छ । आमा अग्नि कुमारी मिडियामार्फत चार दिनअघि अपलोड गरिएको उक्त भागलाई आठ लाखभन्दा बढी पटक हेरिएको छ । झन्डै २१ हजारले लाइक गरेको भिडियोलाई एक हजारले डिसलाइक बटन थिचेका छन् ।


जितु नेपालले स्टयान्डअप कमेडी पस्कने उक्त कमेडी सिरिज सञ्चालनको छोटो समयमै राम्रो चर्चा बटुल्न सफल छ । नवौं भागमा जितुले हालै मिस वल्र्डमा सहभागिता जनाएर फर्केकी मिस नेपाल शृखंला खतिवडालाई अतिथि बनाएका छन् । ‘मुन्द्रेको कमेडी क्बल’ मा अध्यक्षका रूपमा दीपाश्री निरौलासहित फुलन्देकी आमाले दर्शकलाई हँसाउने गर्छन् ।


युटयुब ट्रेन्डिङ

(शनिबार साँझसम्म)

१.फिल्म ‘मिस्टर झोले’

२.फिल्म ‘लालटिन’

३.टेलिसिरियल ‘भद्रगोल–९१’

४.फिल्म ‘वीरविक्रम २’ को गीत ‘पिरतीको मिठो तिर्सना...’

५.मुन्द्रेको कमेडी क्लब

प्रकाशित : पुस २२, २०७५ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?