कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उदाउँदो सूर्यलाई सलाम

एजेन्सी

काठमाडौँ — सोनम कपुरका लागि बितेको वर्ष सुखद रह्यो । ‘प्याडम्यान’ र ‘सन्जु’ को ठूलो सफलताले को–एक्टर सोनमलाई चर्चामा ल्यायो । यतिबेला भने उनी ‘एक लडकी को देखा तो ऐसा लगा’ को रिलिज प्रमोसनमा व्यस्त छिन् ।

उदाउँदो सूर्यलाई सलाम

जब–जब सोनम मिडियासामु देखा पर्छिन्, आक्रामक अभिव्यक्तिका कारण विवादमा पनि उत्तिकै तानिने गर्छिन् । खासगरी उनी सामाजिक मुद्दामा बोल्न बढी रुचाउँछिन् । यति बेला उनले मीटु अभियानबारे मुख खोलेकी छन् । उनले आफ्नी साथी यौन उत्पीडनमा परेको घटनाको खुलासा गरेकी हुन् । केही अघि पनि उनले दुई अति नजिकका साथीको फिल्म उद्योगमा शोषण भएको सुनाएकी थिइन् । तर पछि ती दुवै साथीले चुप बस्नुमै आफनो हित हुने ठाने । अहिले फेरि सोनम अर्की अभिनेत्री साथीको व्यथालाई बाहिर ल्याएकी हुन् ।


हालैको अन्तर्वार्तामा सोनमले भनेकी छन्, ‘उनी जिन्दगीभर पीडितको टयाग भिरेर बस्न चाहन्नन् । खास गरी बलिउड जस्तो उद्योगमा उदाउँदो सूर्यलाई सलाम गरिन्छ । ती एउटी महत्त्वाकांक्षी महिला हुन् तर उनको काँधमा सात भाइबहिनीको जिम्मेवारी पनि छ । त्यसैले पनि उनले आफूमाथि भएको यौन उत्पीडनलाई बरु सहेरै बस्नुमा ठीक ठानिन् ।’


सोनमको संकेत यति बेला आफ्नै फिल्म ‘एक लडकी को देखा तो ऐसा लगा’ का निर्मातामध्येका राजकुमार हिरानीप्रति लक्षित रहेको बुझ्न सकिन्छ । उक्त फिल्ममा सोनम आफ्ना बुबा अनिल कपुर र राजकुमार रावसँगै पर्दामा देखिन लागेकी छन् । पछिल्लो पटक उक्त फिल्मको पोष्टर रिलिज गर्दा भने हिरानीको नाम हटाइएको छ । यसको कारण, हिरानीलाई ‘सन्जु’ की सहायक निर्देशकलाई यौन हिंसा गरेको आरोप लाग्नु रहेको छ । त्यो आरोप बाहिर आउनुअघि नै विवादमुक्त हुन हिरानीको नाम पछिल्लो फिल्मबाट हटाइएको भनिएको हो ।


‘एक लडकी को देखा तो ऐसा लगा’ शैली चोपडाले निर्देशन गरेकी हुन् । यसलाई हिरानीसहित विधु विनोद चोपडाले संयुक्त रूपमा निर्माण गरेका हुन् । शैली विधुकी बहिनी हुन् । हिरानीले ‘सन्जु’ को पोष्ट प्रोडक्सनका क्रममा उक्त महिलामाथि यौन हिंसा गरेको बताइएको छ । हिरानीले भने आफूमाथि लागेको आरोप निराधार रहेको भन्दै खण्डन गरेका छन् ।


प्रकाशित : पुस ३०, २०७५ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?