कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीन दशकपछि मञ्चमा

दीपक परियार

लेखनाथ — तीन दशकअघि सरुभक्तले एउटा पाण्डुलिपि त्यसै थन्क्याए । बूढापाकाले सुनाउने तिलस्मी कथालाई दुरुस्तै उतारेसरि नाटक कापीका पानामा उतारियो, रंगमञ्चमा उतारिएन । सुन्नेलाई सुनको माला भएन । भन्नेलाई फूलको माला थिएन । कथा वैकुण्ठ गएन ।

तीन दशकपछि मञ्चमा

समय फेरियो, परिवेश उही । मानिस फेरिए, प्रवृत्ति उही । सरुभक्तलाई लाग्यो— नाटक अहिले पनि पुरानो भएको छैन । तीन दशकपछि त्यही नाटक ‘निरमाया’ ले मञ्च पायो । पोखरा थिएटरले मञ्चन गर्‍यो । परिवर्तन कार्कीले निर्देशन गरे । नाटकले परापूर्वकाल देखायो । त्यति बेला हुने अन्याय, अत्याचार महसुस गरायो । यौनपिपासुको चरित्र उदांगो बनायो । शासकका विरुद्ध विद्रोह बोल्यो ।


खोलाबाट मारेर ल्याएको माछा साहूलाई चढाएर मात्रै खानुपर्दा एउटा परिवार कस्तो मनोदशाबाट गुज्रिएला ? बोटमा पाकेको फल पहिले साहूकोमा पुर्‍याएर मात्रै उपभोग गर्नुपर्दा फलाउनेको मनमा के बित्ला ? संवादको भाषा बोल्ने नाटकले थुप्रै बिम्वमार्फत मनोभावलाई पनि प्रस्तुत गरेको छ । स–साना झुपडी, मयलले कटकटिएका कपडा लगाएका पात्र, आञ्चलिकता झल्किने बोलीचालीले नाटकलाई सय वर्षअघिको समयमा लैजान्छ ।


नाटकको मुख्य कथा शासकविरुद्धको विद्रोह भए पनि सहायक कथाले खुब मनोरञ्जन दिन्छन् । मुखिया, जिम्मुवालको रजगज, उत्पीडित जातिमाथिको थिचोमिचोलाई दुरुस्तै देखाएको छ । समाजमा महिला, दलितलाई हेरिने नजर नाटकले प्रस्टयाएको छ । पृष्ठभूमिमा बज्ने प्रत्यक्ष संगीत, पञ्जैबाजा र रत्यौलीले लोक परिवेशलाई टपक्कै टिपेको छ ।


केही गालीगलौज भने आपत्तिजनक छन् । नाटकले दशकअघि बनेको टेलिभिजन शृंखला ‘दलन’ सम्झाउँछ । त्यसो त ‘दलन’ मा सँगै काम गरेका प्रकाश घिमिरे, प्रमिला तुलाचन र नवराज गिरी ‘निरमाया’ मा पनि छन् । घिमिरे र तुलाचन पोखरामै रहेर रंगमञ्च र चलचित्रलाई निरन्तरता दिइरहेको छन् । गिरी केहीको समयको अन्तरालमा ‘निरमाया’ मार्फत झुल्किएका हुन् ।


गरिबी तथा शोषणले आक्रान्त ग्रामीण परिवेशको एक पात्रको अनुभव गर्ने अवसर प्राप्त भएकोमा हर्षित भएको घिमिरेले बताए । ‘यही परिवेश भोगेका ती निमुखा नरनारीहरूको भोगाइलाई अनुभूत गर्दा जिउँदै मरेको अनुभूति भएको छ,’ उनले भने, ‘क्रान्तिहरू किन हुँदा रहेछन् भन्ने यथार्थलाई नाटकले उजागर गरेको पाएको छु ।’


रेवन राई, बबिता मल्ल ठकुरी, अञ्जु दाहाल, निश्चल विमल, सोनिया कार्कीको अभिनय प्रशंसायोग्य छ । रमेशबाबु तिम्सिना, सूर्य सुवेदी, देव बस्नेत, गोविन्दरमण पराजुली, सन्दीप पाण्डे, ईश्वर कार्की, प्रतीक घिमिरे, मनीषा थापा, पार्वती थापा, धनबहादुर गायक, हरिबहादुर परियार, विनोद गायक, सौरभ तिम्सिना, विश्वराज पौडेल, विष्णु तिम्सिनाको अभिनय पनि नाटकमा हेर्न पाइन्छ ।

नेपालमा धेरैपल्ट विभिन्नखाले क्रान्ति भए पनि मूल रूप सामन्तवाद आज पनि उस्तै रहेको परिवर्तनले बताए । ‘यो नाटक हेरेपछि समाजमा व्याप्त असमानताहरूमाथि पुनर्विचार गर्न ऊर्जा मिल्छ,’ उनले भने ।


सरुभक्तले गरिब, शोषित, दलित, यौनपीडित यही समाजको नांगो यथार्थलाई अभिव्यक्त गर्ने अभिप्रायले ‘निरमाया’ सिर्जना भएको बताए । भने, ‘सामन्ती अवशेषको माथिल्लो चरणदेखि गरिबी निमुखाहरूले बसोबास गर्ने साना गाउँघरसम्म परिस्थिति यही छ । समकालीन परिवेशमा नाटकले यथास्थितिको विरोध गर्न एकपल्ट सोच्न प्रेरित गरोस् भन्ने मेरो चाहना छ ।’


पोखरा थिएटरको प्रस्तुतिमा मञ्चन भएको भने यो पाँचांै नाटक हो, जुन माघ १२ सम्म मञ्चन हुनेछ ।

प्रकाशित : माघ ९, २०७५ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?