कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फूलको थुँगासँगै तारादेवीको सम्झना 

काठमाडौँ — नेपाली सांगीतिक क्षेत्रमा थुप्रै गीत आए र बिलाए । केही गीत मात्रै सदाबहार छन् । यस्तै सदाबहार गीत गाउनेमध्येकी हुन्, तारादेवी । तारादेवीले गाएका गीतहरू अहिले पनि उत्तिकै रुचाइन्छन् ।

फूलको थुँगासँगै तारादेवीको सम्झना 

उनको गायकी अनुसरण गर्दै पछिल्ला पुस्ताहरूले निकालेका कभर सङ पनि लोकप्रिय छन् । उनै स्वरकिन्नरीको तेह्रौं स्मृति दिवस अवसरमा नयाँ तथा पुराना गायकगायिकाहरूले बुधबार तिनै कालजयी गीतहरूमा स्वर भरे ।


तारादेवी स्मृति फाउन्डेसनद्वारा राष्ट्रिय सभागृहमा आयोजित ‘सम्झनामा तारादेवी’ समारोहमा गायिका संगीता शाक्यले ‘फूलको थुंगा बहेर गयो’ गाउँदै गर्दा धेरै दर्शकश्रोता भावुक बने । शाक्यले गीत गाइसकेपछि धेरैले ‘वान्स मोर’ भने । त्यसपछि गायिका ज्ञानु राणाले ‘टाढाबाट बोलाएको तिमीलाई नै हो मैले’ गाइन् भने मीरा राणाले ‘कालीपारि दाइ कति राम्रो’ सुनाइन् । आस्था कला केन्द्रका कलाकारहरूले ‘शुभकामना भरी’ गाए ।


गत वर्षको कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले तारादेवी स्मृति फाउन्डेसनलाई दस लाख रुपैयाँ सहयोग गर्ने वाचा गरेका थिए । यस वर्ष शाक्यले दस लाखको चेक फाउन्डेसनका अध्यक्ष दीपक केसीलाई हस्तान्तरण गरे ।


‘तारादेवीले संगीतमार्फत नेपाललाई दिएको पुँजीको अगाडि यो रकम सानो हो,’ मेयर शाक्यले भने, ‘सम्पदा र पूर्वाधारको क्षेत्रसँगै खेलकुद र संगीतको क्षेत्रलाई पनि समृद्ध बनाउने महानगरपालिकाको उद्देश्य छ । नारायणगोपाल पेमला सुरमय गीत गंगा निर्माणका लागि पनि तीन करोड बजेट विनियोजन गरी यसै वर्षदेखि काम सुरु गर्नेछौँ ।’


केहीले तारादेवीसँगको सम्झना साटे । गीतकार राजेन्द्र थापाका अनुसार तारादेवीको मुख्य विशेषता नै सरलता थियो । आजका गायकगायिकामा त्यो सरलता नभेटिने दाबी गर्दै उनले नेपाली सांगीतिक क्षेत्र तारादेवीको कालखण्ड नहाले पूर्ण नहुने बताए ।


संगीतकार राजु सिंहले तारादेवीले गाएका गीतहरूलाई नेपाली गीतसंगीतको मापदण्डका रूपमा लिन सकिने सुनाए । फाउन्डेसन अध्यक्ष दीपकले कार्यक्रम गरेर तारादेवी जस्तो कोहिनूर हीरामा लागेको धूलो पुस्ने काम गरेको बताए । तारादेवीले रेडियो नेपाल, नेपाल टेलिभिजनमा काम गरेकाले ती संस्थाले पनि बेलाबेला सम्झिनुपर्ने उनले औँल्याए ।


कार्यक्रममा गायिका गीता पाण्डेले ‘वनको आगो निभाउने बादल’, सरिता शाहीले ‘अमर माया छोडेर जाने’, जिना रसाइलीले ‘नौसय खोला तरेर’, निकिता घिमिरेले ‘फूलैफूलको मौसम तिमीलाई’ र आरती गोलेले ‘वनमा फुल्यो फूलैफूल’ लगायत गीतहरू गाए ।

प्रकाशित : माघ १०, २०७५ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?