आरम्भ डबली ‘अब नरोकिने’

प्रदीप मेन्याङबो

सुनसरी — दर्जनौं नटक मञ्चन र अनेक कलाकार जन्माए पनि आरम्भ नाट्य डबली आर्थिक अभाव, कलाकार पलायन जस्ता कारणले थिलथिलिएको थियो । आफ्नो तीसौं स्थापना दिवसमा आरम्भ लामो समयपछि नाटक लिएर पुस अन्तिम साता देखा परेको थियो ।

रंगमञ्च पारखीहरूलाई खुसीको खबर ! आरम्भले अब मासिक रूपमा नाटक मञ्चन गर्ने भएको छ । पूर्वको रंगमञ्चमा खडेरी आएका बेला यस्तो घोषणा गर्दै आरम्भका अध्यक्ष तथा नाट्य निर्देशक गोपाल देवानले भनेका छन्, ‘धरान र धराने रंगमञ्चलाई विगतमा झैं फेरि राष्ट्रिय रंगकर्मको आधारशिविर बनाएर नियमित नाटक मञ्चन गर्ने संकल्प गरेका छौं ।’

रंगमञ्चको दुनियाँमा समाज निर्माणकै लागि प्रयास गरिरहेको उनले बताए । दर्जनौं नाटक मञ्चन र अनेक कलाकार जन्माएको आरम्भले सिर्जनशीलतालाई व्यवसायीकरण गर्न चुकेको अनुभवलाई पाठका रूपमा सम्झिने पनि उनले सुनाए । ‘पछिल्लो समयमा नयाँ कलाकार पनि जन्मिएकाले हामी आधुनिक प्रविधि र साजसज्जासाथ दर्शकश्रोतामाझ आउने तयारीमा जुटेका छौं,’ उनले भने ।

धरानमा नाटक मञ्चनको इतिहासविसं १९९७ सालसम्म पुग्छ । दुई दशक अघिसम्म नेपाल प्रज्ञा प्रतिष्ठानसँग समानान्तर रूपमा नाटक प्रदर्शन गरे पनि सुविधायुक्त रंगमञ्चीय हल वा नाटक घर भने धरानमा निर्माण भएको छैन । देवानभन्छन्, ‘काठमाडांैलाई रंगमञ्चमा चुनौतीदिने धरानसँग सुविधायुक्त हल नहुनुअत्यन्त दु:खद र दुर्भाग्यपूर्ण स्थिति हो । यसमा राज्यको नकारात्मक सोचले मुख्य भूमिका खेलेको छ । तैपनि हामीले हार मानेका छैनौं ।’

धरानको रंगमञ्चबाटै नवीन सुब्बा, प्रेम सुब्बा, शोभा खजुम, शारदा सुब्बा, शारदा शाक्य, शशि थापा सुब्बा, सुरज नाल्बो, सुरज थापा, नवीन मेन्याङबो, राजेन्द्र रिमाल, अल्पना कर्माचार्य, विनोद तखाछे, कुलचन्द्र न्यौपानेलगायत फिल्मी कलाकार र निर्देशकसम्म भएर उदाए । आरम्भले प्रज्ञा प्रतिष्ठान र पूर्वका विभिन्न हलमा ‘आदि बिनाको अन्त्य’, ‘अधुरो क्यानभास’, ‘त्याग’, ‘पृथक् पृथक् खोजहरू’, ‘अब बाँसुरी बज्दैन’, ‘यिनीहरू देश खोजिरहेछन्’ जस्ता नाटक मञ्चन गरेको थियो ।

राज्यले साहित्य, कला र रंगमञ्चलाई अनुत्पादक र आफ्नो विरोधी सत्ता मान्ने गरेको भन्दै देवान पछिल्लो राजनीतिक परिवर्तनपछि कलाकारमा आशा पलाएको बताउँछन् ।

आरम्भले स्थापना दिवसमा हालै ‘यातनाको अन्त्य’ नाटक प्रदर्शन गरेको थियो । टिकट दुई सय रुपैयाँ राखिए पनि होटल रत्नहिनको दुई सय जनाक्षमताको हलमा उक्त नाटक पहिलो पटक ‘हाउसफुल’ भएको थियो । दर्शकश्रोताकै अनुरोधमा माघ ११ मा फेरि दुई सो मञ्चन गरिएको थियो ।

प्रकाशित : माघ २४, २०७५ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्

‘आयरल्यान्डसँगको सीमामा कडाइ’

एपी

लन्डन — बेलायती प्रधानमन्त्री टेरेजा मेले युरोपेली युनियन (ईयू)बाट अलग्गिने (ब्रेक्जिट) गरी यसअघि भएको सम्झौतामा परिमार्जन गर्न चाहेको बताएकी छन् । 

उत्तरी आयरल्यान्डका व्यापारिक नेतालाई सम्बोधन गर्दै प्रधानमन्त्री मेले सम्झौतामा सबैभन्दा विवादास्पद मानिएको इयू–आइरिस सीमालाई केही समय खुला गर्नेसम्बन्धी प्रावधानलाई पूर्णरूपमा हटाउन आफूले पहल गर्ने बताइन् ।

उनले सरकार ईयूको सदस्य राष्ट्र आयरल्यान्ड र बेलायतको उत्तरी आयरल्यान्डबीच भौतिक सीमाको पक्षमा नरहेको उल्लेख गरिन् । उत्तरी आयरल्यान्डको बेल्फास्ट भ्रमणमा रहेकी उनले उत्तरी आयरल्यान्ड र आयरल्यान्डबीचको सीमामा कडा प्रावधान नराखिने तर सीमा व्यवस्था नयाँ ढङ्गबाट गर्नुपर्ने विचार राखिन् ।

उनले सन् १९९८ मा सम्पन्न गुड फ्राइडे सम्झौताप्रति बेलायत सरकारको पूर्णसमर्थन रहेकामा समेत जोड दिइन् । उक्त सम्झौताकै कारण उत्तरी आयरल्यान्डमा एक दशकभन्दा बढी चलेको हिंसात्मक घटना साम्य भएको थियो ।

बेलायतले आगामी मार्च २९ मा ईयू छाड्दै छ तर बहिर्गमन सम्झौता बेलायती संसद्बाट स्वीकृत भएको छैन । बेलायती संसद्ले प्रधानमन्त्री मेको यसअघिको प्रस्तावलाई गत महिना भारी बहुमतले अस्वीकृत गरेको थियो ।

आयरल्यान्ड र उत्तरी आयरल्यान्डको सीमाको व्यवस्थापनका विषयमा बेलायती संसद्मा अझै मतैक्य हुन सकेको छैन । यही सीमा विवादका कारण दशकौंसम्म हिंसात्मक घटना भएका थिए ।

प्रकाशित : माघ २४, २०७५ ०८:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्