कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आँखैअघि दा भिन्ची

राजु घिसिङ

म्युनिख — मोनालिसा र साल्भाटोर मुन्डी त लियोनार्दो दा भिन्चीका महानतम कलाकृति भइगए, तीबाहेक पनि उनका थुप्रै ‘मास्टरपिस’ छन्, जसका लागि कलाको लिलामी बजार हरेकपल्ट उचालिने गर्छ । तर, लिलामीमा उनका कला विरलै उपलब्ध हुन्छन् ।

आँखैअघि दा भिन्ची

मोनालिसा र साल्भाटोर मुन्डी फ्लोरेन्सको पुनर्जागरण युगका पेन्टिङ हुन् । त्यही युगमा दा भिन्चीले बनाएका ‘म्याडोना अफ द कार्नेसन’ लाई हालै जर्मनीको म्युनिखस्थित आल्टे पिनाकोठेमा विशेष प्रदर्शनीमा राखिएको थियो, ‘फ्लोरेन्स एन्ड इट्स पेन्टर्स’ शीर्षकमा ।


हालैको दिन प्रदर्शनीमा पुग्दा कलापारखीहरूको चासो लोभलाग्दो थियो । यतिसम्म कि, प्रदर्शनी अक्टोबर २०१८ देखि जनवरी २०१९ सम्म तोकिएको भए पनि कलापारखीको माग भएपछि प्रदर्शनी एक साता थपिएको थियो ।

आधुनिक कलाको पुनर्जागरण युग कस्तो थियो भन्ने नै फ्लोरेन्स कला प्रदर्शनीको मुख्य विषयवस्तु थियो ।


जहाँ गिटो, आन्द्रे डेल भेरोचियोदेखि दा भिन्चीसम्मका बेलायत, अमेरिका, फ्रान्स लगायतमा रहेका थुप्रै संग्रहालयबाट ल्याइएका १ सय २० चित्रकला थिए । उनीहरूसहित डोनाटेलो, फ्रा एन्गेलिको, फिलिप्पो लिप्पी, पोलाइओलो, बोटिसेली, गिरलान्डाइओ लगायतका पेन्टिङ, ड्रइङ र मूर्तिकला प्रदर्शनीमा थिए ।


‘भिन्चीदेखि उनका गुरुसम्मको कला एउटै प्रदर्शनीमा हेर्न पाउनु भाग्य नै हो,’ दोस्रोपल्ट फ्लोरेन्स कला प्रदर्शनी नियालेकी म्युनिखकी इभेटले भनिन्, ‘यस्तो अवसर विरलै पाइन्छ ।’


म्युनिखको हिउँ र सिरेटो छल्दै संग्रहालय पुगेर पनि युरो १२ को टिकट किन्न पनि लाइनै बस्नुपर्ने अवस्था थियो । प्रदर्शनी हलमा प्रवेश गरेपछि भने वातावरण भिन्न थियो । जर्मन र अंग्रेजी भाषामा राखिएका पेन्टिङ र पेन्टरबारे जानकारी अनुसार, आधुनिक कलाको पुनर्जागरण युगका कला विशेषत: जिसस क्राइस्ट र इसाई किंवदन्तीबाट प्रभावित थिए । अनि दरबार, पादरी र थोरै मात्रै सर्वसाधरणसम्म पुगेका । फिलिप्पो लिप्पी र डेभिड गिरलान्डाइओले बनाएका फ्लोरेन्सका युवायुवतीका मुहारचित्रमा धेरै दर्शक अडिएका थिए ।


दा भिन्चीका गुरु भेरोचिनोसम्मकै कला आल्टे पिनाकोठेमा राखिएको भए पनि अत्यधिक दर्शक प्रदर्शनी हलको मध्यभागमा पुगेपछि टक्क अडिए, जहाँ भिन्चीको ‘म्याडोना अफ द कार्नेसन’ सजाइएको थियो । पुनर्जागरण युगका चर्चित चित्रकारहरूका ठूलठूला कलाले भित्ता भरिएको भए पनि सबैको ध्यान ६२ गुणा ४७.५ सेन्टिमिटरको उक्त चित्रमा अडिएको थियो, एउटी आमा र काखमा रहेका शिशु जिससको चित्रमा । यसमा आमाले तल र छोराले माथि हेरे पनि दुई चरित्रको आँखाजुधाइ देखिँदैन । एउटा कोठालाई आधार बनाइएको यस चित्रमा झ्यालबाहिर क्षितिज पनि लोभलाग्दो रूपमा देखाउने दा भिन्चीको कलात्मक ट्रेडमार्क कायमै छ ।


कला समीक्षकहरूले सुरुमा म्याडोना अफ द कार्नेसनलाई दा भिन्चीको सिर्जना मानेका थिएनन् । उनका गुरु भेरोचियोको पेन्टिङ भएको दाबी गरिएको थियो । यसमा कहींकतै दा भिन्चीको हस्ताक्षर, नाम वा जनाउ दिने त्यस्तो केही पाइँदैन । तर, लामो अध्ययन र खोजपछि इतिहासकारहरू यो कला दा भिन्चीकै भएकोमा एकमत भए ।


आल्टे पिनाकोठेमा दा भिन्चीका तीन ड्रइङ पनि प्रदर्शनीमा थिए । पेन्टिङमा उतार्नुअघिका ती खाकामा शिशु जिसससँगै घोडाले पनि स्थान पाएको थियो ।


चित्रकलाको फ्लोरेन्स युग

आधुनिक कलाको पुनर्जारण युगमा इटालीलाई सबभन्दा महत्त्वपूर्ण मानिन्छ । त्यसमा पनि फ्लोरेन्सलाई । पन्ध्रौं शताब्दीमा मेडिसी परिवार सत्तामा रहेको अवधिलाई युरोपमा कला पुनर्जागरणको आधार मानिन्छ ।


त्यस बेला चित्र र मूर्तिकलामा ठूलै परिवर्तन भएको थियो । दरबार र चर्चको वरिपरि सीमित रहेको कला सर्वसाधारणसम्मै पुगेको थियो । गिटोदेखि लियोनार्दो दा भिन्ची यही समयका कलाकार हुन् ।


दा भिन्चीका गुरु भेरोचियोले सन् १४६६ देखि १४७६ सम्म फ्लोरेन्समा गरेका कार्यशालालाई कला पुनर्जागरण युगको लागि महत्त्वपूर्ण खुडकिलो मानिन्छ । भिन्ची बहुमुखी व्यक्तित्व हुन् । आर्किटेक्ट पनि रहेका पेन्टिङ, ड्रइङ, मूर्ति बनाउने, आविष्कार, अन्वेषण, संगीत, भूगर्भ, गाणितीय तथा चिकित्सा क्षेत्रमा नवीन खोज, अनुसन्धानलगायत उनले के मात्रै गरेनन् ? चित्रकलामै पनि उनलाई विश्वकै महान् मानिन्छ ।


दा भिन्चीको सबभन्दा प्रख्यात चित्र मोनालिसा हो, जुन फ्रान्सको लुभ्र संग्रहालयमा राखिएको छ । मोनालिसाको बिमाको मूल्य मात्रै सन् १९६२ मा १० करोड अमेरिकी डलर थियो । २०१८ मा आइपुग्दा यसको बिमा मूल्यांकन ८२ करोड १७ लाख डलरभन्दा बढी भएको बताइएको छ । लिलामीमा राख्ने हो भने विश्वकै सबभन्दा महँगो कला नै मोनालिसा हुने लगभग निश्चित छ ।


बुलेट प्रुफ फ्रेममा राखिएको मोनालिसालाई कहिल्यै लिलामीमा नल्याए पनि विश्वको सबभन्दा महँगा चित्र दा भिन्चीकै हुन् । उनले बनाएको जिसस क्राइस्टको पोट्रेट साल्भाटोर मुन्डी नोभेम्बर २०१७ मा न्युयोर्कमा भएको लिलामीमा ४५ करोड डलरमा बिक्री भएको थियो ।


यसको मूल्य २००५ मा १० हजार मात्र थियो । त्यसअघि त कौडीको भाउमा भने पनि हुन्छ किनभने यो चित्र सन् १९५८ मा लन्डनमा केवल ४५ पाउन्डमा बिक्री गरिएको थियो ।

प्रकाशित : माघ २९, २०७५ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?