कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चित्रमा तन्त्र

‘आधुनिकतालाई अपनाउन परम्परालाई बेवास्ता गर्नैपर्दैन । परम्परालाई प्रेम गर्दै पनि आधुनिक बन्न सकिन्छ ।’
कान्तिपुर संवाददाता

ललितपुर — ललितपुरलाई कलासंस्कृति मात्रै नभई ‘तन्त्रको सहर’ का रूपमा पनि चिनिन्छ । यहाँ अनेक प्रभावशाली तान्त्रिक अझै छन् । हरिसिद्धि जात्रा तान्त्रिक विधिविधानबाटै सञ्चालन हुँदै आएको छ । ललितपुरको यही पाटोलाई उजिल्याउन चित्रकार अजय देशार अघि सरेका छन् ।

चित्रमा तन्त्र

पाटन संग्रहालयमा उनको ‘अलौरिङ डिभाइन’ शीर्षक एकल प्रदर्शनी चलिरहेको छ । योङ पिकासोको पहलमा भएको प्रदर्शनीमा उनले आफ्ना सबै चित्रकृतिमा तन्त्रलाई स्थान दिएका छन् ।


ललितपुरकै चापागाउँका अजयले बच्चैदेखि हरिसिद्धिको जात्रा हेर्दै आएका छन् । त्यसमा बजाइने बाजा अन्य जात्रामा भन्दा फरक हुन्छ । उपत्यकाका अधिकांश जात्रा अवलोकन गर्ने गरेका उनले भने, ‘यहाँ बाजा पनि तान्त्रिक हिसाबमै बज्छ, बोलहरू पनि तान्त्रिक हिसाबका हुन्छन् । यहाँ बजाइने धुन अरू जात्राका धुनसित मिल्दैन । नजिकै बसेर सुन्दा गायकी र धुनले सम्मोहित बनाएको भान हुन्छ ।’


प्रदर्शनीमा उनलाई ‘तान्त्रिक शक्ति’ शीर्षकमा पेन्टिङ बनाउन तीन/चार दिन लागेको थियो । त्यसबारे अध्ययन गर्न भने लामो समय लागेको उनले सुनाए ।


उपत्यकामा जात्राहरू धेरै छन् र त्यस जात्राबारे अध्ययन पनि गरिएको छ । तर जात्रामा आवश्यक व्यक्तिको अध्ययन हुन नसकेको लाग्छ अजयलाई । उनले जात्राहरू नियाल्दै गर्दा ‘चिलाग:’ (चिराग/आगो) बोक्ने मानिसलाई पछ्याए । प्राय: जात्रामा चिलाग: बोक्ने विशेष व्यक्ति नै हुन्छन् । चिलाग: बोक्नेले जात्राभरि आगो निभ्न दिँदैनन् । जात्रा सुरु र अन्त्य भएको घोषणा यही चिलाग:बाट हुन्छ । तर अहिले आधुनिक बत्तीको उपलब्धता बढेसँगै चिलाग: बोक्ने व्यक्ति ओझेलमा परेका छन् ।


त्यस्ता व्यक्तिलाई पनि अजयले क्यानभासमा ठाउँ दिएका छन्, ‘हिरो बिहाइन्ड द सिन’ र ‘हिरो अफ द जात्रा’ शीर्षक दुई पेन्टिङमा । ‘अचेल सबैतिर कामचलाउ प्रवृत्ति भएकाले जात्रामा त्यस्ता मानिसको आवश्यकतै रहेन,’ उनले भने, ‘त्यस्ता मानिसले अहिले कतै कुनाकाप्चामा बसेर जात्रा हेरिरहेका हुन्छन्, तर तिनलाई कसैले हेर्दैनन् । अहिले त तिनले प्रयोग गर्ने भाँडा पनि विस्थापित भएका छन् । अचेल टिनलाई कुच्याएर त्यसमा आगो राख्ने गरिएको छ । कतैकतै त तेल पनि प्लास्टिकको बोतलमा राख्ने गरिएको छ ।’


जात्रामा मानिसहरूले लगाउने पहिरन पनि परिवर्तन भएको उनले पाएका छन् । ‘अहिले परम्परागत लुगा लगाइँदैन,’ उनले भने, ‘आधुनिकता अपनाउन परम्परालाई बेवास्ता गर्नैपर्दैन । परम्परालाई प्रेम गर्दै पनि आधुनिक बन्न सकिन्छ ।’


अजयले आफ्ना चित्रकृतिमा आफ्नै वरपरका यस्तै बेवास्ता भएका विषयलाई समेट्ने कोसिस गरेका छन् । भविष्यका पुस्तालाई आफ्नो संस्कृतिबारे जानकारी गराउन पनि त्यसलाई बचाउनुपर्ने भन्दै उनले थपे, ‘संस्कृति भनेका हाम्रा अमूल्य सम्पत्ति हुन् भनी चिनाउन यो प्रदर्शनी गरेको हुँ ।’


भूकम्पमा विनाश भएका तोरण र टुँडाललाई पनि उनले पेन्टिङमा उतारेका छन् । उनले यस पटक ढुंगामा पनि पेन्टिङ बनाएका छन् । ‘क्यानभास मक्किन सक्छ, कपडाको आयु सकिन सक्छ,’ उनले भने, ‘घरनजिकको चोकमा छाप्न ल्याइएका ढुंगाको थुप्रोमा राम्रा ढुंगा पनि देखेँ र त्यसैमा ट्राई गरेँ । ढुंगा किराले खाँदैन । कलरको आयु जति छ, चित्र त्यति नै टिक्छ ।’


उनको अर्काे पेन्टिङमा भैरवको जात्रा देखिन्छ, जहाँ घ्याम्पोमा जाँड राखेर खाने चलन छ । दुई सयदेखि तीन सय लिटरको जाँड राखिएको हुन्छ । चाख्न चाहनेहरूको ताँती हुन्छ । काठमाडौंमा भैरवको मुखबाटै पाइप राखेर जाँड बगाइएको हुन्छ । लेलेबाट चापागाउँसम्म मानिसहरूले बोकेरै ल्याइएको हुन्छ ।


‘अहिले जाँडलाई नेगेटिभ रूपमा लिइने गरेको छ,’ अजयले भने, ‘ठीक अनुपातमा खायो भने यसले औषधिको काम गर्ने रहेछ भनेर जात्राले प्रमाणित गरिदिएको छ । परापूर्वकालदेखि चल्दै आएको यो संस्कृतिलाई गलत तरिकाले प्रयोग गर्‍यो भने विष पनि बन्न सक्छ । तर जात्रामा यसको एक चम्चा खानको लागि पनि लाइन लाग्छ । यस्ता परम्परा जोगाउनुपर्छ ।’ प्रदर्शनी आइतबारसम्म चल्नेछ ।

प्रकाशित : फाल्गुन ३, २०७५ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?