कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनि घर फाट्यो

दुर्गालाल केसी

दाङ — थारू समुदायमा सामूहिक परिवार प्रणाली छ । एउटै घरमा २५ देखि ५० जना सदस्यसम्म बस्ने चलन थियो । भाइभाइ मिलेर बस्ने, मिलेर खेतीपाती गर्ने र अंशबन्डा नगर्ने पुरानो परम्परा हो । तर, अहिले बढो सहरीकरण, उच्च महत्त्वाकांक्षा र व्यक्तिगत स्वार्थका कारण कलह बढ्ने र घर फाटने चलन सुरु भएको छ । अर्थात्, मिलेर बसेको घरपरिवार अब विखण्डनतिर गइरहेको छ ।

अनि घर फाट्यो

यही कथामा आधारित नाटक ‘करोट’ घोराही र तुलसीपुरमा मञ्चन गरिएको छ ।


थारू समाजको चित्रण गरेर ख्याल बगालले तयार पारेको नाटक थारू बाहुल्य दाङमा प्रदर्शन गर्दा धेरैले आफ्नो समाज बुझ्न पाएका छन् । यसअघि काठमाडौंको सर्वनाम थिएटरमा प्रदर्शन भइसकेको ‘करोट’ पहिलो पटक मोफसल छिरेको हो । व्यवस्थित नाटयघर नभए पनि स्थानीय स्रोतसाधनबाट थिएटर बनाएर मञ्चन गरिएको हो । ‘करोट’ को अर्थ थारू भाषामा ‘कोल्टो फेर्नु’ हो । थारू घरपरिवार र समाजको जीवनशैलीमा आएको परिवर्तन अर्थात् थारू समुदायको कोल्टो फेराइलाई नाटकमा देखाइएको छ ।


मिलेर बसेका दुई दाजुभाइको परिवार सानो स्वार्थका कारण कसरी टुक्रिन पुग्छ भन्नेमा नाटक केन्द्रित छ । परिवारमा एकल महिला, दुई छोरा र दुई बुहारी छन् । मिलेर घर बनाउँछन्, खेतीपाती गर्छन्, बारी जोत्छन्, गोडेमेल गर्छन् । जेठो छोराको एक मात्र छोरीलाई सबैले माया गरेर खेलाउँछन् । दुई भाइ र बुहारीले छोरीको हेरचाह गर्छन् । आमा पनि छोराबुहारीको मेलमिलाप र मिहिनेत देखेर साह्रै खुसी छन् । एक दिन खेतमा काम गर्ने क्रममा कान्छी बुहारीले सुन भेट्टाएपछि कथाले कोल्टो फेर्न थाल्छ । सुन देखेपछि कान्छा छोरामा लोभ जाग्छ । सुन बेचेर पैसा कमाउने, बजारमा बस्ने, छोराछोरीलाई राम्रो स्कुलमा पढाउने सपना देख्छन् ।


गाउँमा दु:ख नगर्ने योजना अनुसार उनी घरमा सानासाना कुरामा पनि दाइसँग निहुँ खोज्न थाल्छन् । यस्तै कुरामा झगडा बढ्छ र अन्त्यमा घर फाटछ । छोराहरूको झगडा र पारिवारिक विखण्डन देखेर आमा रुवाबासी गर्छिन् । पीरले रातभर सुत्दिनन् । जेठो छोरा, बुहारी, कान्छी बुहारी पनि परिवारबाट एक्लिएकामा चिन्ता बढ्छ । छोराहरूको बेमेलका कारण साह्रै मर्माहत भएकी आमा बिरामी परेर थलिन्छिन् ।


अन्त्यमा जेठो छोराको परिवार बिरामी आमालाई बोकेर घरबाट निस्किन्छ । त्यो सबै हालत देखेर कान्छी बुहारी पनि घरबाट निस्किन्छिन् । सबैले घर छोडेपछि एक्लिएका कान्छा छोरा अन्त्यमा पश्चात्तापको रापले जल्छन् । जोडले रुन्छन् । भेट्टाएको सुन नदी किनारमा गएर फ्याँकिदिन्छन् । आफू पनि नदीमा हाम फाल्छन् ।


नाटक दु:खान्त छ । धेरै दृश्य मार्मिक छन् । घरपरिवारको बेमेल र आमाको पिरलोले सबैको मन छुन्छ । थारू समुदायका परम्परागत संस्कृति झल्किने विभिन्न दृश्य नाटकमा छन् । नाटकको मञ्च पनि थारू घरको झल्को दिने गरी सेटिङ गरिएको छ । ढकिया, गुन्द्री, छिटवा, खटिया, अनाज राख्ने माटाका भकारीजस्ता दृश्य मञ्चमा मिलाइएको छ । त्यसले थारू गाउँको परम्परागत घरको झल्को दिन्छ ।


राजधानीबाहिर नाटक लिएर आउँदा नयाँ अनुभव भएको लेखक तथा निर्देशक प्रणव आकाशले बताए । ‘नाटक र नाटयघरबारे काठमाडौंबाहिरको बुझाइ कस्तो छ भन्ने कुरा थाहा भएको छ । धेरैलाई रंगमञ्चबारे थाहै रहेनछ,’ उनले भने, ‘तैपनि, उत्साहका साथ नाटक हेर्न आएको देख्दा हामीलाई झनै हौसला थपेको छ ।’ काठमाडौंमा थारू भाषामा मात्रै मञ्चन गरिएकामा अहिले अधिकांश दर्शकलाई कथा बुझाउन नेपाली र थारू भाषा मिलाएर प्रयोग गरिएको उनले बताए ।


नाटकको निर्माण रविलाल थारूले गरेका हुन् । नाटकमा दीपक पछल्डङग्या, शान्ति चौधरी, सुनीता चौधरी, नीरजबाबु चौधरी, उर्मिला गम्वा थारू र प्रणव आकाशले अभिनय गरेका छन् ।

प्रकाशित : फाल्गुन ८, २०७५ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?