कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दोहोरीमा झुम्यो बुटवल

अमृता अनमोल

बुटवल — रामनगरस्थित बुटवल मण्डपमा जारी पाँचौं राष्ट्रिय खुला दोहोरी रनिङ सिल्ड प्रतियोगिता तथा सांस्कृतिक महोत्सवले दर्शक तताएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले गरेको महोत्सवमा बिहानैदेखि साँझसम्म दोहोरी घन्कँदै छ ।

दोहोरीमा झुम्यो बुटवल

देशभरका लोकगायक–गायिकाको जमघट छ यहाँ । टेलिभिजनको पर्दामा देखिने गायक–गायिकालाई नजिकबाट देख्न र सुन्न पाउँदा दर्शक खुसीले झुमेका छन् । देशका चर्चित दोहोरी कलाकारबीचको घमासानले गाउने, नाच्ने र सुन्नेलाई पनि तताएको हो ।


प्रतियोगितामा सोमबार १५ समूहले भाग लिए । नगरकोट दोहोरी साँझ काठमाडौं र लोक दोहोरी प्रतिष्ठान दाङले पस्केको दोहोरी धेरैले मन पराए । उनीहरूले ‘सारै राम्री छ्यौ, तिम्रो जोवन राजीनामा देऊ...’ गाउँदा धेरै नाचे । महोत्सवमा नयाँ–पुराना दुवै भाकामा गीत पस्के । पुराना गीतमा ‘ऐना हेरेर...,’ ‘ससुरालीमा...,’ ‘कालीपारे दाइ...’, ‘पानी घट्टमा...,’ ‘बल्ल पर्‍यो निरमाया माकुरी जालैमा...’ सम्मका गीत गाए । नयाँमा ‘पछ्यौरी लेउ बैना, आजै टुंगो लगाइदेऊ माया छ कि छैन...’ भन्ने भाका पनि सुनाए । ‘लालुमै तिम्रो माया..., मागेजति वरदान पाको भा...’ गीत पनि गुन्जियो ।


प्रतियोगितामा ४० जिल्लाका ५६ समूह छन् । पुरुष/पुरुष र महिला/महिलाबीच पनि प्रतिस्पर्धा छ । केन्द्रीय सदस्य तथा दोहोरी गीत संयोजक प्रचण्ड जीसीका अनुसार प्रतियोगिता ७ चरणमा छनोट हुनेछ । सहभागीले सुरु चरणमा आफूले चाहेको लय र विषयमा गीत गाउनेछन् । दोस्रो चरणदेखि मूल्यांकनकर्ताले नै विषयवस्तु तथा लय तोक्नेछन् । त्यसका लागि ३० विषयवस्तु र ५० लय छनोट भएका छन् । बजारमा बढी चलेका लोकलयलाई प्राथमिकता दिएको संयोजक जीसीले बताए ।


राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष चन्द्र शर्माको संयोजकत्वमा मूल्यांकन समिति बनेको छ । ‘दोहोरी प्रतियोगितामा सुर, ताल, लय, शब्द संयोजन, मौलिकता, हाउभाव सबैलाई आधार मानेर अंक गणना गरिनेछ,’ शर्माले भने । प्रतियोगिताको प्रथमलाई २ लाख, द्वितीयलाई १ लाख २० हजार र तृतीयलाई ७० हजार रुपैयाँ पुरस्कार दिइनेछ । सान्त्वनाले ३५ हजार र उत्कृष्ट गायक–गायिकालाई जनही १५ हजार नगद पाउनेछन् ।

प्रकाशित : फाल्गुन २१, २०७५ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?