कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिनियाँ राजदूतको नेपाली नाच

कान्तिपुर संवाददाता

काठमाडौँ — अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा नेपालस्थित चिनियाँ दूतावासले शुक्रबार विभिन्न क्षेत्रका महिलासँग भेटघाट कार्यक्रम आयोजना गरेको थियो । सोही अवसरमा चिनियाँ राजदूत हो यान्कीले नेपाली गीतमा नाचेर सबैलाई दंग पारिन् ।

चिनियाँ राजदूतको नेपाली नाच

‘मैले यहाँ आएको दुई महिनामै थुप्रै महिला साथी बनाएँ,’ यान्कीले भनिन्, ‘विशेषगरी राष्ट्रपति विद्यादेवी भण्डारी उत्कृष्ट लाग्यो ।’ महिलाको अधिकारलाई रक्षा गर्ने कुरालाई नेपालले महत्त्व दिएको भन्दै उनले यो सराहनीय भएको बताइन् । नेपाली महिलाको प्रतिभा र कामप्रतिको दृढतालाई आफूले आदर गर्ने उनको भनाइ थियो ।


समारोहमा उपस्थित महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले नेपाली महिला अझै पनि सामाजिक र आर्थिक रूपमा पछाडि रहेको बताइन् । चेलिबेटी बेचबिखन, महिला हिंसा, दाइजो र छाउपडी प्रथा, बालविवाहजस्ता कुरीति विद्यमान गरेको उनको भनाइ थियो । ‘संविधानको मर्मअनुसार महिलाको अधिकार प्राप्ति र हिंसा अन्त्यका लागि हामी पहल गर्दै छौं,’ उनले भनिन् ।


समारोहमा राजदूत यान्की र मन्त्री थापाले दुई देशका महिलाले एकअर्काबाट सिक्न बताए । थापाले नेपाल चीनसँग हातेमालो गर्न र शिक्षा आदनप्रदान गर्न चाहेको भनाइ राखिन् । ‘चिनियाँ रादूतावास अवश्य दुई मुलुकका महिलाको सहकार्यलाई समर्थन गर्नेछ,’ यान्कीले भनिन्, ‘हामी साथसाथै हिँडौं । दुई देशको विकास र मैत्रीपूर्ण सम्बन्धका लागि आफ्नो भूमिका निभाऔं ।’


काठमाडौंमा आयोजित कार्यक्रममा चिनियाँ कलाकारले मुरलीको धुन सुनाए भने चिनियाँ चिया र हस्तकला सामग्रीका स्टल अवलोकनका लागि राखिएका थिए । समारोहमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, नेतृ पम्फा भुसाल र थुप्रै महिला सांसद, उद्योगी, कूटनीतिक क्षेत्रका महिलाको उपस्थिति थियो ।

प्रकाशित : फाल्गुन २५, २०७५ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?