कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘पहिलो सन्तान किसान जन्माउँछु’

कृष्णप्रसाद गौतम

सुर्खेत — गाउँघर पसेको छ बजार । हरेक व्यक्ति अचेल बजारबाटै प्रभावित छ । बजारिया संस्कृति, बजारिया उत्पादन अनि बजारिया व्यवहार । बरु जतिसुकै दुःखका लागि विदेश जान तयार छन् युवाहरू, खेती किसानीमा लागेर आफ्नै आँगनको मीठो मसिनो खाने दिन अब रहेन ।

‘पहिलो सन्तान किसान जन्माउँछु’

तरकारी र फलफूल आयातमै मुलुकबाट अरबौं रुपैयाँ बाहिरिन्छ । यस्तो समय सुर्खेतमा जारी रारा राष्ट्रिय नाटक महोत्सवको तेस्रो दिन भने एउटा गजबको नाटक देखाइयो । नाटकको नामै थियो, ‘म पहिलो सन्तान किसान जन्माउँछु’ ।


मानवअधिकार मञ्च इलामका लागि सुरेश पोर्तेलले निर्देशन गरेको नाटक कृषिमै केन्द्रित भयो । नाटक हेरेपछि कर्णाली प्रदेश सरकारकी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले आमयुवाको धारणा परिवर्तन गर्न यो नाटकले महत्त्वपूर्ण सन्देश प्रवाह गरेको बताइन् । ‘कृषि श्रमप्रति सबैको विश्वास जगाउन नाटक प्रेरणादायी छ,’ उनले भनिन्, ‘कलाकारको जीवन्त अभिनयले देशको समृद्धिलाई चित्रण गरेको छ ।’ नाटक हेर्न प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बूढा पनि आइपुगेका थिए । उनले कृषिमार्फत राष्ट्रिय उत्पादकत्व बढाउन यो नाटकले प्रेरणा दिएको दाबी गरे ।


नाटकका पात्रहरू पनि प्रतीकात्मक थिए । संघर्ष र पालुवाको स्थानीय परम्पराअनुसार बिहे हुन्छ । सुहागरातको बेला दम्पतीबीच छोरा कस्तो जन्माउने भन्ने विषयमा चर्काचर्कीसमेत हुन्छ र किसान छोरा जन्माउने पालुवाको अडानमा संघर्ष गल्छ । अर्को दिन उनीहरूको निर्णयमा संघर्षकी आमाले स्वीकृति जनाउँछिन् ।


संघर्षले पनि साथीलाई कृषिमा लाग्न प्रेरणा दिँदै हिँड्छ । गाउँका सबैले कृषि क्रान्तिमा लाग्ने प्रतिबद्धता जाहेर गर्छन् । देवी क्षेत्री दुलालले लेखेको नाटकमा सुवास लुइँटेल, सफलता राई, कविता लुइँटेल, प्रतिमा रिजाललगायत सात कलाकारले अभिनय गरेका थिए । निर्देशक पोर्तेलले कर्णालीमा नाटक देखाउँदा थप जिम्मेवारी महसुस भएको बताए ।


सांस्कृतिक संस्थान र आरंग नेपालले गरेको महोत्सवमा शनिबारै कर्णाली कला प्रतिष्ठानको ‘आमाको सपना’ समेत मञ्चन गरियो । बेरोजगारी समस्याका कारण बिदेसिनुपर्ने बाध्यतालाई नाटकमा चित्रित गरिएको निर्देशक अकबर खानले बताए । कथाको मुख्य पात्र बिहानीले युवाको प्रतिनिधित्व गरेको उनले बताए ।


नाटकमा सुर्खेतका कलाकार भूमिका परियार, जीवन बिसी, गीता कटुवाल, सीमा सुनार, निर्मला सुनारलगायतले अभिनय गरेका थिए । शनिबार मञ्चित दुवै नाटकले सामाजिक कथालाई समेटेर देशलाई आर्थिक समृद्धिको बाटोमा डोर्‍याउन प्रयत्न गरेको आयोजक सांस्कृतिक संस्थानका अध्यक्ष राजेश थापाले दाबी गरे । त्यस्तै संस्थानकै वरिष्ठ नाटक प्रबन्धक प्रभाकर शर्माले कलाकारहरूको कामको प्रशंसा गरे । ‘कलाकारको सही अभियनयले समाज परिवर्तन गर्न सक्छन् भन्ने कुरालाई दुई नाटकले सावित गरेका छन्,’ उनले भने ।


स्थानीय आयोजक आरंग नेपालका अध्यक्ष गणेश गौतमका अनुसार महोत्सव अवधिभर १३ नाटकको प्रदर्शन हुनेछ । उनले एक पटकमा १ सय ५० दर्शकले नाटक हेर्ने गरी व्यवस्थापन गरिएको जानकारी दिए ।

प्रकाशित : फाल्गुन २६, २०७५ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?