कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखियो कर्णालीको व्यथा

कृष्णप्रसाद गौतम

सुर्खेत — जन्मँदा बालक तर हुर्किंदै गर्दा स्वभाव भने बालिकाको । विस्तारै उनमा किशोरी भाव हुर्किन्छ । युवक भएर पनि युवतीले जस्तै सोच्न थाल्छन् । समाजमा यस्तो फरक पहिचानका साथ हुर्किंदै गरेको व्यक्तिले के कस्ता अप्ठ्यारो स्थितिसित जुध्नुपर्छ ? उनको जीवनमा कस्ता सामाजिक र वैयक्तिक समस्याहरू आइपर्छन् र जिन्दगीले कसरी फरक मोड लिन्छ ? नाटक ‘जिउँदो आकाश’ ले प्रस्ट्याउँदै जान्छ । 

पोखियो कर्णालीको व्यथा

सुर्खेतमा जारी रारा राष्ट्रिय नाटक महोत्सवको पाँचौँ दिन सोमबार यो नाटक मञ्चन हुँदै गर्दा दर्शकले फरक अनुभूति गरे । भारतको विभिन्न सहर र काठमाडौंमा थुप्रै पटक मञ्चन भइसकेको नाटकमा अनिल सुब्बाले एकल अभिनय गरेका थिए, विशेषगरी उनको अभिनयको दर्शकले प्रशंसा गरे ।


तेस्रोलिंगी चरित्र गौरवको रूपमा छन् नाटकमा अनिल । पुरुष जनेन्द्रिययुक्त शरीर भए पनि स्वभाव र प्रकृति स्त्रीको छ उनको । नाटकमा पनि गौरवबाट उनी गरिमा बन्छिन् । तर समाजले उनको नियति बुझ्न सक्दैन । आफ्नै काकासमेत दुश्मन भएर उभिन्छन् । उनी कहिले पिटिन्छन् त कहिले मानसिक यातनाको सिकार बन्छन् ।


उनीमार्फत सिंगो लैंगिक अल्पसंख्यकको कथा व्यथा पस्किन नाटक सफल थियो । साइलेन्ट एक्ट, काठमाडौं प्रस्तुति रहेको यो नाटकको निर्देशन आरके मेहेताले गरेका हुन् । ‘नाटक गर्ने क्रममा विभिन्न चुनौती आउने भए पनि काठमाडौंको कथा कर्णालीमा प्रदर्शन हुँदा थप रोमाञ्चक बनेको’ उनले बताए । उनले तेस्रोलिंगीप्रति सम्मानको भाव जगाउन नाटक केन्द्रित गरिएको जनाए ।


सोमबार नै कर्णाली खस सांस्कृतिक मञ्च, जुम्लाका लागि रन्नीबहादुर घर्तीले निर्देशन गरेको नाटक ‘फडो’ प्रदशर्न गरियो । जुम्लाको संस्कृति र परम्परालाई नाटकमा देखाउन खोजिएको निर्देशक घर्तीले बताए । उनले पूर्वाधार र दर्शकको अभावमा कर्णालीका धेरै विषय नाटकमार्फत बाहिर ल्याउन नसकिएको जनाए ।


‘धेरै रहर हुँदाहुँदै पनि मैले नाटक लेख्न सकिरहेको छैन, कथैकथाले भरिएको कर्णाली, शोकैशोकमा डुबेको कर्णाली र विभिन्न संस्कृतिले भरिपूर्ण कर्णालीका धेरै कथा उठाउन सकेका छैनौं,’ उनले भने, ‘सुनको अण्डा सिरानमा राखेर नुनको खोजीमा हिँड्ने कर्णालीका कथा लेखेर पनि पढिदिने मान्छे छैनन् ।’ उनले कर्णालीको संस्कृति कर्णालीकै मान्छेलाई देखाउनु नौलो नभएको बताए ।

महोत्सव सोचेभन्दा राम्रो भइरहेको दाबी गर्दै आफूहरूले देशभरका रंगकर्मीहरूले फरक परिवेशसहित अनुभव आदानप्रदान गर्ने अवसर निर्माण होस् भन्ने चाहेको आयोजक सांस्कृतिक संस्थानका महानिर्देशक राजेश थापाले जनाए । नाटक ‘फडो’ हेरेपछि सांस्कृतिक संस्थानकै वरिष्ठ नाटक प्रबन्धक प्रभाकर शर्माले कर्णालीको अर्ग्यानिक कथा नाटकमा पाएको दाबी गरे ।


उनले कर्णालीका कथालाई देशव्यापी प्रदर्शनीमा लिन कलाकारलाई सुझाए । ‘काठमाडौंलाई कर्णालीका कथाले छुन्छ, यहाँको भेषभूषा, संस्कृति र परम्परालाई देशले देख्नुपर्छ,’ उनले भने, ‘कर्णालीका कलाकारको जीवन्त अभिनयले दर्शकलाई मन्त्रमुग्ध बनाएको छ ।’


नाटकमा जुम्ली कलाकार सूर्यमणि हमाल, भानुभक्त उपाध्याय, दीपेन्द्र उपाध्याय, कल्पना बूढा, कमला उपाध्याय, मीना उपाध्याय, मेनका जिसी, ज्योति कामी, संजिता जिसीलगायत कलाकारले अभिनय गरेका छन् । स्थानीय आयोजक आरंग नेपालका अध्यक्ष गणेशभक्त गौतमका अनुसार सोमबारसम्म ९ नाटक प्रदर्शन गरिएका छन् । प्रत्येक प्रदेशबाट दुई नाटकले महोत्सवमा सहभागिता जनाएका छन् ।

प्रकाशित : फाल्गुन २८, २०७५ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?