कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फेरिँदै होली

जितेन्द्र साह

विराटनगर — चालो देखन रे वाइसा
थारो विरो नाचे रे,
थारो भाइ नाचे रे,
मुंछ कालो विन्दिनी के 
साग नाचे रे...
होलीमा मारबाडी समुदायका नारीले गाउने यो लोकप्रिय गीतमा भाउजूले नन्दसँग जिस्कँदै गरेको संवाद सामेल छ ।

फेरिँदै होली

यसमा भाउजूले नन्दलाई ‘तपाईंको दाइ नाचेको हेर्न जाउँ’ भनेर आग्रह गरिरहेकी छन् । मुख्यतः दुई दिन फागु मनाइए पनि यो समुदायले कम्तीमा साता अगावैदेखि डफ्लीको तालमा गीत गाउँदै आलोपालो एक अर्काको घर पुगेर सांगीतिक बैठक (चौताल) चलाउँछन् ।


‘लोक संगीतमाझ हामी रंग खेल्छौं, यो उहिलेदेखिको परम्परा हो,’ विराटनगरका युवा कौशिक अग्रवालले भने, ‘नयाँ पुस्ताले पुरानैबाट परम्परागत गायन सिक्छन् ।’ एमबीए उत्तीर्ण उनले आफू पनि अलिअलि फागु गीतसँग परिचित भएको बताए । ‘गाउँदागाउँदै सिकिन्छ,’ कौशिकले भने ।


स्थानीय व्यवसायी दीपक वंशल त गाउनमा माहिर भइसकेका छन् । ‘राधाकृष्णको अमरप्रेम, ज्येष्ठ नागरिकप्रतिको आदरभाव एवं देवरभाउजूबीचको ठट्यौली होली गायनको विशेषता हो,’ उनले भने । वंशलले आफूलाई औधी मन परेको गीत यसरी गुनगुनाए,

पल्लो लटे रे मारो,

पल्लो लटके,

जरा से टेढो होजा बालमा,

मारो पल्लो लटके....।


‘भाउजूले देवरसँग नाच्दै ठट्यौली शैलीमा आफ्नो पोसाक तलसम्म झुन्डिरहेकाले किल्चिन सक्छ भन्दै देवरलाई सतर्क गराएकी हुन्,’ उनले भने । देवरले पनि मजाक गर्दै जवाफमा ‘अलिकति माथि उठाउँदा पनि भइहाल्छ नि,’ भन्छन् ।


तराई–मधेसको महानगर, नगर, सहर र गाउँमा अन्य विभिन्न समुदायले पनि परम्परागत सांगीतिक होली मनाउँछन् । ‘बालकदेखि वृद्धसम्म फागुमा राम, कृष्ण र शिवले समेत रंग खेलेको स्मरणमा लोक भाका बाँध्छन्,’ विराटनगरकै बुद्धिजीवी सञ्जय गुप्ताले भने ।


फागु पूर्णिमाको सेरोफेरोमा मधेस डुल्दा जाति/समुदायपिच्छै होलीको फरक लोक भाका सुनिन्छ । नबुझ्नेलाई सुन्दा सबै हिन्दी झैं लागे पनि यी मैथिली, भोजपुरी, थारू, अवधि र सुदूरपश्चिमेली लवज समेत हुन सक्छ ।


मोरङको सुनवर्षी नगरपालिकाका कृषक सच्चिदानन्द दासले ‘शिव मठ पर राम खेले होली, शिव मठ पर’ लोकप्रिय लोक गीत भएको बताए ।


गीतमा रंग खेल्नलाई शिवकोमा राम पुगेको वर्णन छ । उनले होरीको पूर्वसन्ध्या र मुख्य दिन त ‘जोगिरा सरर...’ गायन नै बढी गाइने बताए । दासले ठेट मधेसी शैलीको एउटा जोगिरा कसे,


कौन ताल पर ढोलक बजे,

कौन ताल मृदंगा,

कौन ताल पर सुन्दरी नाचे,

कौन ताल पर हम,

जोगिरा सरर...


‘उन्मुक्त भएर गाइने जोगिरामा लोक र आधुनिक भाकाको मिश्रण पाइन्छ,’ उनले भने, ‘यो समसामयिक पनि हुन्छ जुन आफैं पनि बनाइन्छ ।’ ‘रावणको मार तीन किनारा, रावणका राज विभीषणको दिलाया, जोगिरा सरर...’ खाले पुराना गायन र ‘रंग बरसे भिगे चुनरवाली, रंग बरसे,’ अनि ‘होली खेले अवध मे रघुविरा, होली खेले अवध मे,’ जस्ता हिन्दी गीत पनि निकै गाइने गरिएको उनले बताए । मोरङका अधिकांश भेकमा मिश्रित होली गीत सुनिए पनि सीमावर्ती रानीमा बढी भोजपुरी र अवधि गाइने गरिएको स्थानीय जगदीश गुप्ताले बताए । उनले पनि सुनाए,

ताल से ताल मिले मोरे बबुआ,

बाजे ढोल मृदंगा,

मन का मन से मेल जो हो तो,

रंग से मिल जाय रंग,

हो होली खेले रघुविरा...

प्रकाशित : चैत्र ४, २०७५ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?