मितिनी आमाको सहरमा “साइड हिरो”

कान्तिपुर संवाददाता

पर्सा — ब्रजेश खनालका लेख, रचनामा वीरगन्ज र यस वरपरका स्थान, पात्र, परिवेशको चर्चा बढी हुन्छन् । तुलनात्मक रूपमा तराईका अन्य सहरको भन्दा । यसको कारण आख्यानकार ध्रुवचन्द्र गौतमजस्तै उनको पनि पुर्ख्यौली थलो वीरगन्ज भने पक्कै होइन ।

वीरगन्जमा आयोजित 'साइड हिरो’ को विमर्श कार्यक्रममा सहभागी ब्रजेश खनाललगायत । तस्बिर : कान्तिपुर

यस पटक खनाल आफैंले यसको कारण बयान गरेका छन् आफ्नो नयाँ पुस्तक ‘साइड हिरो’ मा । मंगलबार साँझ वीरगन्जमा आयोजित विमर्श तथा संवाद कार्यक्रममा उनले भने, ‘थुप्रै टेलिशृंखला र चलचित्रमा अभिनय गर्ने क्रममा पटकपटक वीरगन्ज र यस वरपरका गाउँ आएको छु ।’

Citizen

वीरगन्जको नजिकको गाउँ नकटुवामा ‘राप’ टेलिशृंखला छायांकन गर्दा भेटिएका स्थानीय बासिन्दा रामखेलावनलाई अझै पनि सम्झिरहेको उनले बताए । ‘यसबाहेक वीरगन्ज सहरमा मेरी मितिनी आमाको घर छ, त्यसैले मलाई वीरगन्ज प्यारो लाग्छ,’ उनले भने । आफ्नो नयाँ कृति ‘साइड हिरो’ मा पनि वीरगन्जको थुप्रै प्रसंग रहेको उनले सुनाए ।

टेलिफिल्म हुँदै फिल्ममा अभिनयको यात्रादेखि फिल्म र पुस्तक लेखनसम्मको यात्रामा आफूले गरेका संघर्षहरूको आफूले पुस्तकमा बयान गरेको उनले बताए । वीरगन्जेली साहित्यकार गणेश लाठले ‘साइड हिरो’ पढदा पाठकले आआफ्नो कथा पढेजस्तै अनुभव गर्ने बताए । ‘निरन्तर असफलताबीच हरेस नखाएर कर्म गरिरहे सफलता अवश्य पनि हात पर्छ भन्ने सकारात्मक सन्देश पनि किताबमा रहेको’ उनले बताए ।

पत्रकार गिरीश गिरीले आफूले बाल्यकालमै वीरगन्जमा पहिलो पटक खनाललाई भेटेको सुनाए । टेलिशृंखला ‘घैंटोमा घाम’ मा छायांकनको क्रममा वीरगन्ज आएका खनाललाई आफूले पहिलो पटक यतै भेटेको र कालान्तरमा खनालसँग आफ्नो मित्रता प्रगाढ भएको गिरीले बताए । खनालबाट फिल्म क्षेत्रका धेरै कुरो सुन्दा र उनका लेख रचना पढदा आफू रोमाञ्चित हुने गरेको पनि उनले दाबी गरे ।

‘साइड हिरो’ मा चर्चा गरिएका वीरगन्जकै अर्का पात्र कुर्बान हवारीले ३५ वर्षअघि खनाललाई आफूले वीरगन्जमा भेटेको स्मरण गरे । खनालको पुस्तकमा आफ्नो गीत फर्माइस गर्ने सोखले चर्चा पाउँदा आफू खुसी भएको पनि उनले बताए । उक्त अवसरमा स्थानीय प्रतिभा अजमत अली लगायतकाले गीत, कविता, गजल प्रस्तुत गरेका थिए ।

प्रकाशित : चैत्र ७, २०७५ ०८:४५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

संगिनीलाई साथ

रमेशचन्द्र अधिकारी

धनकुटा — पुर्खाले सिर्जेको यो नेपाल देशआफ्नै संस्कृति प्यारो छ भेषजोगाऔं संस्कृति...कमला दाहालसहितको समूहले यसरी लय हाल्दै गाउनासाथ गोलबद्ध रहेका महिला नाच्न थाल्छन् । यो संगिनी नाचको शैली हो ।

धनकुटाको हिले बजारमा संगिनी नृत्य प्रस्तुत गर्दै स्थानीय महिला समूह । तस्बिर : रमेशचन्द्र/कान्तिपुर

घुमाउरो गरी बसेकाहरू हात र खुट्टाको हाउभाउ मिलाएर एकै स्वरमा नाच्नुपर्छ संगिनीमा । यी महिला भने लोपोन्मुख बनेको नेपाली लोक संगीत ‘संगिनी’ जोगाउने अभियानमै छन् ।

पछिल्लो पुस्ताले पछ्याउन नसकेको संगिनी नृत्य संरक्षण गर्न धनकुटा नगरपालिका १ का महिला जुटेका हुन् । खासगरी विवाहमा रत्यौली, धार्मिक उत्सव, पूजाआजामा परम्परागत रूपमा यो नाच नाचिने हिलेकी कमला दाहालले बताइन् । उनका अनुसार विभिन्न ऐतिहासिक तथा धार्मिक घटना क्रम, धार्मिक ग्रन्थका श्लोक समेटेर नाचिने संगिनी पछिल्लो समय वीरगाथा, जाँगरमूलक र राष्ट्रिय भावनाका शब्दलाई गीतमा उन्ने गरिन्छ ।

‘अहिलेको पुस्ताले संगिनी नृत्य के हो भन्नेसमेत बुझ्न नसक्ने अवस्था छ,’ उनले भनिन्, ‘त्यही भएर हामीले अभियान नै थालेका हौं ।’ कुनै समय संगिनी नाच जिल्लाका सबैजसो थलोमा लोकप्रिय थियो । तर, पछिल्लो समय संगिनी नाच्ने एकदमै कम भेटिन्छन् ।’

यस्तो अवस्थामा स्थानीय महिलाहरू प्रवर्द्धनमा लागिपरेका हुन् । हालैको दिन एउटा हिले बजारमा नाच्दै गरिरहेका बेला भेटिएकी जमुना घिमिरेका अनुसार स्थानीय स्तरमा हुने विवाह, धार्मिक कार्य तथा विशेष समारोहमा उनीहरूको समूहले संगिनी नृत्य प्रस्तुत गर्दै आएको छ । यसमा मनोभावदेखि एकअर्काबीचको संवाद गीतमार्फत नै गरिन्छ ।
जेठा र दाजु नि नुहाउन गाका
शिव हौ हरर, जेठानी भाउजू
नुहाउन जाँदा साथैमा सरर..

यस्ता शब्द सुरुमा एक/दुई जनाले लामो स्वरमा खिपेर गाएपछि सहभागी सबैले फन्को मार्दै गीतको भाकामा साथ दिनुपर्ने समूहकै जानुका पोखरेलले बताइन् । ‘एकातर्फ मनोरञ्जन र अर्कोतर्फ संस्कृति जगेर्ना,’ उनले भनिन् । यो समूहले गुन्यूचोली र एकै प्रकारको ओढ्ने ओढेर संगिनी प्रस्तुत गर्छ ।

‘कम्तीमा पछिल्लो पुस्तासम्म यो नृत्यलाई सिकाउने हाम्रो प्रयास हो,’ स्थानीय तुलसा थापाले भनिन्, ‘चासो जगाउन सकिन्छ कि भन्ने आशा पलाएको छ ।’ हिले लगायत धनकुटा बजार आसपासका बस्ती तथा चौबिसे क्षेत्रमा पनि संगिनी नृत्य लोकप्रिय बन्दै गएको स्थानीय सरिता बरुवालको दाबी छ ।

प्रकाशित : चैत्र ७, २०७५ ०८:४४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT