कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रिन्ट मेकिङको जादू

विपिन श्रीस

काठमाडौँ — ‘मान्छेको भ्रूणबाट फैलिएको बोट अथवा बोटको जरामा मानव भ्रूण ।’ झट्ट हेर्दा यस्तै देखिन्छ, कलाकार सुदेश श्रेष्ठको ‘पार्ट अफ मी’ शीर्षकको चिक्रमा । ‘बोटसँगै केही चत्रहरू पनि छन्, अन्य रेखाहरू पनि ।’ चित्र आफैं बोल्छ ।

प्रिन्ट मेकिङको जादू

शब्दमा व्यक्त गर्दा अर्थ र अभिव्यक्तिमा संकुचन हुन सक्छ । त्यसैले सुदेशको चित्रले भन्न खोजेको बुझ्न तपाईं सिद्धार्थ आर्ट ग्यालरीमा नै पुग्नुपर्छ, जहाँ सुदेशसँगै ३७ चित्रकारका सिर्जना प्रदर्शनीमा राखिएका छन् । ती चित्रहरू प्रिन्ट मेकिङ प्रविधिको प्रयोग गरी तयार पारिएका हुन् ।


नेपालमा पछिल्लो पटक प्रिन्ट मेकिङ विधाले आकार लिँदै गएको देखिन्छ । समसामयिक चित्रकलाका अन्य माध्यममा स्थापित भइसकेकाहरूले पनि प्रिन्ट मेकिङमा काम गर्न थालेका छन् । सिद्धार्थ आर्ट ग्यालरीमा जारी ‘सेडक्सन अफ प्रिन्ट मेकिङ नेपाल’ को दोस्रो शृंखलामा भने पाका चित्रकारदेखि युवा पुस्तासम्मले प्रिन्ट मेकिङमा आफूलाई अभिव्यक्त गरेका छन् । जस्तो कि सुदेश श्रेष्ठले ‘पार्ट अफ मी’ चित्रमा प्रकृति र मानव जीवनको सम्बन्धलाई अत्यन्त सूक्ष्म रूपमा जोड्ने प्रयास गरेका छन् । प्रकृतिबिना मान्छेको अस्तित्व सम्भव छैन भन्ने तथ्यलाई उनले प्रतीकात्मक रूपमा औंल्याएका छन् ।


ललितकलाकै कला प्राध्यापक एवं पाका चित्रकार उमाशंकर शाहको छवि प्रिन्ट मेकिङमै छ । प्रिन्ट मेकिङ नेपाल नामक संस्थाकै अध्यक्ष रहेका शाहले ग्यालरीमा राखेको सहरी दृश्यचित्र निकै अर्थ लाग्छ । भूकम्पपछि काठमाडौं उपत्यकाभित्रको सम्पदामा निकै क्षति पुग्यो । धरहरा अझै उभिन पाएको छैन । काठमाडौं दरबार स्क्वायर भर्खरै तंग्रिन लाग्दै छ । स्वयम्भू पुनर्निर्माण भएको धेरै भइसकेको छैन । तर, हालै बनाइएको शाहको चित्रमा भने धरहरासहितको पूर्ण सहर देख्न सकिन्छ । महाचैत्य र प्यागोडा शैलीको मन्दिरहरू दुरुस्तै देखिन्छन् । चित्र हेर्दै गर्दा सहरको सौन्दर्यप्रति सकारात्मक मनोभाव पैदा हुन्छ ।


‘कलाको अभिव्यक्ति उस्तै नै हो, अभिव्यक्त गर्ने प्रविधि मात्र फरक,’ प्रिन्ट मेकिङ आर्टिस्ट प्राध्यापक उमाशंकर शाह भन्छन्, ‘प्रिन्ट मेकिङ प्रविधिबाट चित्र बनाउँदा एउटै चित्र एकै पटकमा झन्डै एक दर्जन बनाउन सकिन्छ, जुन साधारण पेन्टिङमा सम्भव हुँदैन ।’ प्रिन्ट मेकिङ आर्ट विज्ञानमा निर्भर रहेको उनले बताए । ‘यो आर्ट गर्दा केमिकल, एसिड, प्लेट (कपर, जिंक, स्टोन), इचिङ प्रेस, लिथो प्रेस र स्टुडियो अनिवार्य हुन्छ,’ शाहले भने, ‘प्लेटमा पेन्टिङ गरेर प्रेसमा छापिन्छ, अन्य कुराहरू त साधारण पेन्टिङको जस्तै हो ।’ उनले फाइन आर्ट क्षेत्रमा ‘प्रिन्ट मेकिङ’ नयाँ प्रविधि भएको बताए । यो प्रविधि साधारण पेन्टिङको तुलनामा महँगो छ । ‘एउटा प्लेटको मात्रै छ हजार पर्छ, अन्य सामग्रीसहित झन्डै १० हजारको हाराहारीमा चित्र तयार हुन्छ,’ उनले भने, ‘एउटै प्लेटबाट पाँच दस ओटा प्रति निकाल्न मिल्ने भएकाले लागत केही कम पर्न जान्छ । यो प्राविधिक लागत हो, चित्रको मूल्य त कलाकार आफंैंले निर्धारण गर्ने हो ।’


कला प्राध्यापक शाहले प्रिन्ट मेकिङ प्रविधिबाट बनाइएका चित्रहरूले अन्तर्राष्ट्रिय अवार्ड पाउँदै देशलाई चिनाउने काम गरे पनि यसको विकासमा सरकारी पक्षले खासै ध्यान नदिएको गुनासो गरे । ‘प्रिन्ट मेकिङ आर्टले अन्तर्राष्ट्रिय अवार्ड जित्दै देशलाई चिनाउने काम गरेको छ, तर सरकारले एउटा पनि स्टुडियो बनाएको छैन,’ उनले भने, ‘हाम्रै पहलमा चार पाँच ओटा स्टुडियो बनाएका छौँ ।’ हाल प्रिन्ट मेकिङ नेपालमा ४०–५० जना कलाकारहरू आवद्ध रहेको उनले जानकारी दिए ।


ग्यालरीको प्रदर्शनीमा सीमा साहले भने बुद्ध सर्किटको चित्र बनाएकी छिन् । उनले आफ्नो चित्रमा स्वयम्भू, बनारस र अजन्टाको बुद्ध देख्न सकिने बताइन् । उनी भन्छिन्, ‘बुद्ध जहाँ जन्मेको भए पनि एकै हुन् भन्ने सन्देश दिन खोजेकी हुँ ।’ एउटा कला पारखीले कलाकारले दिन खोजेको भन्दा धेरै सन्देश ग्रहण गर्न सक्छ । विशन राजभण्डारीले ‘फिमेल्स’ शीर्षकको चित्र राखेका छन् । मञ्जु खडकाले बनाएको ‘क्विन’ शीर्षकको चित्रले परित्यक्त महिलाको चित्रण गरेको छ । प्रदर्शनीमा प्रकृति, जीवन, दर्शन, धर्मसंस्कृति, सम्पदा, नारीको अवस्था, मानवीय आस्था, विश्वास र मनोविज्ञान झल्किने चित्रहरू छन् । जसले हाम्रो समाज, संस्कृति, प्रकृति र मनोविज्ञान बुझ्न मद्दत गर्छ ।


कलाकार सुषमा शाक्यले पुरातात्त्विक महत्त्वका सम्पदालाई प्रस्तुत गरेकी छन् । विनाशकारी भूकम्पका कारण भग्नावशेष भएका सम्पदा र चाहना हुँदाहुँदै पनि पहिलेकै कला झल्किने गरी बनाउन नसकिएको तीतो यथार्थलाई आफ्नो चित्रमा देखाएको उनले बताइन् । कलाकार कवि राज लामाले भने धार्मिक मान्यतालाई देखाएका छन् । प्रदर्शनीमा विधाता केसी, विपना महर्जन, वीरेन्द्र प्रताप सिंह, जेनी घले, कृष्णमाया सुवाल, कृष्ण राउत, मञ्जु स्याउला, रुकुमणि श्रेष्ठ, सम्झना राजभण्डारी, संगीता घिमिरे, सन्तोष सिग्देल, सौरगंगा दर्शनधारी, सुजिता महर्जन, टीकादत्त दाहाल, उमेश शाह, सुवास तामाङलगायतले आआफ्नो कौशललाई प्रिन्ट मेकिङमार्फत व्यक्त गरेका छन् । अतिथि कलाकारको रूपमा गोपाल कलाप्रेमी श्रेष्ठ, जीवन राजोपाध्याय, कृष्णदेवी महर्जन, किशोर नकर्मी, लक्ष्मण भुजेल, लोक चित्रकार, प्रदीप बज्राचार्य, प्रमिला बज्राचार्य, प्रितम देउस्कर, पृथ्वी श्रेष्ठ, पाउल कोली, रोशन मिश्र, एससी सुमन र शरद रञ्जितका चित्रकलाहरू पनि ग्यालरीमा हेर्न सकिन्छ । प्रदर्शनी वैशाख ११ गतेसम्म चल्नेछ ।
प्रशिक्षार्थी

प्रकाशित : चैत्र २१, २०७५ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?