कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जंगलैजंगल बाघको पाल्की

बूढानीलकण्ठ तौलुङका तामाङ बस्तीमा बाघद्वारको पानी र मेलाको ठूलो महत्व

काठमाडौँ — सिंगारिएको काठको पाल्की, भित्रचाहिँ ढलौटमा कुँधिएको बाघको मुकुट । यो अहिलेको हैन, रणबहादुर शाहकै पालाको मूर्ति हो । यही मूर्ति पाल्कीमा बोकेर बाघद्वारमा जोडेपछि सुरु हुन्छ मेला । चैत मसान्तको दिन सुरु भएर नयाँ वर्षको पहिलो दिन सकिने बाघद्वार मेलाको रौनक यस पटक भिन्न थियो ।

जंगलैजंगल बाघको पाल्की

बूढाबूढीदेखि युवायुवतीहरू तीन घण्टा उकालो शिवपुरी जंगल हुँदै बाघद्वार पुगे । त्यहाँबाट टोखाको सपनतीर्थ आइपुगेर मेला सकाए । बूढानीलकण्ठ महानगरपालिका–१ तौलुङस्थित तामाङ बस्तीबाट सुरु हुने मेलाको रोचक इतिहास छ ।


बाघद्वार गुठी समितिका अध्यक्ष बमबहादुर लामाका अनुसार १६ औँ शताब्दीमा नुवाकोटबाट आएका आफ्ना पुर्खाले यो जात्रा सुरु गरेका हुन् । उनका पुर्खाको नाम लयुर च्यान थियो । तामाङ भाषामा ‘च्यान’ को अर्थ बाघ हुन्छ । उनकै सम्झनामा सुरु गरिएको यो मेला शाहवंशीय राजा रणबहादुर शाहले विधिवत् रूप दिए । ‘कथाअनुसार त्यति बेला काठमाडौं उपत्यकामा कुष्ठरोगको महामारी चलेको थियो । महारानीलाई कुष्ठरोगको लक्षण देखापर्‍यो,’ लामाले भने, ‘एक दिन घोडा सवारको क्रममा बाघद्वार पुगेर नुहाउँदा कुष्ठरोग निको भई हातखुट्टा राम्रो भएको कारण राजाले यो मेलालाई विधिवत् रूप दिएको मानिन्छ ।’


बौद्घ धर्मावलम्बीमाझ पनि अर्को किंवदन्ती प्रचलित रहेको उनले बताए । बुद्घ र उनका चेला शिवपुरी जंगल घुम्दाघुम्दै चेलाको कपाल लामो भयो । जंगलमा पानीको अभाव थियो । ‘अहिलेको बाघद्वारमा बुद्घले चेलाहरूलाई तिमीहरूको भाग्यमा भए पानी अवश्य आउनेछ भनी औँलाले खोप्दा पानी निस्केको किंवदन्ती छ,’ उनले भने ।


यस अर्थमा पनि बूढानीलकण्ठ तौलुङका तामाङ बस्तीमा बाघद्वारको पानी र मेलाको निकै ठूलो महत्त्व रहेको उनले बताए । हिन्दु धर्ममा पनि यो मेलाबारे किंवदन्ती प्रचलित छ । स्थानीय सुभद्रा खत्रीका अनुसार भक्त प्रह्लादको तपस्याबाट प्रशन्न भई शिव भगवान् हाँस्दा हाँसोको गुञ्जनले पहाड फुटेर पानी बग्न थालेको पौराणिक विश्वास छ ।


यो मेलाको सबैभन्दा महत्त्वपूर्ण सांस्कृतिक प्रतीक बाघको मुकुटलाई मानिन्छ । मल्लकालमै बनेको गुठीका अध्यक्ष लामाले दाबी गरे । स्थानीय अशोक लामाका अनुसार पाल्कीमा हालेर बाघको मुकुट बाघद्वारमा नपुर्‍याएसम्म मेलाले वैधानिकता पाउँदैन । तौलुङका तामाङ जातिले पुर्खासँग जोडेर भगवान् शिवप्रतिको आस्था भावको पूजा धार्मिक सहिष्णुताको हिसाबले अर्थपूर्ण रहेको उनी बताउँछन् ।


शिवपुरी राष्ट्रिय निकुञ्जभित्र बाघद्वारमा बूढानीलकण्ठ मन्दिरबाट करिब ३ घण्टा जतिको उकालो चढेपछि पुगिन्छ । मेलामा अवलोकन गर्न यहाँ हरेक वर्ष सबै जाति तथा समुदायका भक्तजनहरू आइपुग्छन् । मेला अवलोकनकै क्रममा भेटिएकी ७१ वर्षीया रुक्मिणी खनाल शंखमूलदेखि वाग्मतीको शिरमा रहेको बाघद्वारमा हिँडेरै आइपुगेकी थिइन् ।


स्थानीयका अनुसार एकै दिनमा शिवपुरी जंगलको शिव मन्दिर, बागद्वार, टोखाको सपनतीर्थ र भक्तपुरको बिस्केट जात्राको दर्शन गरेमा आँटेको पूरा हुने जनविश्वास छ । अघिल्लो दिन गएर शिवपुरीको जंगलको शिव मन्दिर भएको स्थानमा रातको बास बसी भोलिपल्ट बागद्वारमा स्नान गरेर सपनको तीर्थ र बिस्केट जात्राको दर्शन गर्ने चलन पछिल्लो समय भने संकटमा छ ।


राष्ट्रिय निकुञ्जभित्र रहेकाले रात्रिकालीन समयमा समस्या पर्ने र त्यसप्रति नेपाल सरकारले उचित ध्यान नदिएकोले गुठी समितिको गुनासो छ । ‘द्वन्द्वकालपछि त झन ठुलो समस्या आइलाग्यो’, अध्यक्ष लामाले भने, ‘हाल मेलामा भक्तजन आउने क्रम नै घटेको छ ।’ राति गएर बस्ने भक्तजनका लागि कुनै सुविधाको व्यवस्थापन नभएको कारण पानी असिना आउँदा समस्या हुने भएकाले अहिले मसान्तकै दिन भक्तजनहरू आउने क्रम घटेको हो ।


मेलामा काठमाडौं उपत्यकासँगै नुवाकोट, काभ्रेपलाञ्चोक, धादिङलगायत आसपासका जिल्लाका भक्तजनहरू पनि आउने उनले बताए । ‘५० हजारभन्दा बढी मानिसले यहाँ मेला भर्ने’ लामाले बताए, ‘सरकारको कम चासो र प्रचार प्रसारको पनि कमिले यो मेला ओझेलमा परेको हो ।’


सुशीला तामाङसम्राज्ञी भण्डारी (प्रशिक्षार्थी)

प्रकाशित : वैशाख २, २०७६ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?