कुची र रंगमा नयाँ पिँढी

कान्तिपुर संवाददाता

काठमाडौँ — कला, साहित्य र संस्कृतिका क्षेत्रमा प्रदेश सरकारको बेवास्तबारे बहस चलिरहेको छ । भूकम्पले आधी भत्काएको राजधानीको नक्सालस्थित सीता महलमा भने सोमबार सातै प्रदेशका कला विद्यार्थीहरू भेटिए ।


नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको परम्परागत शिल्पकला विभागले सबै प्रदेशका युवा समेट्दै थांका र पौभा शैलीसम्बन्धी ज्ञान दिलाएको हो । कला कार्यशालाको तेस्रो दिन सोमबार युवाहरू कुचीको सहायताले क्यान्भासमा रंगहरू भर्न व्यस्त थिए । उनीहरूले बौद्ध र हिन्दु सम्प्रदायमा आधारित विभिन्न धार्मिक र सांस्कृतिक प्रतीकहरूलाई उतारेका हुन् । हरिततारा (भृकुटी), बुद्ध, पद्मसम्भव–देखि गणेशसम्मका फिगरलाई उनीहरूले रंग दिए ।

Citizen


‘यी चित्रकलाका नयाँ प्रतिभा हुन्,’ प्रतिष्ठानको परम्परागत शिल्पकला विभाग प्रमुख एवं चित्रकार बुद्धिबहादुर गुरुङले भने, ‘नयाँ पिँढीलाई हाम्रो कला परम्परा हस्तान्तरण गर्न कार्यशाला गरेका हौं ।’ कार्यशालामा ३८ युवा सहभागी छन् । उनका अनुसार ‘१२ औँ शताब्दीदेखि चल्दै आएको पम्परागत थांका र पौभा शैली’ नेपालको आफ्नै मौलिक कला परम्परा हो । धार्मिक विश्वास र सांस्कृतिक अभ्यासको रूपमा चल्दै आएको ज्ञान परम्परालाई बजारीकरण गर्न पनि आफूहरूको ध्येय रहेको उनले जनाए । ‘समकालीन नेपाली कलामा थांका र पौभा शैलीको पम्परागत भाव आउनुपर्छ,’ उनले भने ।

कार्यशालामा भेटिए बूढानीलकण्ठका २५ वर्षे कुमार तामाङ । उनका अनुसार पौभा र थांका शैलीका चित्रकलाले नयाँ पुस्तामा आफ्नो मौलिक सभ्यता सिकाउँछ । संस्कृति, धर्म र परम्पराको मौलिक पक्षहरूको विशेष साधना यी कलाहरूमा झल्किने उनले सुनाए । ललितकला क्याम्पसमा अध्ययनरत २१ वर्षे सुजनवीर बज्राचार्यले पनि सही थपे ।

बजारमा नेपाली मौलिक कला खोज्नुपरे पौभा र थांकाको नाम आउने बताउँदै सरकारले यतातिर चासो देखाउनुपर्ने उनको आग्रह थियो । उता सप्तरीबाट सहभागी २२ वर्षीया चाँदनीकुमारी यादवको गुनासो भिन्न छ । तीनदिने कार्यशाला पर्याप्त नहुने बताउँदै प्रतिष्ठानबाट आगामीदिनमा अझ विस्तृत कार्यशाला हुनुपर्ने उनले सुझाइन् ।

बितेका डेढ दशकदेखि परम्परा र आधनिकता दुवैमा टेकेर कलाको क्यानभासमा रमाइरहेका छन् चित्रकार । कलाकार भूमिराज चौलागाईं थांका र पौभा शैलीलाई धर्म र शास्त्रका कुरा चित्रमा व्याख्या गर्ने माध्यमका रूपमा लिन्छन् । थांका र पौभा शैलीका चित्रकलालाई फरक रूपमा लिइए पनि दुवैमा उस्तै विधि, शैली र धर्मशास्त्रीयका कुरा आउने ४० वर्षदेखि पौभा चित्रकलाका साधक तथा कलाकार पूर्णप्रसाद ह्योजू बताउँछन् ।

उनी भन्छन् ‘थांकामा विशेष गरी बौद्ध धर्मशात्रका कुरा समेटिने र पौभा शैलीमा हिन्दुका साथै बौद्ध धर्मशात्रका कुरा समेटिने भएकोले यी दुई शैलीलाई भिन्न कलाका मानिसले बुझदै आएका छन् । कलात्मक हिसाबले हेर्दा फरकजस्तो लागे पनि दुवैमा प्रयोग गरिने शैली र विधि एकैखालको हुन्छ ।’ उनका अनुसार अहिले बनेका आधुनिक चित्रहरूमा पनि पम्परागत पौभा र थांका शैलीको भावहरू आइरहेका छन् । समयको गतिअनुसार प्रस्तुति फरक भए पनि धर्म र शास्त्रका कुरालाई भने छोड्न नहुने उनले बताए ।

सुरुसुरुमा पौभा र थांका शैलीका चित्रहरू व्यावसायिक बन्न सकेका थिएनन् । २० को दशकयता मात्रै परम्परागत कलाको व्यावसायिकता सुरु भएको पूर्वप्राज्ञ एवं चित्रकार निमा घ्याम्जो लामा बताउँछन् । उनका अनुसार हिमाली जिल्ला आसपास शेर्पा, तामाङ, गुरुङ, थकाली जातिहरूमा सांस्कारिक रूपमै प्रचलनमा रहेको यो कला सुरुमा लामाहरूले मृतकको स्मृति स्वरूप बनाउन थालिएको थियो । त्यति बेला ‘थान्कु’ भनिन्थ्यो यस्ता चित्रलाई ।

यही शब्द पछि थांका बन्यो, जसको अर्थ अभिलेख राख्ने कला हुन्छ । ‘पहिले मूर्ति महँगो पर्ने भएकोले थांका बनाउने गर्थे तर अहिले भने मूर्तिको मूल्यभन्दा थांकाको मूल्य बढी छ,’ उनले भने, ‘अहिले थांका लाखौँ मूल्यमा बिक्री हुन्छ ।’ यति हुँदाहुँदै पनि पौभा र थांका अझै गुरुकुल शैलीमै उत्पादन भइराख्नुचाहिँ विडम्बना रहेको बताउँछन् चित्रकार रामप्रकाश श्रेष्ठ । ‘कलाकारकै जोस र जाँगरबाट मात्रै काम भइरहेको छ,’ उनले भने, ‘राज्यको प्रोत्साहन खासै छैन भने पनि हुन्छ ।’

सुशीला तामाङ

प्रकाशित : वैशाख ३, २०७६ ०८:२३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

बक्सअफिस साउनभित्र

कान्तिपुर संवाददाता

काठमाडौँ — चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले साउनभित्र देशभर बक्सअफिस प्रणाली कार्यान्वयनमा आउने बताएका छन् । सोमबार चलचित्र पक्रकार संघले गरेको ‘चलचित्र क्षेत्रका बेथिति’ अन्तरत्रियामा  उनले त्यसका लागि द्रूतगतिमा काम भइरहेको बताए । 

‘बक्सअफिसका लागि चाहिने हार्डवेयर र सफ्टवेयरका लागि टेन्डर आहृवान भएअनुसार २/४ दिनमै बोर्डलाई हस्तान्तरण हुँदै छ,’ उनले भने, ‘अब इमानदारीपूर्वक बक्सअफिस लाग्छ । त्यसका लागि हलवालाका समस्या हुन सक्छन् । समाधानको उपाय बोर्डले खोज्नेछ ।’

भट्टराईले मोफसलका ८० हललाई चाहिने हार्डवेयर र सफ्टवेयरका सामान सरकारले अनुदानका रूपमा दिन लागेको बताए । उनले आआफ्ना कमीकमजोरी स्वीकारेर आचारसंहिता बनाउन पनि सुझाए । फिल्म प्रदर्शनका लागि चाहिने केडीएम (कि–डेलिभरी म्यासेज) कोडका लागि सिन्डिकेटको अवस्था रहेको र निर्माताले अनावश्यक रकम तिर्नुपर्ने अवस्थातर्फ इंगित गर्दै अध्यक्ष भट्टराईले आवश्यक परे सरकार आफैंले पनि पहल गर्न सक्ने बताए ।

‘नेपालमा चलेका केडीएम होल्डरसँग केही दिनभित्रै छलफल गर्नेछु । मान्नुभएन भने फिल्म क्षेत्र र निर्मातालाई राहत दिने गरी टुके फर्म्याटसम्मका फिल्म इन्कोडिङ गर्ने गरी आफ्नै खर्चमा सरकारले राख्ने वातावरण पनि बन्न सक्नेछ,’ उनले भने ।

निर्माता संघ अध्यक्ष आकाश अधिकारीले पेसागत इमानदारिता नहुँदा फिल्म क्षेत्रमा बेथिति मौलाएको तर्क गरे । चलचित्र संघ अध्यक्ष प्रदीपकुमार उदयले समस्या धेरै भएकाले कहाँबाट सुरु गर्ने भन्ने नै अन्योल रहेको बताए ।

प्रकाशित : वैशाख ३, २०७६ ०८:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्