कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कलामा समावेशिता

विपिन श्रीस

काठमाडौँ — डकुमेन्ट्री फिल्म मेकर यजस्वी राई बुधबार पुल्चोकस्थित नेपाल कम्युनिटियरको प्रदर्शनी कक्षमा ‘आई वान्ट टु बी एबल टु रिपे अल द लोन आइ टुक माइ प्यारेन्ट’ अर्थात् ‘म अभिभावकबाट लिएको सबै ऋण तिर्न सक्षम हुन चाहन्छु’ लेखिएको प्लेकार्ड झुण्ड्याउँदै थिइन्, जहाँ बिहीबारदेखि ‘महिला सशक्तीकरण र समावेशिताका लागि कला’ शिर्षकको प्रदर्शनी हुँदैछ ।

कलामा समावेशिता

प्रदर्शनीमा भने विभिन्न उमेर समूहका एक सय फेसबुक प्रयोगकर्ता महिलाले व्यक्त गरेको चाहना संकलन गरेर प्रस्तुत गरिने छ । ‘तपाईंलाई के गर्ने इच्छा छ ? फेसबुकमार्फत् प्रश्न गरेका थियौं’ राइले भनिन्, ‘सोही प्रश्नको जवाफ एकीकृत गरी प्रदर्शन गर्न लागेका हौं ।’ प्रश्नको जवाफ दिने महिलाले अभिभावकलाई आर्थिक रुपमा सहयोग गर्नेदेखि आफूले चाहेको बेलामा यौन सन्तुष्ट पार्ने पुरुषसँग बिहे गर्न चाहेको लगायतका चाहना उल्लेख गरेका छन् ।


अमेरिकी विदेश मन्त्रालयको ब्युरो अफ एजुकेसनल एन्ड कल्चरल अफेयर्सको सहकार्य अर्न्तगत सञ्चालित अमेरिकन आर्ट इन्क्युबेटर (एएआइ) को कार्यशालामा भाग लिएका १६ प्रतियोगीहरूले चार समूह बनाएर महिला सशक्तीकरण विषयमा जानकारी दिन प्रदर्शनीको गरेका हुन् ।


महिला सशक्तीकरणको लागि यौन तथा प्रजनन् शिक्षामा जोड दिनुपर्ने कार्यशालामा सहभागी रसना बज्राचार्यको मत छ । प्रदर्शनीको लागि बज्राचार्यको समूहले महिलाको यौन अंग प्रतीत हुने इन्स्टलेशन आर्ट बनाएको छ । ‘समाज स्वस्थ हुन व्यक्ति स्वस्थ हुनुपर्छ, व्यक्ति स्वस्थ हुन उसका सबै अंगप्रत्यङ्ग’ बज्राचार्य प्रश्न गर्छिन्, ‘जीवनको सुरुवात हुने यौनाङ्ग नै अस्वस्थ भयो भने हामी कसरी स्वस्थ हुन सक्छौ ?’


शरीरका अन्य अंग जस्तै यौनाङ्गको स्वास्थ्यको बारेमा पनि खुलेर कुरा गर्ने वातावरण निर्माण गर्दै समतामूलक समाज निर्माणका लागि ‘योनी’को इन्टलेशन आर्ट बनाएको उनले बताइन् । ‘हाम्रो समाजमा यौन शिक्षा नभएको होइन, उदाहरणका लागि शिवलिंगलाई लिन सकिन्छ, तर बीचमा कहाँ हरायो, किन लज्जाको विषय बन्यो, दुर्गम क्षेत्रका त ठिकै हो सहरकै महिला पनि किन खुल्न सक्दैनन् ?’ यी विषयमा कला मार्फत् जानकारी दिन चाहेको उनले बताइन् ।


‘कार्यक्षेत्र लगायत सार्वजनिक ठाउँमा महिलाको स्थान कहाँ छ ?’ देखाउन प्रदर्शनीमा सान्त्वना मालाकारको समुहले ‘चिया गफ’को नाटकीय प्रस्तुति प्रदर्शन गर्दैछ । नेपाली समाजमा चियागफ गर्ने प्राय पुरुष हुन्छन् । तर, सान्त्वना मालाकारको समूहले राखेको चियापसलमा महिलाहरू गफ गरिरहेको देख्न पाइनेछ । त्यहाँ महिलाले पनि पुरुषले जस्तै स्वतन्त्रतापूर्वक विभिन्न विषयमा छलफल गर्नेछन् ।


‘समाजलाई विचारले दोहोर्‍याउँछ, विचार छलफलबाट उत्पन्न हुन्छ’ मालाकार भन्छिन्, ‘तर, नेपाली महिला भेला हुने र विचार अभिव्यक्त ठाउँ कहाँ छ ? अधिकांश महिला घरायसी कामकाजमै व्यस्त हुन्छन्, कार्यालयमा काम गर्ने महिला घर पनि काम गर्न बाध्य छन्, उनीहरूका लागि पुरुषले जस्तै अनौपचारिक छलफल गर्ने समय नै छैन ।’ के काम गर्ने, कोसँग भेट्ने, के विषयमा छलफल गर्ने भन्ने अधिकार महिलामा नै हुनुपर्ने उनले बताइन् ।


यस्तै, प्रतिमा थकालीको समुहले ‘सामाजिक सञ्जालको प्रयोगसँगै कसरी सांस्कृतिक मुल्यमान्यता परिवर्तन भइरहेको छ र त्यसमा महिलालाई कसरी चित्रण गरिएको छ ?’ भन्ने विषयमा कला प्रदर्शन गर्दैछ । सामाजिक सांस्कृतिक मूल्यमान्यताले महिला पुरुषको भूमिका निर्धारण गरेकाले महिला सशक्तीकरणको लागि ती कुराहरूमा ध्यान दिनुपर्ने थकाली बताउँछिन् ।


पछिल्लो समय सामाजिक सञ्जालले सामाजिक मनोविज्ञान निर्माण गर्न भूमिका खेलिरहेको उनको दावी छ । ‘हाम्रो समाज पितृसत्तात्मक छ’ उनी भन्छिन्, ‘प्रविधिमा भएको विकाससँगै त्यो सोचाइमा परिवर्तन भएको छ कि छैन ? सामाजिक सञ्जालमा महिलालाई कसरी चित्रण गरिँदै छ ? हामीले समाजलाई कस्तो बनाउन खोज्दै छौ ? अहिलेको मुख्य प्रश्न यिनै हुन् ।’


उनका अनुसार अहिले सामाजिक सञ्जालमा महिलालाई ‘बडी सेमिङ’ (शरीरको गलत प्रयोग) र ‘मटरियलाइज’ (वस्तुकरण) गरेर प्रस्तुत गरिएको पनि देखिन्छ । ‘महिला सशक्तिकरणको कुरा गर्दैगर्दा अघिल्लो पुस्ताका महिलाको ज्ञान, सीपलाई भुल्नु हुँदैन’ भन्ने उनको मत छ । सामाजिक सञ्जाल नहुँदा पनि महिलाहरू भेला भएर विभिन्न कपडाहरू बुन्ने काम गर्थे, सीप आदानप्रदान गर्थे,’ उनले भनिन् ।


जैविक भूमिकाबाहेक सामाजिक सांस्कृतिक भूमिकामा महिला र पुरुषले एकअर्कालाई सम्मान गर्ने समाजको निर्माण गर्नुपर्ने उनको तर्क छ । उनको समुहले मानिसका छालाको आधारमा हुने विभेदलाई अन्त्य गर्नुपर्ने सन्देशसहित विभिन्न रंङका कपडाको संयोजन गरी महिलाको परम्परागत सीप अनुसार चकटी बनाएको छ ।


पछिल्लो दशकमा नेपालमा इन्टरनेट, अनलाइन लगायतका प्रविधिसँगै सोचाइमा पनि परिवर्तन भएकोले बदलिदो परिवेशमा महिलाको अवस्था बुझ्न अमेरिकन आर्ट इन्क्युबेटर (एएआइ) सञ्चालन गरेको अमेरिकी मूर्तिकार तथा न्यु मिडिया आर्टिस्ट जेनीफर बेरीले बताइन् ।


महिला सशक्तीकरण विषयमा बहस सिर्जना गर्नु कार्यत्रमको उदेश्य रहेको उनले जनाइन् । कार्यशालामा थ्री डि प्रिन्टिङ एन्ड कटिङ पनि सिकाइएको थियो । प्रविधिको प्रयोगले समय र लगानी बचाउन सकिने भएकाले नयाँ पुस्तालाई प्रविधिको ज्ञान दिएको बेरीले बताइन् । कार्यशालामा १३ जना महिला र तीन जना पुरुष गरी १६ जना सहभागी भएका थिए ।


कार्यशालामा झाग लिंदा सुरुमा अचम्म लागेको क्रान्ति चन्दले बताए । ‘तीन जना मात्र केटा थियौ । तर, सिक्दै जाँदा महिला सशत्तीकरणको लागि पुरुषको भूमिका पनि महत्त्वपूर्ण हुने रहेछ’ उनी भन्छन् ‘हामीले महिलाको इच्छालाई सम्मान गर्दै उनीहरूलाई मन लागेको काम गर्न दिनुपर्छ । त्यसका लागि महिला–पुरुष सबै मिली सचेतना जगाउनुपर्छ ।’


यस कार्यशालाबाट उत्कृष्ट एक जनाले अमेरिकामा अध्ययनको अवसर पाउनेछन् । एएआइ कार्यक्रमका लागि नेपाल सहित मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया, श्रीलंका र टर्की छनोट भएका एएआइले जनाएको छ । प्रदर्शनी शनिबारसम्म चल्नेछ ।

प्रकाशित : वैशाख १२, २०७६ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?