कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रैथाने संगीतमाथि बहस

विपिन श्रीस

काठमाडौँ — गायिका झुमा लिम्बू शिल्पी थिएटरको अभिमञ्चमा उपस्थित भइन् । हलभरी विभिन्न क्षेत्रका व्यक्ति भेला भएका थिए, रैथाने संगीत शृंखला २ मा । गायिकाको उपस्थितिमा गीत सुन्ने अपेक्षा हुन्छ । रैथाने संगीत शृंखलाको अभियान्तासमेत रहेकी गायिका लिम्बूले भने सुरुमै छलफल मात्र हुने जनाइन् ।

रैथाने संगीतमाथि बहस

'नेपाली मौलिक रैथाने संगीत प्रवर्द्धन गर्न सुरु गरिएको अघिल्लो शृंखलामा मुन्धुमभित्रको हाक्पारे संगीतको प्रस्तुति दिएका थियौं,' उनले भनिन्, 'यस शृंखलामा 'विश्वविद्यालयमा मौलिक संगीत: अध्ययन अनुसन्धान अभ्यास' माथि छलफल मात्रै गर्नेछौं ।' त्यसपछि आफूसँगै उपस्थित भएका काठमाडौं विश्वविद्यालयको संगीत विभागका उपप्राध्यापक राजकुमार मानन्धर र गायिका सुनीता सुब्बाको परिचय गराइन् उनले । यद्यपि, उनीहरू परिचित नै थिए ।


वक्ताको परिचयपछि सुरु भयो, 'रैथाने संगीतको प्राज्ञिक बहस' । 'गीत गाउन भनेको भए सजिलो हुने थियो,' दुई दशकअघि पाँचथरको नवमी डाँडाको परिवेशमा 'लोक संगीतको माध्यमबाट देखिएका लिम्बू जातिको परिवर्तित सामाजिक जीवन' सम्बन्धी समाजशास्त्रीय अध्ययन गरेकी गायिका सुनीता सुब्बाले लोकसंगीतको अध्ययनको बारेमा बोल्न थालिन् ।


'सम्भवतः लोक संगीतको बारेमा शोध गरिएको त्यो नै पहिलो होला, यद्यपि त्यो समाजशास्त्रीय दृष्टिकोणबाट गरिएको थियो किनभने त्यति बेला त्रिविमा संगीतमा स्नातकोत्तर थिएन,' सुब्बाले त्यति बेला अध्ययन गर्दा परेको समस्या सम्झिँदै थपिन्, 'लोकगीतमा शोधपत्र लेख्न पर्याप्त सन्दर्भ सामग्री विश्वविद्यालयसँग थिएन, संगीतसम्बन्धी गाइड पनि हुनुहुन्थेन ।'


उनले अध्ययनको पाटोपछि अनुभवको पाटो पनि जोडिन्, 'मैले २३ वर्षअघि पाँचथरमा लोकगीतबारे अध्ययन गर्दा त्यहाँका युवाले ख्याली नाच बिर्सिसकेको थियो । रेडियोबाट बज्ने आधुनिक र हिन्दी गीतको छायामा लोकगीत हराउँदै थियो । अहिलेको अवस्था कस्तो होला ?'


उनलाई समर्थन गर्दै गायिका लिम्बूले त्रिभुवन विश्वविद्यालयमा अहिले पनि लोकसंगतीको पर्याप्त पुस्तक नभएको सुनाइन् । त्यसपछि ललितकला क्याम्पसका प्रमुख रमेश पोखरेल पनि बहसमा तानिए । उनले त्रिभुवन विश्वविद्यालय विशेषतः शास्त्रीय संगीतमा केन्दि्रत भएकाले त्यसो हुन सक्ने स्विकारे । उनी यत्तिमै रोकिएनन् । लोक संगीतलाई शास्त्रीय संगीतसँग जोडदै भने, 'शास्त्रीय संगीत लोकसंगीतबाट विकास भएको हो । हामीले हाम्रा लोकसंगीतलाई प्रवर्द्धन गर्दै आफ्नै शास्त्रीय संगीतमा बदल्न पनि सक्छौं ।' उनले पूर्वाधारको अभाव लगायतका व्यवस्थापनको समस्या रहेको दाबी गरे । अवस्था पहिलेको भन्दा सुधारोन्मुख रहेको पनि सुनाए ।


त्यसअघि बोलेका काठमाडौं विश्वविद्यालय संगीत विभागका राजकुमार मानन्धरले काठमाडौं विश्वविद्यालयमा इथ्नोम्युजिकोलोली (जातीय संगीतशास्त्र) अध्ययन अध्यापन भइरहेको जानकारी दिइसकेका थिए । यद्यपि, नेपालको सबै जातजातिको संगीतलाई समेट्न नसकेको मानन्धरले पनि स्विकारे ।


'काठमाडौं विश्वविद्यालयका इतिहास धेरै लामो छैन, भक्तपुरको भवन भूकम्पले भत्कायो, त्यसपछि पसेको बाढीले पुस्तक, कम्प्युटर तथा वाद्ययन्त्रमा पनि क्षति पुर्‍यो, पूर्वाधारको समस्या छ,' उनले भने, 'त्यसको बाबजुद पनि अहिलेसम्म एउटा पीएचडी थेसिसहित १३ थेसिस तयार पारिसकेका छौं ।'


उनले आगामी दिनमा संगीत विभागलाई संगीत विद्यालय बनाउने र हरेक जातीको संगीत केन्द्र बनाउने योजना पनि सुनाए । सामाजिक विभेदका कारण कसरी मौलिक संस्कृतिमा ह्रास आइरहेको भन्ने उदाहरण पनि पेस गरे उनले । सँगसँगै गितार लिएर विश्वविद्यालय प्रवेश गर्नेहरू इथ्नोम्युजिकोलोजीको अध्ययनपछि सारंगी बोकेर र्फकने गरेको पनि सुनाए ।


छलफल अब के गर्नुपर्छ भन्नेतिर पनि प्रवेश गर्‍यो । गायिका सुब्बाले लोकसंगीत जोगाउन राज्यले नै भूमिका खेल्नुपर्ने बताइन् । उनले लोक गीतलाई विद्यालय तहको पाठ्यक्रममा समावेश गर्नुपर्ने उल्लेख गरिन् । त्यसमा ललितकला क्याम्पसका प्रमुख पोखरेल पनि सहमत भए । 'हामीले हाम्रा बालबच्चालाई सानैमा मौलिक लोकसंस्कृतिको ज्ञान दिनुपर्छ, स्नातक तहमा आएपछि घोकाएर कहाँ हुन्छ ?' पोखरेलले भने । वाद्यवादक शलील सुवेदीले प्रविधिको प्रयोग गर्दै अनलाइनमार्फत खुला कक्षा सञ्चालन गर्न सकिने सुझाव दिए ।


उनीहरू संगीतको डकुमेन्टेसन (अभिलेखीकरण) गरेर मात्र संगीत जीवन्त नहुने भन्दै त्यसको निरन्तर अभ्यास गर्नुपर्ने र त्यस्तो वातावरण निर्माण गर्न राज्यलाई जिम्मेवार बनाउन रचनात्मक रूपमा सामूहिक दबाब दिनुपर्नेमा सहमत भए । संगीतलाई मनोरञ्जनको साधनमात्र ठान्ने प्रवृत्तिमा परिवर्तन हुनुपर्ने तर्क गर्दै कला अझै शिक्षाकै रूपमा ग्रहण गर्नुपर्ने उनीहरूको तर्क थियो ।

बहस सुन्न शिल्पी पुगेका कवि श्रवण मुकारुङले संगीतको क्षेत्रमा प्राज्ञिक बहस हुन राम्रो सुरुवात भएको बताए ।


'विश्वविद्यायका कोठाभित्र यस्ता बहस हुन्थे होलान्,' कवि मुकारुङले भने, 'अन्य क्षेत्रका व्यक्तित्वलाई पनि बोलाएर संगीतको बारेमा प्राज्ञिक ज्ञान दिन यस्ता कार्यक्रमलाई अन्तरक्रियात्मक बनाउन सुझाए । रैथाने संगीत अभियन्ता गायिका झुमाले विश्वविद्यालय तथा गीतसंगीतको लागि खोलिएका संघसंस्थाले नेपाली मौलिक संगीतलाई विश्वमा पहिचान दिन नसकेकोले प्रश्न गर्न, झकझकाउन र जिम्मेवार बनाउन अभियानको सुरु गरेको बताइन् ।


'विश्वविद्यालय तथा विभिन्न संघसंस्थामा संगीतको पढाइ हुन्छ । तर नेपाली मौलिक संगीतको विश्व परिवेशमा स्थान कहाँ छ ? हामीले सम्बन्धित निकायलाई प्रश्न गर्न र जवाफदेयी बनाउन अभियानको थालनी गरेको हौं ।' लिम्बूले मौलिक संगीतको प्रवर्द्धन गर्न त्रिविले विशेष कदम चाल्न आग्रह पनि गरिन् । नेपालमा त्रिविले तीसको दशकदेखि संगीत अध्यापन सुरु गरेको हो ।

प्रकाशित : वैशाख १८, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?