कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गीतकार सधैं ओझेलमा

सुशीला तामा‌ङ

काठमाडौँ — गीतकार हर्क साउदको 'सुन साइली...' ले राम्रो सफलता पायो । सामाजिक सञ्जालदेखि स्टेज कार्यक्रमहरूमा गीतले निकै स्पेस पायो । बिदेसिएका साइला र घर कुरिबसेका साइलीहरूको मनमा यो गीत इतिहासजस्तै गरी बस्यो तर साउदको चर्चा कतै भएन । जति चर्चा भयो, गायक हेमन्त राणाको भयो ।

गीतकार सधैं ओझेलमा

अझ गीतकै शब्द सापटीमा 'साइली' फिल्म नै बन्यो । त्यतातिर पनि स्रष्टा सम्झने काम भएन । उक्त फिल्ममा रहेको 'नाच माया...', 'प्याटप्याटे चप्पल...' बोलको गीत पनि उनैले रचना गरेका हुन् । फिल्म 'डमरूको डन्डिबियो' को गीत 'तितेपाती...' मा कालीप्रसाद बाँस्कोटाका साथमा साउदको पनि रचना छ । उनकै रचनामा रहेको क्याप्टेन फिल्मको 'कर्ली कर्ली कपाल...' बोलको गीतले पनि चर्चा कमायो तर कतिपय फिल्मका गीत रिलिजकै दिन पनि गीतको स्रष्टाको नाम नलिएको साउदको तीतो

अनुभव छ ।

त्यस्तै अनुभव अर्का गीतकार दिग्गज धौरालीको पनि छ । थुप्रै तीजे गीतका साथै फिल्मका गीत लेखिसकेका धौरालीका गीत पनि चर्चित छन् । पछिल्लो समय रिलिज भएको अनमोल केसी अभिनीत फिल्म 'क्याप्टेन'को 'रहर छ सँगै...' बोलको गीत धेरैले मन पराए । सोही फिल्मको 'सक्दिनँ कि बाँच्न...', फिल्म 'मेला' को 'सैब है सैब...' बोलको गीत पनि उनैले रचना गरेका हुन् । युट्युबलाई मात्रै आधार मान्ने हो भने पनि यी गीतलाई दर्शक श्रोताले अत्यधिक मन पराएका छन् । आफ्नै रचनामा पनि परिचय नपाउँदा दुःख लागेको उनको गुनासो छ । गायकलाई मात्र देखिने भएकाले दर्शकले उसकै गीत सम्झनु स्वाभाविकै रहेको अर्का गीतकार सविन एकतारे बताउँछन् । रेडियाहरूमा गीत प्रसारणका बेला पनि गीत्ाकारहरूको खोजी नगर्ने परिपाटीले गर्दा उनीहरूको पहिचान नै संकटमा रहेको धारणा उनको छ । 'मञ्जरी', 'ग्याङ्स्टार ब्लुज' 'डमरूको डन्डिबियो' जस्ता फिल्मका लागि गीत लेखिसकेका उनी अहिले आफूलाई 'गीतकारका रूपमा उदाउने कोसिस गरिरहेको मान्छे' मात्र भन्न रुचाउँछन् ।

पछिल्लो समय गीतसंगीतको बजार जति फस्टाउँदै गए, त्यति नै आफ्नो पहिचान खुम्चिँदै गएको अग्रज गीतकार रत्नशमशेर थापा स्विकार्छन् । अहिले जसले गीत गायो, त्यसकै गीत भनिदिने प्रचलनले गीतका रचनाकारहरू धेरै मारमा परेको उनको मत छ । 'ए कान्छा ठट्टैमा यो बैंस...', 'स्वर्गकी रानी...', 'गोरेटो त्यो गाउँको....', 'घुम्तीमा नआऊ है...' जस्ता गीतका रचनाकार थापाका अनुसार गीतसंगीतको जति विकास भयो, त्यहीअनुरूप रचनाकारको हुन सकेको छैन । 'एउटा गीत उत्कृष्ट बन्नुमा रचना, संगीत र गायनको उत्तिकै योगदान हुन्छ ।' उनी भन्छन्, 'गीतमा रचनाकार, संगीतकार र गायक एउटै परिवारका दाजुभाइजस्तै हुन् । रचनाकार सबैभन्दा ठूलो दाइ हो । अहिलेको परिपाटीमा आफ्नै दाजुभाइ अर्थात संगीतकार र गायकले नै गीतको रचना गर्ने स्रष्टालाई भुलिरहेका छन् ।'

अहिले जति गायकगायिका देश/विदेशका विभिन्न कार्यक्रममा गएर गाउने प्रचलन छ, त्यसबाट झनै रचनाहरू दुरुपयोग भइरहेको अर्का अग्रज गीतकार कृष्णहरि बराल दाबी गर्छन् । 'एउटा प्रयोजनका लागि दिएको गीत धेरै ठाउँमा प्रयोजनमा ल्याउनु गलत हो । 'कुनै एउटा चलचित्रका लागि गीत दिइन्छ भने त्यसभन्दा बाहेक अन्य ठाउँमा गायकले गाउँदा गीतको लेखक सम्झनुपर्छ र त्यसबापतको लाभमा पनि रचनाकारको हक लाग्नुपर्छ,' उनी भन्छन् । गीत र संगीतमा जति उन्नति भए पनि नैतिक दायित्वको भने विकास नभएको उनको आरोप छ । 'कुनै पनि गीतमा त्यसको स्रष्टा सबैभन्दा ठूलो अधिकारी हो । अरूको रचना कसैले आफ्नै सम्झनु हुन्न । स्रष्टाको सम्मान हुनुपर्छ ।'

बरालका थुप्रै रचना चर्चित छन् । विशेष गरी नेपाली आधुनिक गीतमा उनका रचना छाएका छन् । नरेन्द्र प्यासीले गाएको 'के भुल भयो पि्रया...', आनन्द कार्कीको स्वरमा रहेको 'यी हल्लाहरू हुन्...' जस्ता थुप्रै गीतका रचना गरेका बरालको अनुभवमा गायक र संगीतकारलाई भन्दा रचनाकारलाई संगीत क्षेत्रमा टिक्न गाह्रो छ । कैयौं हिट गीत दिँदा पनि रचनाकारलाई मानिसले चिन्दैनन् । आफ्नो बेग्लै परिचय दिलाउन धेरै धैर्य गर्नुपर्छ ' उनी भन्छन्ा् ।

गीत रचना गर्नु भनेको शब्दमा प्राण भर्नु हो, यो सहज नभएको गीतकारहरू बताउँछन् । एउटा गीत तयार गर्दा कैयौं पटक भावनामा डुबेर लेख्नुपर्ने हुन्छ । तयारी भएको गीत कसैले लेखेबापत थोरै रकम दिएर लगेपछि आफ्नै सम्पत्तिजस्तै गर्नाले रचनाकारहरू छायामा परिरहेको गीतकारहरूको दाबी छ । कला र सिर्जनालाई फगत व्यापारिक साधनका रूपमा व्यवहार भइरहेको गीतकार थापा बताउँछन् । 'एउटा सामान बजारमा किनेपछि जसरी आफ्नो इच्छाअनुसार प्रयोग गर्छन्ा्, त्यसरी नै स्रष्टाका रचना मनपरी रूपमा प्रयोग गरिरहेको छ,'

थापा भन्छन् ।

नयाँ पुस्ताका रचनामा अझै बढी अन्याय भइरहेको साउद र धौराली बताउँछन् । सकेसम्म निःशुल्क वा थोरै रकममा उत्कृष्ट रचना खोज्छन् । 'फिल्ममा गीत गाउने, संगीत दिने र अभिनेताहरूको मूल्य बढिरहँदा गीतकारहरूलाइ दिने मूल्य भने कहिल्यै बढैन,' साउद भन्छन्, 'जसले गर्दा स्रष्टाको रचनाप्रति नै अपमान भइरहेको छ ।'

अहिलेको प्रविधिको विकासले पनि स्रष्टाको रचना जथाभाबी रूपमा प्रयोग भइरहेका छन् । विभिन्न युट्युब च्यानलमा गीतहरू राखी अनुमतिबिनै चलाइरहेका छन् । बालसाहित्य र बालगीतहरू रचना गरेका रामबाबु सुवेदीको 'आइतबार बिहानै घामसित उठँे म' रचनालाई युट्युबमा राखिएको छ । उनको अनुमतिबिनै राखिएको यो गीतमा एक करोडभन्दा बढीको भ्युज छ । यसरी खुलमखुला रूपमा स्रष्टा मार्ने काम भइरहँदा पनि नीतिगत रूपमा प्रतिलिपि अधिकार ऐनको कार्यान्वयन नभएकामा उनले गुनासो गरे । पहिलेको दाँजोमा लेखनमा स्रष्टाको सम्पत्तिमाथि नीतिगत रूपमै केही प्रगति देखिएको भए पनि अझै पूर्ण रूपमा सुधार हुनुपर्ने बरालको मत छ ।

प्रकाशित : वैशाख २६, २०७६ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?