मिस नेपाल वर्ल्ड २०१९ को “ताज सबै उस्तै”

विपिन श्रीस

काठमाडौं — कीर्तिपुरमा बिहीबार राति अबेरसम्म चलेको ग्रान्ड फिनालेमा व्यस्त मिस नेपाल वर्ल्ड २०१९ अनुष्का श्रेष्ठ शुक्रबार काठमाडौंको अन्नपूर्ण होटलमा आराम गरिरहेकी थिइन्  । उनीसँगै थिए, मिस नेपाल युनिभर्स प्रदीप्ता अधिकारी, मिस नेपाल अर्थ रिया बस्नेत, मिस नेपाल इन्टरनेसनल मीरा कक्षपती र मिस नेपाल सुप्रनेसनल रोज लामा  ।

प्रतियोगितामा प्रमुख निर्णायक इला शर्माले ‘अधिकार र स्वतन्क्रतासम्बन्धी धारणा व्यत्त गर्न’ सोधेको प्रश्नको उत्तर दिँदै अनुष्का मिस नेपाल वर्ल्ड बनेकी हुन् । ‘हाम्रा लागि के गरिनुपर्छभन्दा पनि हामीले के गरिरहेका छौं भन्नेमा केन्द्रित हुनुपर्ने’ जवाफसहित उनले नतिजा आफ्नो पक्षमा पारिन् ।


‘कुन ताज सबैभन्दा महत्त्वपूर्ण ?’ निकै बेरको आग्रहपछि कान्तिपुरसँग कुराकानी गरेका उपाधि विजेताको जवाफ उस्तै थियो, ‘सबैको महत्त्व बराबर छ । सबैले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने हो ।’ यद्यपि, मिस नेपाल युनिभर्स प्रदीप्ताले ‘मिस नेपाल वर्ल्ड’ बन्न चाहना लुकाइनन्, ‘मिस नेपाल वर्ल्डको टाइटलको अपेक्षा गरेकी थिए, युनिभर्स भए ।’


यसबाट अन्य उपाधिको भन्दा मिस नेपाल वर्ल्डको महत्त्व बढी छ भन्न सकिन्छ । आम बुझाइ पनि त्यही छ । तर यी पाँच ताजधारी त्यसलाई स्विकार्दैनन् । भन्छन्, ‘त्यो पहिले मिस नेपाल, फर्स्ट रनरअफ, सेकेन्ड रनरअफ हुनेजस्तो होइन नि ।’ कुराकानीको सुरुमा ‘तपाईं किन मिस नेपालमा आउनुभएको?’ प्रश्नमा अनुष्काले भनिन्, ‘हुन त केही गर्न मिस नेपालमै आउनुपर्छ भन्ने होइन, तर मिस नेपालको ताज पहिरिएपछि पहिचान बन्छ, एक्स्पोजर पाइन्छ ।’ उनको विचारमा बाँकी चारै जना सहमत भए । तर, सपना भने सबैका आ–आफ्नै छन् ।


अनुष्का बौद्धिक पलायन रोक्न चाहन्छिन्, मानिसको क्षमता अभिवृद्धिमा काम गर्नु उनको इच्छा छ । ‘हामीले प्रविधिमार्फत विदेशमा भएका नेपालीको ज्ञान प्रयोग गर्न सक्छौं । ज्ञान र अवसरको अभिवृद्धि गर्दै स्वदेशमै अवसर सिर्जना गर्न सक्छौं, यसरी ‘ब्रेन ड्रेन’ रोक्न सकिन्छ, म त्यसको ब्रिज बन्न चाहन्छु,’ अनुष्काले थपिन्, ‘हुन त ठूलो कुरा गरी भन्ने लाग्न सक्छ, हामीले सुरुवात भने सानै कामबाट गर्छौं ।’


मिस नेपाल वर्ल्डपछि मिस नेपाल युनिभर्सले आफ्नो सपना साटिन् । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान चिकित्साशास्त्र महाविद्यालयमा चिकित्सा शिक्षा अध्ययनरत प्रदीप्ता गर्भवती महिला र नवजात शिशुको स्वास्थ्यको क्षेत्रमा काम गर्न चाहन्छिन् ।

विश्व स्वास्थ्य संगठनको प्रमुख बन्ने महत्त्वाकांक्षी सपना बोकेकी प्रदीप्ताले तत्काल भने सौन्दर्य प्रतियोगितामा अन्तर्राष्ट्रिय ताज पहिरिने सपना पूरा गर्न प्रयास गर्ने बताइन् । मिस इन्टरनेसनल मीरालाई बोल्न मन पर्छ । थुफ्रै कार्यक्रम सञ्चालन गर्ने त्रममा नेपालका धेरै ठाउँमा पुगेकी छन् । तर, उनको सोच भने विद्यालयमा ‘माइन्डफुलनेस’ को शिक्षा कसरी दिने? मानिसलाई कसरी खुसी बनाउने भन्नेमा केन्द्रित छ ।


मिस सुप्रनेसनल रोजलाई बालबालिकाले मजदुरी गरिरहेको विषयले पोल्छ । उनलाई बाल मजदुरको अधिकारको लागि काम गर्ने चाहना छ । भन्छिन्, ‘अहिले नै धेरै गर्न नसके पनि विद्यालयसम्म ल्याउने–पुर्‍याउने काम गर्न सक्छौं ।’


कान्तिपुरसँग झन्डै एक घण्टा गफिएका ताजधारी सुन्दरीले आफू सफल भएलगत्तै परिवार, आफन्त र सहयोगीको स्मरण गरे । ‘अरू कोही विशेष मान्छे पनि थिए कि ?’ भन्ने प्रश्नको सोधियो । मीराले प्रश्नको आशय नबुझेर केहीबेर अलमलिइन् । अनुष्काले विशेष व्यक्ति भएको स्विकारिन् । अन्यले त्यस्तो कोही नभएको जवाफ दिए । मिस नेपालपछि कलाकारिता क्षेत्रमा लागेको देख्न पाइन्छ । नायिका बन्ने या कला क्षेत्रमा लाग्ने रुचि छ कि छैन? भन्ने प्रश्नमा रोजले आफू सेलिब्रेटी बन्न मिस नेपालमा नआएको भन्दै तत्काललाई कुनै सम्भावना नरहेको बताइन् । रियाले आफूलाई अभिनय गर्न नआउने भन्दै त्यसबाट उम्कने प्रयास गरिन् ।


विश्व स्वास्थ्य संगठनको प्रमुख बन्ने महत्त्वाकांक्षा बोकेकी प्रदीप्ताले पनि कला क्षेत्रमा लाग्ने कुनै चाहना नभएको बताइन् । अनुष्का र मीराले भने भविष्यको कुरा भविष्यकै गर्भमा छोडिदिए । अस्ट्रेलियाबाट आएकी अनुष्का र अमेरिकाबाट फर्केकी रोजलाई उतै बस्ने कि नेपालमै बस्नुहुन्छ ? भन्ने थप प्रश्नमा दुवैले नेपालमै काम गर्ने चाहनालाई दृढ रूपमा प्रस्तुत गरे ।

प्रकाशित : वैशाख २८, २०७६ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्

मैदानमा मिस नेपाल

विपिन श्रीस

काठमाडौँ — अमेरिकामा अध्ययन गर्दै आएकी ललितपुरकी २० वषर्ीया शुभेच्छा अधिकारीलाई आफ्नो देशका लागि केही गर्नुपर्छ भन्ने लागिरहन्थ्यो । अध्ययनलाई निरन्तरता दिन पनि सकिने र समाजमा केही योगदान गर्न पनि सकिने मञ्च (प्लेटर्फम) को खोजीमा थिइन् उनी ।

उनलाई लाग्यो, 'त्यो उपयुक्त मञ्च 'मिस नेपाल' हुन सक्छ ।' कलेज बिदा भएको अवसरमा मिस नेपालको अडिसनमा भाग लिने अवसर पनि थियो । छनोट भइन् र टप २५ मा पर्न सफल पनि भइन् । शुभेच्छा इँटाभट्टामा काम गर्न बाध्य बालश्रमिकको हितका लागि काम गर्न चाहन्छिन् । मिस नेपाल भएपछि आफ्नो उद्देश्य पूरा गर्न सहज हुने विश्वास छ उनमा । मिस नेपाल हुने भनेपछि अलिअलि डर पनि छ । भन्छिन्, 'डरले सफलतातर्फ दोहोर्‍याउँछ, अझै तयारी गर्नुपर्छ भन्ने प्रेरणा मिल्छ ।'

गीत गाउनु, नाच्नु र नाटक गर्नु काठमाडौंकी २३ वषर्ीया प्रथा अधिकारीका रुचि हुन् । सरकारी सेवामा प्रवेश गरी देशको सेवा गर्न मन लाग्छ प्रथालाई । त्यसका लागि तयारी पनि गरिरहेकी छन् । उनलाई रोजगारीका लागि बिदेसिन बाध्य भएका नेपालीको कथाले दुख्छ । उनी चाहन्छिन्, 'कामका लागि बिदेसिएका नेपालीलाई स्वदेशमै फर्काउन पाए हुन्थ्यो ।' उनी पनि आफ्नो सोचाइ पूरा गर्न मद्दत मिल्ने प्लेटर्फमको खोजीमा थिइन् । यद्यपि, मिस नेपाल बन्ने उनको सपना तीन कक्षामा पढ्दादेखिकै हो ।

भैरहवाकी संस्कृति घिमिरेले पनि मिस नेपाल बन्ने सपना देखेको धेरै वर्ष भयो । उनी पनि सपना पूरा गर्ने यात्राको अन्तिम घडीमा छिन् । 'मिस नेपाल' को विभिन्न तालिमबाट धेरै सिक्ने अवसर पाएको बताउने उनी मिस नेपालको ताज पहिरिनेमा विश्वस्त छिन् । 'मिस नेपाल जित्छु भन्नेमा विश्वस्त छु, हुनु पनि पर्छ,' आफ्नो दाबेदारी प्रस्तुत गरिरहँदा उनी यत्तिकैमा रोकिइनन् । भनिन्, 'सबै डिजर्भिङ हुनुहुन्छ ।' २५ जना प्रतियोगीकै सम्भावना उत्तिकै छ । कम्प्युटर साइन्सकी विद्यार्थी उनले मिस नेपाल बनेपछि प्राविधिक शिक्षामा काम गर्न चाहेको बताइन् ।

गर्भवती आमा र नवजात शिशुको स्व्ाास्थ्य क्षेत्रमा काम गर्न चाहने प्रदीप्ता अधिकारीको भने मिस नेपाल मात्र होइन, अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको ताज उचाल्ने सपना छ । 'मिस नेपालको ताज जित्छु भन्नेमा आशावादी छु, आत्मविश्वास छ,' एमबीबीएस गरिरहेकी प्रदीप्ता भन्छिन्, 'यद्यपि, जितिनँ भने पनि आफूले गर्न चाहेको काममा लागिरहन्छु ।'

सानामा मिस नेपालको ताज देखेर लोभिएकी रक्षा उप्रेतीले सुन्दरता भनेको बाहिरी रूप मात्र होइन भन्ने बुझेकी छन् । उनलाई मिस नेपालको तालिमले आत्मविश्वास दिएको छ । जित्नु मात्र ठूलो कुरा होइन भन्ने सिकाएको छ । रक्षा भन्छिन्, 'ताज पहिरिनेमा आशावादी छु, पाइनँ भने पनि अगाडि बढ्छु ।' रक्षा या शुभेच्छाको मात्र होइन, २५ जना प्रतियोगीलाई नै मिस नेपालको ताज पहिरिने आशा छ, आत्मविश्वास छ । त्यसको फैसला भने बिहीबार राजधानीमा हुँदै छ ।

मिस नेपाल नभए पनि निराश नहुनेमा उनीहरू ढुक्क छन् किनभने मिस नेपालको गु्रमिङले उनीहरूलाई हरेक व्यक्ति आफैंमा प्रतिभाशाली हुन्छन् भन्ने शिक्षा दिएको छ । आयोजक हिडेन टे्रजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपति यसपालिको मिस नेपाल प्रतियोगी सबै उत्तिकै प्रतिभावान् रहेको बताउँछन् । 'अघिल्ला संस्करणमा अनुमान गर्न सकिने स्थिति थियो, यो संस्करणमा छैन,' उनले भने ।

कोरियोग्राफर रचना गुरुङले सबै प्रतिस्पर्धीले कडा मिहेनत गरेको बताइन् । 'तालिमका लागि समय कम थियो । त्यसका बाबजुद पनि सबै प्रतिस्पर्धीले कडा मिहेनत गरेका छन्,' उनले भनिन् । हरेक वर्ष विशेष हुने भए पनि यो वर्ष सिल्भर जुब्ली भएकाले झनै उत्साहित भएको उनले बताइन् । कक्षपतिले २५ वर्षअघि मिस नेपाल सुरु गर्दा सिल्भर जुब्लीसम्म आइपुग्छौं त भन्नेमा शंका रहेको उल्लेख गर्दै भने, 'विभिन्न कठिनाइका बीच यहाँसम्म आइपुग्यौं, एकदम खुसी छौं ।'

उनले प्रतियोगिता सुरु गर्दा भौतिक पूर्वाधार र समाजको मनोवैज्ञानिक स्थिति अहिलेको जस्तो नभएको सम्झना गरे । 'त्यतिबेला सुरु गर्दा सौन्दर्य प्रतियोगिता भनेको के हो भन्ने जस्ता जिज्ञासा थिए, अहिले अन्तर्राष्ट्रिय ताज कहिले पाउने भन्ने अपेक्षा आइरहेको छ,' कक्षपतिले भने, 'प्रमुख उपाधि नै नजिते पनि सात वर्षको अवधिमा उल्लेखनीय सफलता हासिल गरेका छौं ।' उनले सौन्दर्य प्रतियोगिताबारे चल्ने विभिन्न हल्लाप्रति इंगित गर्दै चुनौतीमा काम गर्न आनन्द लाग्ने पनि बताए । उनले यो अवधिमा सकारात्मक सुझावलाई ग्रहण गर्दै आएको र नकारात्मक टिप्पणीप्रति कुनै आग्रह पूर्वाग्रह नरहेको सुनाए ।

पच्चीस वर्षको अवधिमा झन्डै पाँच सय जना प्रतियोगीलाई तालिम प्रदान गरी उनीहरूको जीवनमा सकारात्मक परिवर्तन गर्न सफल भएको कक्षपतिले दाबी गरे । यसपालि पहिलो पटक आउटडुरमा कार्यक्रम आयोजना गरेको छ । यस वर्ष १८ सय दर्शकले कार्यक्रमस्थलबाटै अवलोकन गर्न सक्ने गरी ल्याब्रेटोरी बोर्डिङ स्कुलमा मञ्च व्यवस्थापन गरेको छ । आगामी वर्षमा उपत्यकाबाहिर जाने योजना रहेको उनले सुनाए । 'यो मिस काठमाडौं, मिस पाटन, मिस भक्तपुर मात्रै त होइन नि,' उनले भने, 'पहिले पूर्वाधार थिएन, जान्छौं भनेर पनि जान सक्थेनौं, अहिले धेरै परिवर्तन भएका छन् ।'

मेकअपलाई लिएर भएको हल्लाप्रति प्रतिक्रिया दिँदै कक्षपतिले भने, 'मेकअप त अप्सराहरूले पनि गर्थे, मध्ययुगीन समयमा पनि गर्थे, अहिले पनि आफ्नो छालाको स्वास्थ्यका लागि गर्दा हल्ला गर्नुपर्ने कारण नै के छ र ?' बेलाबेलामा आफूहरूमाथि लाग्ने आरोपमाथि जानकार रहको बताउँदै कक्षपतिले भने, 'हामीले के गरिरहेका छौं भन्नेप्रति हामी सचेत छौं, सबैलाई खुसी बनाउन सक्दैनौं, धेरै खुसी नै छन् । नभए त 'मिस नेपाल' पाँच वर्षमै बन्द हुन्थ्यो नि ।'

मिस नेपाल २०१८ शृंखला खतिवडाले पहिलेभन्दा व्यवस्थापनका पक्षमा सुधार हुँदै गएको प्रतिक्रिया दिइन् । मिस नेपाल भइसकेपछि जिम्मेवारी थपिने भन्दै आफ्नो धरातल नबिर्सीकन जिम्मेवारी पूरा गर्नुपर्ने सुझाव दिइन् ।

यो उपाधि यात्रामा रहेका २५ जना युवतीमा निशा पाठक, एलिशा जोशी, सोफिया भुजेल, रिया बस्नेत, संस्कृति घिमिरे, अनुष्का श्रेष्ठ, जेनी महर्जन, अस्मिता महर्जन, किरण थापा, प्रदीप्ता अधिकारी, नीतिका सराह कर्माचार्य, रोज लामा, सारा बजिमय, लक्ष्मी राउत, रक्षा उप्रेती, मीरा कक्षपति, जेनिशा थपलिया, पूजा श्रेष्ठ, विपना सुवेदी, शुभेच्छा अधिकारी, प्रकृति कटवाल, न्यान्सी बोगटी, शिवानी घिमिरे, सान्त्वना मालाकार तथा प्रथा अधिकारी छन् ।

प्रकाशित : वैशाख २६, २०७६ ०८:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्