कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिंसाविरुद्ध महिला मूर्तिकार

अमृता अनमोल

बुटवल — मूर्तिकलामा महिला कमै भेटिन्छन् । कार्यशालामा जाने र मूर्ति बनाउने त झन् भेट्नै मुस्किल छ । यस्तोमा अनमारी तामाङ अपवाद बनेकी छन् । उनी मुलुकका विभिन्न स्थानमा सञ्चालन हुने मूर्ति कार्यशालामा पुग्छिन् ।

हिंसाविरुद्ध महिला मूर्तिकार

काठमाडौं बूढानीलकण्ठकी उनी साताअघि बुद्ध मावली देवदहमा भेटिइन् । त्यहाँ मुलुकका चर्चित मूर्तिकारले मुढामा बुद्ध र मावली झल्काउने मूर्ति बनाएका थिए । १७ जनाको समूहमा उनी एक्ली महिला कस्सिएकी थिइन् ।


४२ डिग्री तापक्रमको रापमा तपतप पसिना चुहाउँदै अनमारी काठमा बुट्टा भर्दै थिइन् । ‘सालको काठमा आमाको माया देखाउँदै छु,’ अनमारीले भनिन्, ‘आमाको मायाबिनाको संसार अपूर्ण छ भनेर देखाउन यसो गरेकी हुँ ।’ बुद्धकी पत्नी यशोधरा, आमा मायादेवी र हुर्काउने कान्छीआमा प्रजापति गौतमी तीन महिला शक्ति देवदहमा जन्मेका हुन् । बुद्ध दर्शनमा महिलाको ठूलो भूमिका छ । ‘बुद्धभूमिमा काखमा बच्चा च्यापेकी आमा मायादेवीको कल्पना गरुन् भनेर यस्तो चित्र बनाएँ,’ अनमारीले भनिन्, ‘अमूर्त मूर्ति छ । जो कोही आएर घोरिने छन् ।’


कीर्तिपुरको कालु पाण्डे युद्धपार्कमा दुई महिनाअघि मूर्तिकला कार्यशाला भएको थियो । त्यहाँ पनि अनमारी एक्ली महिला मूर्तिकार थिइन् । उनले ढुंगाबाट मूर्ति बनाइन् । युद्धपार्कमा के बनाउने सुरुमा उनी अलमलिइन् । झट्ट मनमा आयो युद्धपार्कमा शान्तिको खोजी गर्नुपर्छ । हावामा शान्तिको दियो बलेको मूर्ति बनाइन् । ‘धेरैले मन पराउनुभयो,’ उनले सुनाइन्, ‘आयोजकले पनि धेरै प्रशंसा गर्नुभयो ।’ सामान्यतः मूर्ति तीन किसिमका हुन्छन् । अमूर्त, अर्धमूर्त र मूर्त । अनमारी अमूर्त चित्र बनाउँछिन् ।


‘मूर्त चित्र मान्छेले तत्काल हेरेर थाहा पाउँछन् । मन परे हेर्छन्, नत्र वास्ता गर्दैनन् । ‘तर अमूर्त मूर्ति जोकोहीले हेर्छन् । आफूअनुरूपको कल्पना र व्याख्या गर्छन्,’ अनमारीले भनिन्, ‘मलाई लाग्छ मेरा मूर्ति मान्छेले धेरैबेर हेरून् । आफ्नो कल्पना अनुसार बुझून् । त्यसैले यता भविष्य बनाउँदै छु ।’


त्रिभुवन विश्वविद्यालयमा ललितकलामा स्नातकोत्तर गरिरहेकी अनमारी मूर्तिकलामा पनि स्नातकोत्तर गर्ने एक्ली महिला हुन् । विश्वविद्यालयमा उनी तेज विद्यार्थीमा दरिन्छिन् । अहिलेसम्म उनले एक दर्जन ढुंगा र एक दर्जन काठका मूर्ति बनाएकी छन् । देशका विभिन्न क्षेत्रमा भएका आठवटा मूर्तिकला कार्यशालामा सहभागी भएकी छन् ।


पछिल्लो समयमा मूर्ति बनाउने प्रस्ताव गर्नेहरू बढेका छन् । ‘सुरुसुरुमा त तिमी केटीमान्छे कसरी बनाउछ्यौ भनेर सोध्थे । केटा मूर्तिकारहरू खोज्थे,’ उनी गफिइन्, ‘अहिले विश्वास बढ्दै गएको छ । यो मेरो काम र लगावले भएको हो ।’


काठमाडौंकी रैथाने परिवारमा जन्मे हुर्केकी अनमारी परिवारकी पनि एक्ली छोरी हुन् । अनमारी मूर्तिकार बन्नु आफन्त र छिमेकीले पनि अचम्म मान्छन् । तर, अनमारीलाई सामान्य लाग्छ । उनलाई सानैदेखि कलामा निकै रुचि थियो । पेन्टिङ गर्थिन् । चित्र बनाउँथिन् । पढाइमा अब्बल उनले एसएलसीपछि ए लेभल पढिन् ।


धेरैले विदेश पढ्न जान सुझाए । तर, अनमारीको मोह मूर्तिकलामा बस्यो । ‘भावना र अनुभूति देखाउने माध्यम हो मूर्तिकला,’ उनले भनिन्, ‘मन लगाएर काम गरे आफ्नो इच्छा पनि पूरा हुन्छ । केही नयाँ प्रतिभा पनि देखाउन सकिन्छ भनेर यता लागें ।’ अनमारीलाई मूर्तिको माध्यमबाट महिला सशक्तीकरण र साहस देखाउन मन लाग्छ । महिला हिंसा र भेदभावको विरोध गर्न मन लाग्छ ।


‘लोकतन्त्र आयो तर हाम्रो देशमा महिला स्वतन्त्रता अझै आएको छैन,’ अनमारीले भनिन्, ‘यसैले महिला सशक्तीकरणका लागि महिला हिंसा र लैंगिक दूरी घटाउने मूर्ति धेरैभन्दा धेरै बनाउने इच्छा छ ।’ मूर्तिकला कठोर काम हो । कहिले ढुंगा त कहिले काठका मुढा फोर्नुपर्छ । कहिले मूर्ति बनाउँदा बनाउँदै आफैं दुर्घटनामा परिन्छ ।


नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मूर्तिकला विभागका प्रमुख लालकाजी लामाका भनाइमा यसकारण धेरै महिलाले मूर्तिमा जोखिम उठाउन खोज्दैनन् । जसले जोखिम उठाएर काम गर्न खोज्छन् । तिनलाई परिवारले सहयोग गर्दैनन् । ‘यस्तोमा अनमारी ढुंगाको कापमा उम्रेकी फूल हुन्,’ उनले भने, ‘निरन्तरता दिन सके यिनको भविष्य राम्रो छ ।’

प्रकाशित : जेष्ठ २४, २०७६ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?