कलामा पोखिएको युवा मन

कान्तिपुर संवाददाता

काठमाडौँ — घडीको सिधा अर्थ हुन्छ, समयमापक । भिन्न र सिर्जनात्मक दृष्टिबाट हेर्ने हो भने घडीमा धेरै अर्थहरू भेटिन सक्छन् । जस्तो कि, सिर्जना कलेजमा अध्ययनरत निखिल शाक्य । उनले घडीलाई मानव जीवनको गतिसँग तुलना गर्दै सिर्जना कोरेका छन् ।

समयको गतिसँग मानव जीवनको चक्रलाई जोडेर उनले कलात्मक अभिव्यक्ति दिएका हुन् । विभिन्न पाँच चित्रको सिरिजमा प्रस्तुत गरिएको उनको कला बबरमहलस्थित आर्ट काउन्सिलमा हेर्न सकिन्छ । उनीलगायत थुप्रै तन्नेरीको कोरेको कला ग्यालरीमा प्रदर्शनीरत छन् ।

सिरिजमध्ये निखिलले सुरुको घडीको गति धेरै देखाएका छन् भने क्रमशः त्यसलाई घटाउँदै लगेर अन्तिम सिरिजको चित्रमा घडी रोकिएको छ । त्यसैगरी घडीभित्रको मानव आकृतिमा पोतिएको रंग क्रमशः फिक्का हुँदै गएर अन्तिममा खाली देखिन्छ । ‘मानिस विभिन्न समयमा बाँचिरहेका हुन्छन् । असल, खराब दुवै समयमा मानिसको संघर्ष जारी हुन्छ । बालकदेखि बुढ्यौलीसम्मको मानिसको समय एउटै हुन्न,’ उनी आफ्नो चित्रको अर्थ लाउँछन्, ‘मानिसले आफू कुन समयमा कसरी बाँचेको छ भनी आफ्नो समयलाई आफैँले चिन्नुपर्छ । जब आफ्नो समय सकिन्छ, जीवन पनि सकिन्छ ।’

नयाँ पिँढीका युवापुस्तामा एउटै वस्तुप्रति पनि अनेकौँ भाव र विचारहरू यसरी नै कलामा प्रस्तुत भइरहेका छन् । सिर्जना कलेज अफ फाइन आर्टस कक्षा १२ का ३० विद्यार्थी चित्रकारका सिर्जनामा यस्तै नयाँ पिँढीको मनोविज्ञान झल्किन्छ । सोमबारदेखि ‘द बर्डस्’ शीर्षकमा जारी प्रदर्शनीका कलाकृतिहरूमा मनोविश्लेषणसहितका भाव पनि पोखिएका छन् । अध्ययनकै सिलसिलामा तयार भएका कलाहरू भए पनि निकै परिपक्वता भेटिने कला प्राध्यापक देवेन पाण्डेले बताए । ‘चित्रहरूमा मिहिनेत, लगाव र कलाप्रतिको प्यासन झल्किन्छ,’ उनले भने, ‘विषयवस्तुका हिसाबले पनि चित्रहरू गहकिला र अर्थपूर्ण छन् ।

कलामा विषयवस्तु तथा त्यसको भाव उतार्न जटिल कार्य भए पनि प्रदर्शनीले नयाँ उत्साह थपिएको युवा चित्रकार शक्तिराज राई बताउँछन् । अग्रिम राईले अहिलेको बजारिया प्रभाव र आर्थिक भूमण्डलीकरणको सन्दर्भलाई सुन्दर ढंगले कैद गरका छन् । उनको चित्रमा कोकाकोलाका क्यान देखिन्छन् भने केही चित्रमा सांस्कृतिक प्रभाव भेटिन्छन् ।

आफूलाई अभिव्यक्त गर्न उनले पेपरमा मिक्स मिडिया र पोस्टर कलर प्रभोग गरेका छन् । अंकित लिम्बूले पुरानो समयको युरोपेली कफिसपजस्ता दृश्यमार्फत नोस्टाल्जिया पस्केका छन् भने अश्रृणा तुलाधारले मिथिला र पौभाबाट रेखाहरू सापटी लिएझैं देखिन्छ । अग्रजहरूबाट प्रभाव ग्रहण गरेर सिर्जनशीलता प्रकट गर्न खोजेको बताइन् रश्मि श्रेष्ठले । पेन्टिङ, ड्रइङ र एप्लाइड आर्टहरूमा वाटर, पोस्टर, इन्क कलरहरू प्रयोग भएका छन् । चारकोल माध्यममा पनि कलाहरू तयार गरिएका छन् । प्रदर्शनीमा मूर्तिहरू पनि राखिएका छन् ।

सुबोध लिम्बूले चारकोल माध्यममा आफ्नै पोट्रेटमा जीवनका नकारात्मक पक्षको प्रभाव फुटेको ऐनाका रूपमा प्रस्तुत गरेका छन् । उनका अनुसार नकारात्मक पक्षहरूले पनि अनुवभसँगै मानिसलाई केही राम्रो गर्ने सोच सिकाउँछ । कुसुम राई, खुश्बु नेन्हाफुकी, नोर्बु लामा, रोशन बाडे, योगदास मानन्धरले नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन लक्षित गरेर चित्र बनाएका छन् ।

प्रदर्शनीमा अहिले निकै बढिरहेको गर्भपतन समस्यालाई दीपिका शाक्यले सुन्दर बनाई प्रस्तुत गरेकी छन् । युवापुस्ताको प्रेम, वियोग र विगतको प्रेमले वर्तमानमा पारेको प्रभावलाई ‘एज लभर’ शीर्षकमा निखिलले तयार पारेको कला उत्कृष्ट देखिन्छ । उनी भन्छन् ‘यो लभको पास्ट मेमोरी हो । ट्र्याजिडीभएपछि त्यही मेमोरीहरू नै मानिसलाई पीडा दिन्छ ।’

प्रदर्शनीमा रहेका १७३ वटा पेन्टिङहरू र १६७ वटा ग्राफिक आर्टहरूमा सामाजिक, राजनीतिक, पर्यटन, धार्मिक, प्राकृतिक विषय समेटिएका छन् भने महिला हिंसा, बालश्रमशोषणजस्ता जल्दाबल्दा मुद्दा पनि कलामा आएका छन् । प्रदर्शनी बिहीबारसम्म रहने छ ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०८:५४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

“हरेक संस्कृति विश्वको”

कान्तिपुर संवाददाता

काठमाडौँ — बौद्धनाथ महाचैत्य राजधानीमै छ । महायानी बौद्धमार्गी यसलाई आस्थाको ठूलो केन्द्र मान्छन् । अलिक यता छ, पशुपतिनाथ । हिन्दुहरू यसलाई पवित्र धाम मान्छन् । संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले भने मूर्त/अमूर्त जुनसुकै संस्कृति भए पनि अबको समय त्यो विश्वकै हुने बताए ।

राजधानीको राष्ट्रिय सभागृहमा बुधबारदेखि सुरु तामाङ फिल्म महोत्सवमा राखिएका परम्परागत सामग्रीको प्रदर्शनी । तस्बिर : बिजु महर्जन/कान्तिपुर

‘अब संस्कृतिलाई भूगोलले छेक्दैन,’ तामाङ इन्टरनेसनल इन्डिपेन्डेन्ट फिल्म फेस्टिभलको उद्घाटन गर्दै बुधबार राजधानीमा जोशीले भने, ‘सुन्दा र हेर्दा सानो समुदायको जस्तो लागि पनि विश्वकै सम्पत्ति हुन् यी ।’

विश्वव्यापी रूपमै युनेस्कोले पुराना कला, संस्कृति र सम्पदालाई ‘वर्ल्ड हेरिटेज’ को रूपमा संरक्षण गर्ने नीति लिइरहेको बेला नेपालका लागि यो निकै ठूलो अवसर रहेको उनले बताए । ‘तामाङले गाउने भए पनि सेलो नेपालकै गीत हो,’ उनले भने, ‘नेपाल विश्वको अंग भएको नाताले सेलो पनि विश्वकै संस्कृति हो ।’

यस्ता सांस्कृतिक सघनतालाई केन्द्रदेखि प्रदेश सरकारसम्मले संरक्षण र प्रवर्द्धनको नीति लिनुपर्ने पनि उनले औंल्याए । करिब ४५ मिनेट लामो विद्वत् प्रवचनमा जोशीले परम्परागत रूपमा मात्र नभई मिडियाका अनेक फर्मबाट पनि संस्कृति र मौलिकतालाई नयाँ ढंगले विश्वव्यापी बनाउने सकिने’ तर्क गर्दै फिल्म एउटा माध्यम हुनसक्ने बताए ।

यस्तै ध्येय बोकेर तामाङ भ्वाइस, सेलो फाउन्डेसन र एससीआरसीले गरेको फिल्म फेस्टिभलको उद्घाटन भने काभ्रेको तेमाल क्षेत्रमा मात्रै हुने भनिएको बुद्धचित्तमाथि निर्मित डकुमेन्ट्री फिल्म ‘द सेक्रेड ट्री’ प्रिमियरबाट गरिएको थियो । काभ्रेकै तेमालबाट फैलिएको नेपाली रैथाने वनस्पतिका रूपमा अनुसन्धानबाट पुष्टिसमेत भइसकेको बुद्धचित्तबारे डकुमेन्ट्रीमा यसको उत्पत्ति कथामाथिको बौद्ध मिथ, स्थानीय विश्वास, खेती प्रक्रिया, बजार मूल्यदेखि धार्मिक–सांस्कृतिक अभ्याससम्म समेटिएको छ । डकुमेन्ट्रीको निर्देशक जगत तामाङले गरेका हुन् ।

तामाङ समुदाय सम्बद्ध परम्परागत थाङका चित्रकला, मूर्तिकला, मौलिक भेषभूषासमेतको प्रदर्शनी रहेको महोत्सवको पहिलो दिन क्यानडाका फिल्मकर्मी ग्य्राब्रिइला ग्रानोटको ‘पिलग्रिम टु पाँचपोखरी’, सञ्चु थोकरको निर्देशन रहेको ‘स्यामा पिन्बा’, कमल योञ्जनको निर्देशन रहेको ‘मधु राजा’, ‘छ्यो पोङ’, राजकिङ वाइबाको ‘जर्नी टु सिङला’ र हेम बमजनको ‘ह्याङला बोन’ देखाइए ।

‘पिलग्रिम टु पाँचपोखरी’ मा सिन्धुपाल्चोकको पाँचपोखरीमा तामाङ झाँक्री र सर्वसाधरणले गर्ने यात्रा थियो भने ‘स्यामा पिन्बा’ मा छोरी ठूली भएपछि उपहार स्वरूप अभिभावकले फरिया दिने संस्कृति । त्यस्तै ‘छ्योपोङ’ मा भागीविवाह गरेकी छोरीलाई माइतीले स्विकार्ने तामाङ विधि थियो भने ‘मधु राजा’मा काँठ क्षेत्रको तामाङ संस्कृति ।

धादिङको रुबी भ्याली क्षेत्रको प्राकृतिक, सांस्कृतिक सौन्दर्यलाई ‘जर्नी टु सिङला’ मा कैद थियो भने ‘ह्याङला बोन’ मा तामाङ समुदायका प्रचलित बोन परम्परा खोजी गर्दै हिँड्ने एक युवकको कथा समेटिएको थियो ।

महोत्सव उद्घाटन क्रममा पूर्वमन्त्री शेरबहादुर तामाङ, संयुक्त राष्ट्रसंघ आदिवासी स्थायी मञ्चका पूर्व सदस्य परशुराम तामाङ, सभासद कृष्ण राई, लेखक एवं संस्कृतिविद् अजितमान तामाङ, भाषाविद् अमृत योञ्जन, तामाङ घेदुङका महासचिव बाबु घिसिङलगायतले फिल्ममार्फत संस्कृति र मौलिक पहिचान सम्बर्द्धन गर्न फेस्टिभलले सघाउने बताए ।

दुईदिने फेस्टिभलमा क्यानाडा, नेपाल, अमेरिका, जापानलगायत मुलुकका चलचित्रकर्मीले तामाङ थिममा आधारित रहेर बनाएका १८ वटा फिल्म देखाइने फेस्टिभल अध्यक्ष विगेन्द्रसिंह वाइबाले बताए । फेस्टिभलअन्तर्गत बिहीबार १२ वटा फिल्म देखाइने र दुईवटा प्यानल डिस्कसन गरिने संयोजक कुमार मोक्तानले जनाए ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०८:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT