कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

एकै घरमा ४ कलाकार

रूपन्देही — सानैदेखि खेल्नभन्दा रेडियोमा गीत सुन्ने रुचि थियो । रेडियो नेपालमा लोकगीत सुनेर गाउन सुरु गरिन् । गीतकी पारखी हरिमाया रायमाझी अहिले लोकदोहोरीकी चिनिएको कलाकार भइसकिन् ।

एकै घरमा ४ कलाकार

अर्घाखाँचीको भगवती गाउँमा जन्मिएकी उनले त्यहीँबाट एसएलसी उत्तीर्ण गरिन् । त्यसपछि गुल्मीको तम्घास हुँदै कलाकार बन्ने जोस लिएर ०६५ सालमा रूपन्देहीको भैरहवा झरिन् ।


गाउँमै छँदा लोकदोहोरी गीत प्रतिष्ठानबाट प्रतियोगितामा भाग लिएकी थिइन् । त्यही अनुभवले यहाँ परिचित हुन सजिलो भयो । भैरहवास्थित रूपन्देही एफएममा दोहोरी गीतको कार्यक्रम सञ्चालन गर्न भ्याइन् । ७ महिना सदरमुकाममा बिताएपछि उनले बुटवल आएर मिर्मिरे दोहोरी साँझमा ०७३ सालसम्म काम गरिन् ।


त्यही अवधिमा पहिलो तीज गीतको एल्बम सार्वजनिक गरिन् । ‘पासपोर्ट बनाइदेऊ बूढा, नक्कले भिनाजु, ओठ बिगार्‍यो खैनी’ ले जस्ता गीत गाएर प्रशंसा बटुलिन् । ‘दोहोरीमा काम गर्ने भनेपछि हेर्ने दृष्टिकोण फरक हुने,’ उनले भनिन्, ‘धेरै वर्षसम्म परिवारलाई जानकारी नगराएर रोजेको कलाकारिता क्षेत्र छोडन मन भएन ।’


सुरुमा अभिभावकलाई कार्यालयमा काम गर्छु भनेर ढाँटेको उनले सुनाइन् । यथार्थ जानकारी भए परिवारबाट टाढिनुपर्ने अवस्था थियो । उनले हिम्मत हारिनन् । अर्कोतर्फ मुलुकमा विभिन्न स्थानमा सञ्चालन हुने दोहोरी प्रतियोगितामा भाग लिइरहिन् । ०७० सालमा राष्ट्रिय लोक दोहोरी अवार्ड प्राप्त गरिन् । यही अवधिमा गीत गाउन उनी ३ महिना मलेसिया बसिन् । एक वर्ष यूएईको दुबई सहरमा बिताइन् । कलाकार बिदेसिएपछि पहिचान गुम्ने ठानेर उनी राम्रो आम्दानी छाडेर मुलुक फर्किइन् ।


आफूले १२ कक्षासम्म मात्र अध्ययन गरिन् । त्यसैले भाइ–बहिनी डाक्टर, इन्जिनियर बनून् भन्ने चाहना थियो । उनले चाहेर भएन । भाइ–बहिनीको चाहना बेग्लै थियो । उनीहरूलाई पनि गीत/संगीतले तान्यो । दिदीकै पथ पछ्याए । उनका दुई बहिनी र एक भाइ पनि अहिले उनीसँगै दोहोरीघरमै काम गर्छन् । ‘उनीहरूको रुचि मेरोजस्तै रहेछ,’ हरिमायाले भनिन्, ‘कसरी छुटाउन सक्थे !’ आफूले संघर्ष गरेकाले भाइ–बहिनीलाई सजिलो भएको उनले बताइन् ।


उनका भाइ विशाल विद्यालयमा गीत गाउँथे । त्यो पनि रहरले मात्र । विद्यालयको पढाइ सकेपछि उच्च शिक्षा अध्ययन गर्न बुटवल आए । दिदीसँगै बसेर पढिरहेका उनी कहिलेकाहीँ दोहोरी हेर्न जान्थे । त्यसरी हेर्दै र सुन्दै उनलाई पनि कलाकारिताले तान्यो । दोहोरीमा टुक्का फर्काउने पालो आउँदा उनी कोर्दै बस्थे । दिदीसँग अर्का कलाकारले गाइरहन्थे । उनी दोहोरीमा गाउन पोखरा गए । त्यहाँ दुई वर्ष दोहोरी साँझमा काम गरेपछि यतै फर्किए ।


यहाँ सञ्चालन हुने मेला/महोत्सवमा दोहोरी प्रतियोगितामा भाग लिन थाले । एकपटक दिदीकै जोडी भएर गाउँदा उनी द्वितीय भए । त्यसपछि इच्छा तीव्र भयो । उनी बाग्लुङ, म्याग्दी, गुल्मीमा गाउन गए । जताततै दिदीभाइको जोडी जम्न थाल्यो । ५५ हजारदेखि २ लाख रुपैयाँसम्म पुरस्कार जितेपछि उनीहरूले यसमा भविष्य देख्न थाले ।


१२ कक्षासम्म पढेपछि गायनमै व्यस्त भए । बाबु–आमाको सपना छोरा भर्ती भइदियोस् भन्ने थियो । एक सयभन्दा बढी दोहोरी प्रतियोगितामा भाग लिएका उनले आमा–बुबाको सपना पूरा गरेनन् । तर, दोहोरीमा चम्किए । एल्बम बजारमा ल्याउने, गीत गाइरहने गर्न थाले । ‘नक्कले भिनाजु, नरोई बसे है आमा, ओठ बिगार्‍यो खैनी’ ले जस्ता चर्चित गीत दिदीभाइले गाएका छन् ।


शर्मिला २३ वर्षकी भइन् । गायनमा उनी पनि अब्बल छिन् । दिदी र दाइकै बाटो पछ्याउँदै उनी पनि बुटवल आइन् । पढाइसँगै गायनलाई निरन्तरता दिइन् । प्रत्यक्ष दोहोरीकी ख्यातिप्राप्त कलाकार बनिन् । शान्त स्वभावकी उनले साढे २ वर्षसम्म जुनकीरी दोहोरीमा काम गरिन् । प्रतियोगितामा भाग लिन गइनन् ।


मलेसियास्थित नेपाली दोहोरी घरमा ९ महिना बसेर फर्किइन् । त्यसपछि तीज गीतको एल्बम निकालिन् । दिदी र दाइको संघर्षबारे राम्रो जानकारी छ । उनी पनि यही क्षेत्रमा रमाइरहेको तीन वर्ष पुग्यो । उनको रोजाइ बुबाआमालाई मन परेको थिएन । अहिले उनको प्रगति देखेर अभिभावकलाई खुसी तुल्याएको छ ।


घरकी कान्छी छोरी एलिना हुन् । नाच्ने र रमाउने स्वभाव छ उनको । दुई दिदी र दाइ बुटवल झरेपछि घरमा आमाबुबालाई सघाउँथिन् । हक्की स्वभाव भएकाले अभिभावक एलिनालाई सेनामा भर्ती गराउन चाहन्थे । एसएलसी परीक्षा दिएपछि घरमा पत्तै नदिई काठमाडौं गइन् । अन्य कलाकारलाई मेकअप गर्न थालिन् ।


त्यसपछि २१ वर्षको उमेरसँगै उनले दोहोरी साँझमा काम गर्न थालिन् । बिस्तारै नृत्यमा पोख्त बन्दै गइन् । सुरुमा आमाको सहयोगमा भिडियोमा मोडलिङ गरिन् । त्यसपछि उनले आफ्नै दिदीको गीतमा नृत्य गरिन् । बहिनीले गर्न सक्छे भनेर दिदीलाई विश्वास दिलाइन् । हरिमायाको साथ रह्यो । काठमाडौंमै बसेर उनले कामलाई निरन्तरता दिइन् ।

प्रकाशित : जेष्ठ ३१, २०७६ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?