भूमे नाचका २२ वर्ष

हरि गौतम

रुकुम पश्चिम — मुसीकोट नगरपालिका १ स्थित सहिद मैदान अबको एक महिनासम्म व्यस्त हुनेछ । मैदानका चारैतर्फ दर्शक हुन्छन् भने घेरा पारेर नाच्नेगाउनेको ताँती हुन्छ । आफ्नै वेशभूषामा सजिएका महिलापुरुष सहिद मैदानमा नाच्छन् ।

भूमे पर्वका अवसरमा आइतबार काठमाडौंको टुँडिखेलमा रमाउँदै मगर समुदायका महिला । तस्बिर : केशव थापा/कान्तिपुर

बाजागाजा र गीसहित परम्परागत भेषमा नाचिने नाचले यतिबेला सहिद मैदान रमाइलो बनेको छ । चोली, गादा, लुङ्गी र पछ्यौराका साथमा महिला नाच्छन् भने चौबन्दी चोली, स्टकोट, भांग्रा, पटुका, खादीमा पुरुष नाच्छन् ।

मगर समुदायको ठूलो पर्व भूमे अर्थात् बल पूजाको अवसरमा आइतबारदेखि नाचगान सुरु भएको हो । बर्सेनि यही सहिद मैदानमा नाचगान हुँदै आएको छ । २२ वर्षअघि केही महिलाले सहिद मैदानलाई भूमे नाच्ने थलो बनाएका थिए । मगर बाहुल्य क्षेत्रका बासिन्दाको बसोबास बढेसँगै सहिद मैदानमा भूमे नाच्न थालिएको मगर अगुवा राजकुमार पुनमगरले बताए ।

साबिक रुकुमको सदरमुकाम रहेका ठाउँमा मगर समुदाय बढै गएपछि मात्रै सहिद मैदान भूमे नाच्ने थलोका रूपमा रहेको उनको भनाइ छ । उनका अनुसार २०५४ मा पहिलोपल्ट केही महिलाले खलंगामा भूमे नाच्न सुरु गरेका थिए ।

अहिले खलंगाका विभिन्न ठाउँमा भन्डै २ सय घरधुरी मगर समुदायको बसोबास छ । उनीहरू हरेक वर्ष यसरी नै सहिद मैदानमा भूमे नाच्ने गर्छन् । पुनका अनुसार लेक र बेंसी अर्थात भूमि पुज्ने पर्व बल पूजा अर्थात् भूमे नाच हो ।

वर्षातका समयमा लेकबाट बाढी, पहिरो नझरोस्, बेंसीको बालीनाली खोलाले नबगाओस्, खेतबारीको कटान नहोस्, जनधनको क्षति नहोस् भन्ने जनविश्वाससाथ बल पूजा गरिँदै आइएको हो । त्यसका लागि लेक र गाउँका देउतालाई पुजिन्छ । यस पर्वको मुख्य उद्देश्य पन्थ्यौली र भूमि देउतालाई पुज्नु हो ।

वर्षाको समयभर पन्थ र भूमिले बाढी, पहिरो र भूक्षय रोकोस्, धनजन र बालीनाली क्षति हुनबाट बचोस् भनेर बल पूजा गर्ने गरेको खलंगामै बसोबास गर्दै आएका तेजेन्द्र खाममगरले बताए ।

जेठ १ गते सामान्य विधि गरेर बल पूजा नाचको शुभारम्भ गरिन्छ । त्यसपछि चौतारामा पुगेर हरेक दिन आफ्नै वेशभूषामा भुम्या नाचिन्छ । केटाकेटी, युवायुवती र वृद्धवृद्धा एउटै तालमा एउटै बाजामा नाच्ने गर्छन् ।

यसरी नाच्दा देउता खुसी हुने र अनिष्ट हुनबाट जोगिने जनविश्वास छ । जेठ मसान्तको दिन लेकको देउता अर्थात् पन्थ्यौलीको पूजाआजा गर्न पन्थ (लेक) पुग्ने गरिएको उनी बताउँछन् । त्यहाँ पुगेर पन्थ्यौली देउतालाई धार, धूप, ध्वजा, अक्षताले पुजिन्छ । पूजासँगै भेडाको बलि दिने प्रचलनसमेत छ ।

प्रकाशित : असार २, २०७६ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्

सुमन बनिन् मिस इन्डिया

कान्तिपुर संवाददाता

काठमाडौँ — यस वर्षको फेमिना मिस इन्डियाको ताज राजस्थानकी सुमन रावले जितेकी छन् । मुम्बईको सरदार वल्लभ भाइ पटेल स्टेडियममा आयोजित उक्त ग्रान्ड फिनालेमा रावलाई २०१८ की मिस इन्डिया अनुकृति दासले ताज पहिराएकी थिइन् ।

फिनालेमा बलिउड सेलेब्रिटी हुमा कुरेशी, चित्राङ्गदा सिंह, दिया मिर्जा, रेमो डिसुजा,विक्की कौशल, आयुष शर्मासहित २०१८ की मिस वर्ल्ड भेनेसा पोन्से सहभागी थिए ।

मिस इन्डिया विजेता राव चार्टर्ड एकाउन्टेन्टको तयारी गरिरहेकी छन् । ‘म जीवनमा त्यस्तो काम पनि गर्ने हिम्मत राख्छु, जसबारे अन्य मान्छेले अनिच्छा जाहेर गर्छन्,’ सबैभन्दा बढी प्रभावित आफ्नै आमाबुबासँग हुने बताएकी मिस इन्डिया रावले थपिन्, ‘यो टाइटल मेरा लागि सबैभन्दा ठूलो उपलब्धि हो ।’

यस वर्ष टाइटल जित्न सफल रावले गत वर्ष पनि यसै प्रतियोगितामा प्रतिस्पर्धा गरेकी थिइन्, जसमा उनी फस्ट रनरअप भएकी थिइन् । ३० सुन्दरीको सहभागिता रहेको मिस इन्डिया प्रतियोगितालाई करण जोहर, मनिष पाल र पूर्वमिसवर्ल्ड तथा मिस इन्डिया मानुषी छिल्लरले सञ्चालन गरेका थिए ।

मिस इन्डियाको ताज जितेपछि रावले डिसेम्बर ७ मा थाइल्यान्डमा आयोजना हुने मिस वर्ल्डका लागि भारतको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्ने भएकी छन् । प्रतियोगितामा फस्ट रनरअप उत्तर प्रदेशकी शिनता चौहान बनिन् भने सेकेन्ड रनरअप तेलंगनाकी सन्जना विज बनेकी थिइन् ।

प्रकाशित : असार २, २०७६ ०९:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्