कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

रोपाइँ जात्रामा माया लुकी लुकी...

लीला श्रेष्ठ

भक्तपुर — पञ्चैबाजाको धुन । कलाकारदेखि जनप्रतिनिधि र विदेशी पयर्टकसम्मका हातमा धनको बीउ । दही–चिउराको स्वाद त छँदै छ । असार पन्ध्रको अवसर पारेर कान्तिपुर एफएमले आइतबार भक्तपुरस्थित नलिनचोकमा गरेको ‘रोपाइँ जात्रा’ मा गायिका टीका प्रसाईंले जब ‘माया लुकी लुकी...’ गाइन्, हिलोमै नाच्नेहरू रौनक दोब्बर बन्यो । 

रोपाइँ जात्रामा माया लुकी लुकी...

कान्तिपुर एफएमका स्टेसन म्यानेजर एवं फिल्मकर्मी दिनेश डीसी जात्रामा सहभागीहरूलाई उक्साउँदै थिए । उनलै हिलोमा निम्तो दिएपछि अभिनेत्री रेजिना उप्रेती, चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खडकालगायत अघि बढे । रमाइलो गर्ने मेसोमै थिए, गायिका कुन्ती मोक्तान, देविका बन्दना, शीतल मोक्तानदेखि कलाकार दीपकराज गिरी र दीपाश्री निरौला ।


हिलोमा रमाइरहेकी रेजिना नेपालजस्तो कृषिप्रधान मुलुकका लागि असार पन्ध्र समृद्धिको आधार भएको बताइन् । ‘यो नेपालीहरूको महत्त्वपूर्ण चाड पनि हो,’ चलचित्र कलाकार संघका उपाध्यक्षसमेत रहेकी उनले भनिन्, ‘दही–चिउरा खाने, हिलो खेल्ने मात्र नभई कृषिप्रतिको आकर्षण बढाउने दिन पनि पनि हो यो ।’ किसानको हौसला बढाउन असार पन्ध्रले सहयोग गर्ने उनको मत थियो ।


गायिका कुन्तीले मुलुकलाई आत्मनिर्भर बनाउने, समृद्धिको सन्देश दिने प्रमुख थलो नै रोपाइँ रहेको बताइन् । कृषकहरूको सम्मानमा ‘अरू दिवसहरूको कटौटी गरेर भए पनि असार पन्ध्रलाई राज्यले धुमधाम रूपमा मनाउनुपर्छ’ तर्क पनि उनले राखिन् । ‘जसले अन्नपानी खुवाउँछ, आज उनीहरूलाई प्रोत्साहन गर्न सकेका छैनौं,’ उनले भनिन् । राष्ट्रिय धान दिवसको अवसरसमेत पारिएको जात्रा आरजे, गायक गायिका र कलाकारबीच हिलोमै डोरी तानातान खेलसमेत गरिएको थियो । उनीहरूले हिलोमा बेलुन खोज्ने, हिलो छ्याछ्याप गर्नेलगायतका खेल पनि खेले ।


भिराडिलमा असारे गीत

काठमाडौं (कास)– व्यस्त कलंकीबाट अलि पर पर्छ तीन थाना । यही छेउ छ भीरजस्तो गल्छेडो र अग्लो झोलुंगे पुल । नामै भिराडिल पाएको यही थलोमा शनिबार असारे भाका घन्कियो । चन्द्रागिरी साहित्य सरोवरको १० औं शृंखलामा कवि स्नेह सायमीको एकल कवितावाचन भइरहँदा स्थानीय प्रतिभाहरूले असारे भाका गाए । मथुरा राउत, सानी लामा, शोभा लामा, मथुरा कार्कीलगायतले हालेको भाकासँगै सायमीले १४ सिर्जना सुनाए ।


पुलमुनिकै भिराडिल साकुरा पार्कमा आयोजित ‘स्नेह काव्य सरोवर’ मा उनले राजनीतिक सामाजिक विसंगतिदेखि समकालीन समय चेत झल्किने कविताहरू सुनाए । साथमा नरनाथ लुइँटेल, बालचन्द्र मिश्रलगायतले असारे भाका गाए, शंकर आचार्यले हास्यव्यंग्य पस्के । दही–चिउरा खान सहरबाट रंगकर्मी केदार श्रेष्ठ, श्र्रष्टाहरू लक्ष्मी माली, राजेन्द्र शलभलगायत पनि पुगेका थिए ।


दही–चिउरासँगै गजल

काठमाडौं (कास)– असार महिनासित लोक साहित्यसित पनि साइनो छ । काँठका किसानहरू असारे भाका गाउँदै रोपाइँमा व्यस्त भइरहेको बेला सहरका श्रष्टाहरूले भने आइतबार गजल सुनाउँदै दही–चिउरा खाए । नेपाल मुक्तक प्रतिष्ठानले नियमित मुक्तकवाचनको १७ औं शृंखलालाई असार १५ को सन्दर्भ पारेको हो ।


अनामनगरस्थित मिडिया इन्टरनेसनलमा सम्पन्न कार्यक्रममा श्रष्टाहरू जैनेन्द्र जीवन, रामकाजी कोने, चित्रकार किरण मानन्धर, राधेश्याम लेकाली, वियोगी बुढाथोकीलगायतले ‘असार १५’ को महत्त्व र लोकसाहित्यको महत्त्व प्रकाश पारे । ‘एक प्रकारले असार १५ लोक उत्सव हो,’ प्रतिष्ठानका अध्यक्ष कोनेले भने, ‘गजल साहित्य मार्फत यसलाई प्रवर्द्धन गर्न खोजेका हौं ।’ दही–चिउरा खाँदै गजल सुनाउनेहरूमा रमेश पौडेल, उदास कार्की, एलिसा एकलास, किरण दर्पण, भगवती बस्नेत, पारू स्मृति, प्रकाश बस्नेत गफाडी, प्रकाश घायललगायत थिए ।

प्रकाशित : असार १६, २०७६ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?